शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘सुदूरको पानी, खानी र जवानीलाई बाहिर ल्याउन जरुरी छ’

मुख्यमन्त्री भन्छन्–रेशम चौधरीको रिहाइको लागि सकारात्मक छु’
सोमबार, ०९ माघ २०७९, १६ : ३६
सोमबार, ०९ माघ २०७९

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरको पीडा राष्ट्रियस्तरमा जोडिन नसकेको गुनासो पोखेका छन् ।

सोमबार काठमाडौंमा भएको साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री रावलले आफ्नो राजनीति पद र प्रतिष्ठा प्राप्तिको लागि नभएकाले पाँच वर्षे कार्यकालमा अतितलाई सम्मान गर्दै वर्तमानलाई क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गरे ।

‘राजनीतिको सारथिका रूपमा मलाई आम जनताले निर्वाचित गराएका छन् । यो निर्वाचन मेरो व्यक्तिगत कुनै इच्छा र आकांक्षाका लागि पद र प्रतिष्ठाका लागि होइन । मूलतः यो ती ग्रामीण क्षेत्रका नागरिकको समस्या र पीडा र राष्ट्र र राष्ट्रियता र समावेशिताको मुद्दासँग जोडिएको छ’, मुख्यमन्त्री रावलको भनाइ छ ।  

सुदूरपश्चिमलाई छाउपडी र देउकी प्रथा भएको ठाउँको रूपमा मात्रै चिनिएको भन्दै काठमाडौंमा कुमारी प्रथाको देवत्वकरण भएजसरी सुदूरका सामाजिक सांस्कृतिक परम्परालाई उजागर गर्नुपर्ने उनको भनाइ छ ।

सुदूरपश्चिमलाई सुदूर नभएर सुगम बनाउन हातेमालोका लागि उनले आग्रह समेत गरे । ‘अब सुदूर होइन, सुगम कसरी बनाउन सकिन्छ ? यो क्षेत्रका पीडा उजागर गरेर समाधान कसरी गर्न सकिन्छ, अब यसमा हातेमालो गरौं  । देउडा कल्चरको मान्छे हुँ म, सखिया नृत्य नाच्ने क्षेत्रको मान्छे हुँ म । होली नाच नाच्ने क्षेत्रको मान्छे हुँ । यो कल्चरल फ्युजनलाई लिएर हामी कसरी अघि बढ्न सक्छौं ? यहाँहरुसँग हातेमालो गर्न चाहान्छौं,’ उनको भनाइ छ ।

साथै, उनले आफूले सुदूरले खोजेको समृद्धि जनताका आधारभूत समस्या शिक्षा, स्वास्थ्य, रोजगारीको सिर्जनालगायतलाई जोड दिने बताए । ‘सुदूरको समृद्धिका लागि पढाइ, कमाइ र दवाइको अभियान, सुदूरको पानी, खानी र जवानीलाई बाहिर ल्याउन जरुरी छ’, उनको भनाइ छ ।

फरक प्रशंगमा उनले कैदी जीवन बिताइरहेको रेशम चौधरीको रिहाइको लागि आफू सकारात्मक रहेको बताए ।

‘मानवीय संवेदना समुदायबीचको द्धन्द्धलाई अन्त्य गर्न छ, सामाजिक एकत्व खोज्नु जरुरी छ । सकारात्मक सोचले अगाडि बढ्न जरुरी छ । रेशमजी मेरो समाजको कम्पोनेन्ट हो,त्यत्ति बुझ्न जरुरी छ,’ उनको भनाइ छ ।

 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप