बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरको संशोधन बजेट पारित

शुक्रबार, ०६ माघ २०७९, २२ : ५४
शुक्रबार, ०६ माघ २०७९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगरसभाको १२ औँ अधिवेशन रु दुई अर्ब ७२ करोड ६९ लाख ६३ हजार बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव पारित गर्दै सकिएको छ । कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा आज बसेको बैठक संशोधन बजेट पारित गर्दै सकिएको हो ।

कामपाको उपप्रमुख सुनिता डङ्गोलले अधिवेशनको पहिलो बैठकमा संशोधन बजेट प्रस्ताव पेश गरेकी थिइन् । गत ११ औँ नगरसभाबाट चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रममध्ये रु चार अर्ब ३६ करोड ७१ लख सात हजार बजेटका कार्यक्रमलाई संशोधनका लागि प्रस्ताव गरिएको थियो । 

प्रस्ताव गरिएका संशोधन बजेटमध्ये छलफलबाट करिब तीन अर्ब मात्र पारित भएको हो । आजको बैठकमा विभिन्न छ कार्य सूची रहेको थियो । आज भएको दोस्रो बैठकबाट सभाबाट आर्थिक ऐन २०७९, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७, बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७, कर्मचारी सेवा ऐन २०७७ संशोधन गर्न बनेका विधेयक पारित भएको छ । त्यसैगरी सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक २०७९ पनि पारित भएको छ । सभाले जनप्रतिनिधिको सुविधा सम्बन्धी विधेयक २०७९ पारित गरेको छ । 

यससँगै कृषि तथा पशुपंक्षी विभाग गठन भएको छ । यसअघि जनस्वास्थ्य विभागमा रहेको खाद्य गुणस्तर तथा पशुपंक्षी महाशाखा तथा अन्तर्गतका शाखा र वातावरण व्यवस्थापन विभागसँग रहेको कृषि महाशाखालाई जोडेर विभाग गठन गरिएको हो । कानुन तथा मानवअधिकार विभाग मातहतमा रहेको मिसिल शाखालाई सहरी व्यवस्थापन विभागअन्तर्गत लगिएको छ । यससम्बन्धी प्रस्ताव नगरसभाअन्तर्गत सुशासन समितिका संयोजक सिर्जना भेटवालले प्रस्तुत गरेका थिए ।

कामपाको सङ्गठन र दरबन्दी संरचना पुनरावलोकनका लागि प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा रहेको समितिलाई जिम्मेवारी दिइएको छ । यससम्बन्धी अध्ययनलाई कार्य पालिकामा लगिनेछ । निर्देशित जग्गा विकास कार्यक्रम, यसको मापदण्ड र मापदण्ड कार्यान्वयनका विषयबारे नगरसभा सदस्यले चर्चा गरेका थिए ।

त्यस क्रममा वडाध्यक्ष रामकुमार केसी, चिनीकाजी महर्जन, योगेश खड्गी लगायतले वडा नं। ३१ म निर्देशित जग्गा विकास कार्यक्रमअन्तर्गत सडकमा परेको भवन संरचनामाथि गरिएको कारबाहीका विषयमा कामपा प्रमुखसँग कारण माग गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप