शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बिहे गरेर भारत पुगेकी नेपाली चेली बेपत्ता, पीडित परिवार पुग्दा घरमा कोही भेटिएन

मङ्गलबार, १० माघ २०७९, १२ : ११
मङ्गलबार, १० माघ २०७९

रौतहट । बिहे गरेर भारत पुगेकी नेपाली चेली बेपत्ता भएकी छन् । रौतहटको कटहरिया नगरपालिका माइती भएकी २३ वर्षीया रिंकु कुमारी सोनी बेपत्ता भएकी हुन् । 

भारत बिहार पताही थानाक्षेत्र अन्तर्गत पदुमकेर गाउँमा बिहे गरेर पुगेकी उनी गत शनिबारदेखि बेपत्ता भएकी हुन् । 

उनका श्रीमान ३५ वर्षीयप्रदीप साह सोनारसहित परिवारका अन्य सदस्यसमेत सम्पर्कविहीन भएका छन् ।  माइती पक्षले छोरीको हत्या भएको हुन सक्ने आशंका गर्दै सोही कारण ज्वाइँसहितको परिवार सम्पर्कविहीन बनेको आरोप लगाएका छन् । 

ज्वाइँ प्रदीप साहले छोरीमार्फत आफूसँग २ लाख रुपैयाँ मागेको र  सो दिन नसक्दा छोरी बेपत्ता हुन पुगेको रिंकुकी आमा सोमारी देवीले बताइन् । 

रिंकुका भाइ संजिव सोनीका अनुसार आइतबार साँझ ज्वाइँ प्रदीप साहले फोन गरेर रिंकु सोनीले घरमै पासो लगाएर आत्महत्या गरेको बताएका थिए ।  त्यसपछि आफूहरु भारत जाने तयारी गर्दैगर्दा फेरि फोन गरेर दाहसंस्कार गरिसककेको बताएर फोन काटेको उनको भनाइ छ । 

आइतार राति ११ बजे माइती पक्ष छोरीको घर पुग्दा सोनारको घरको मुलढोकामा ताला लागेको थियो । भोलिपल्ट गाउँमा सोधीखोजी गर्दा कसैले पनि भरपर्दो जवाफ नदिएको र  फोन गर्दा फोन बन्द रहेको पीडित  पक्षको भनाइ छ ।  लगत्तै पतांही थानामा गएर भारतीय प्रहरी लाई घटनाबारे बताउँदा कुनै वास्ता नगरेको संजिवको भनाइ छ । 

लामो समयदेखि रौतहटस्थित राजपुर चोकमा प्रदीपका बुवा ललन साहले सुनचाँदीको व्यवसाय गर्दै आएका थिए । यता साहले पसलका सबै सामान लगेको खुलेको छ । 

 इलाका प्रहरी कार्यालय राजपुरमा उजुरी दिँदा सई अरुण सिंह नेतृत्वको टोलीले पसलमा खानतलासी गर्दा  सामानहरु सबै लिएर गइसकेको खुलेको हो ।  पहिलै देखि फरार रहेकाले घटना सुनियोजित भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । 

 करिब ३० बर्ष अघिदेखि राजपुर चौकमा सुनचाँदी व्यवसाय गर्दै आएका ललन साहको छोरा प्रदीपले रिंकुसँग तीनबर्ष अघि हिन्दु परम्परा अनुसार बिहे गरेका थिए । 
गत बर्ष पहिलो सन्तानको रूपमा अस्पतालमा छोरीको जन्म भएलगत्तै शिशुको मृत्यु भएको थियो । 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी वीर बहादुर बुढामगरले घटनाको पुष्टि गर्दै सत्यतथ्य छानबिनको लागि भारतीय समकक्षीसँग कुरा भैरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप