शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
राजनीति

राष्ट्रियसभा सदस्यको उपनिर्वाचन : को बस्ला खिमलालले छाडेको कुर्सीमा ?

सोमबार, ०९ माघ २०७९, २३ : ०१
सोमबार, ०९ माघ २०७९

बुटवल । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति नजिकिएसँगै लुम्बिनीमा उम्मेदवारबारे चर्चा सुरु भएको छ ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले मंसिरको निर्वाचनअघि राजीनामा दिएपछि रिक्त रहेको एक सिटमा माघ २५ गते उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनका लागि माघ ११ गते मनोनयपत्र दर्ता गर्ने कार्यतालिका प्रदेश निर्वाचन कार्यालय सार्वजनिक गरेको छ । त्यसका लागि ठुला दल एमाले र नेपाली काँग्रेस आन्तरिक तयारीमा लागेका छन् । एमालेले रोल्पा निवासी पार्टीका केन्द्रीय सदस्य कुमार दशौंदीलाई राष्ट्रियसभा उम्मेदवार बनाउने तयारी थालेको छ ।

एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले  दशौंदीको नामबारे चर्चा भएपनि पार्टीले औपचारिक रुपमा प्रदेशमा पत्र पठाइनसकेको बताए ।

‘औपचारिक पत्र नआएपनि दशौंदी उम्मेदवार बन्ने कुरा चर्चामा छ’, कँडेलको भनाइ छ ।

अहिलेसम्मको अवस्था हेर्दा यो उपनिर्वाचनमा सत्तारुढ दल एमाले र विपक्षी दल काँग्रेसबाट उम्मेदवार उठाउने तयारी देखिन्छ । काँग्रेसले ३ जनाको नाम उम्मेदवारका लागि केन्द्रमा सिफारिस गरिसकेको छ ।

काँग्रेस लुम्बिनी प्रदेशको कोषाध्यक्ष प्रकाश रानाले सबै जिल्लाबाट सिफारिस मागिएको र सोही आधारमा तीन जनाको नाम केन्द्रमा सिफारिस गरेको रातोपाटीलाई बताए ।

‘दाङका वीरकेसरी गौतम, बर्दियाका अरुणप्रकाश राठौर र रोल्पाका माधवप्रसाद आचार्यको नाम सिफारिस भएको छ, राठौर वर्तमान जिल्ला सभापति हुन भने गौतम र आचार्य पुर्व जिल्ला सभापति हुन्’, रानाको भनाइ छ ।  

सिफारिस भएकामध्येबाट एक जना उम्मेदवार बन्ने भन्दै उनले मंगलबार साँझ सम्म टुंगो लाग्ने बताए ।

माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले सत्ता गठबन्धनसँग माओवादी केन्द्रले पनि उम्मेदवारीका लागि दाबी गरेको बताए । उनले लुम्बिनी प्रदेशका तीन सिटमा विगतमा पनि राष्ट्रिय सभामा माओवादीले नपाएकाले अहिले दाबी गर्नु स्वभाविक रहेको बताए । बरालले दाबी रहनु स्वभाविक भएपनि नपाएपनि केन्द्रको नर्देशन अनुसार  सात्ता पक्षका उम्मेदारलाई सहयोग गर्ने बताए । 

उपनिर्वाचनका लागि निार्वचन आयोगले घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।सार्वजनिक कार्यतालिका अनुसार माघ ११ गते उम्मेदवारको मनोनयपत्र दर्ता गर्ने समय तोकिएको छ ।

प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार निर्वाचन कार्यतालिका अनुसार माघ १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, १३ र १४ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ, तथा माघ १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको छ । राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरूले मतदान गर्ने पाउने व्यवस्था छ । माघ २५ मा निर्वाचित हुने सदस्यको कार्यकाल करिब १ वर्षमात्रै कार्यकाल हुनेछ ।

सत्ता र प्रतिपक्ष दुवै गठबन्धनको तयारीमा

उपनिर्वाचनमा सत्ता पक्ष र प्रतिपक्ष गठबन्धन बनाउने तयारीमा छन् । एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधकृष्ण कँडेल हाल प्रदेशमा सरकारमा रहेका दलहरु राष्ट्रिय सभा निर्वाचनमा पनि एक ठाउँ उभिने बताउँछन् ।

उनले मंगलबारसम्म केन्द्रबाट टिकट आउने र त्यसपछि  प्रदेशमा तहमा पनि सत्ता गठबन्धन दलहरुसँग छलफल गर्ने तयारी भइरहेको बताए ।

‘सत्ता साझेदार दलहरुबीच सहकार्य हुन्छ, केन्द्रबाट पनि कुरा हुन्छ, यहाँ पनि उम्मेदारीपछि थप छलफल चलाउँछौ’,कँडेलको भनाइ छ ।

नेपाली काँग्रेसले पनि सत्ता साझेदार दलहरुको समेत मत तान्नेगरी बाहिर रहेका दलसँग उपचुनावबारे छलफल गरिरहेको छ । सत्ता गठबन्धनको समेत मत तान्ने ढंगले छलफल भइरहेको काँग्रेस लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रकाश रानाको भनाइ छ ।

प्रदेशका १ सय ९ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ भने एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २÷२ तथा राप्रपा र जनता प्रगतिशीलले १,१ स्थानमा जितेका छन् । त्यसैगरी ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७,माओवादीले १०,राप्रपा,नागरिक उन्मुक्तिले४÷४, जसपा,लोसपा,जनमतले ३/३,जनमोर्चा र नेकपा एसले १÷१,स्वतन्त्रबाट २ जनाले जितेका छन् । स्थानीय तह प्रमुख र प्रदेश सभा सदस्यको मतभार फरक फरक निर्धारण छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप