शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको कार्यकक्षमा विद्यार्थी संगठनले लगायो ताला

शुक्रबार, ०६ माघ २०७९, १९ : ४८
शुक्रबार, ०६ माघ २०७९

काठमाडौं । चिकित्सा शिक्षा आयोगमा ताला लगाइएको छ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले ताला लगाएको हो ।

विभिन्न माग अघि सारेर एक हप्ताको अल्टिमेटम दिएको क्रान्तिकारीले माग पुरा नभएपछि आयोगका उपाध्यक्षको कार्यकक्षमा ताला लगाएको हो  ।

चिकित्सा शिक्षा महँगो भएकोले आम जनताको पहुँचभन्दा टाढा भएको क्रान्तिकारीको भनाई छ । पछिल्लो समय चिकित्सा शिक्षाको नाममा भइरहेको पुजी र प्रतिभा पलायन र नेपालको चिकित्सा शिक्षामा विद्यार्थीको घट्दो क्रमले गम्भीर बनाइरहेको क्रान्तिकारीको भनाई छ । 

क्रान्तिकारीले आयोगबाट लिइने एकीकृत प्रवेश परिक्षाको प्रक्रिया अत्यन्तै लामो भएकोले विद्यार्थीको एउटा शैक्षिक वर्ष खेर गइरहेको विषयमा गम्भीर बनेर समाधान गर्नुपर्ने क्रान्तिकारीको माग छ । 

त्यस्तै चिकित्सा शिक्षाका नाममा भइरहेको पुजी र प्रतिभा पलायन रोक्न तत्काल आवश्यक पहल गर्नुपर्ने, सरकारी लगानीमा चिकित्सा अध्ययन संस्था खोल्न पहल गरी धेरै भन्दा धेरै विद्यार्थीले पढ्न पाउने वातावरण निर्माण गरिनुपर्ने उनीहरूको माग छ । 

आयोगको परीक्षा निर्देशनालयले अनलाइन फर्म भर्न आवश्यक कुराहरू भनी जारी गरेको सूचनामा तुलनात्मक रूपमा विदेशी विद्यार्थीलाई सहज र नेपाली विद्यार्थीलाई कडाइ गरी विभेद गरिएको छ तत्काल उक्त कदम सच्याइनुपर्ने माग अघि सारिएको छ । त्यस्तै गेटा मेडिकल कलेज तत्काल सञ्चालन गर्न पहल गर्नुपर्ने उनीहरूको माग छ ।

पुस २५ मा एक हप्ताको अल्टिमेटम दिएर ज्ञापनपत्र बुझाइएको थियो । उक्त समयमा आफ्नो माग सुनुवाइ नगरेको भन्दै तालाबन्दी गरिएको क्रान्तिकारीका अध्यक्ष मिलन राईले बताए । 

आयोगसँग जोडिएका विभिन्न समस्याहरू समाधानका लागि राखिएका मागहरू सम्बोधन गर्नुको सट्टा वेवस्ता गरिएको भन्दै आयोगका उपाध्यक्षको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएको हो । 

विद्यार्थी आन्दोलनका जायज मागहरू सम्बोधन गर्नुको साटो अझै वेवास्ता गरिए थप कडा संघर्षमा उत्रिने चेतावनी क्रान्तिकारीले दिएको छ ।

a

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप