बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

राप्रपाका मन्त्रीलाई प्रधानमन्त्री प्रचण्डले प्रस्टीकरण सोध्ने

मङ्गलबार, १० माघ २०७९, १६ : ४३
मङ्गलबार, १० माघ २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता विरोधी अभिव्यक्ति दिने कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवहादुर प्रधानलाई स्पष्टीकरण सोध्ने भएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा मन्त्री प्रधानको अभिव्यक्तिमाथि प्रश्न उठेपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद्का सदस्यले संघीयता र गणतन्त्र विरोधी अभिव्यक्ति दिन नपाउने बताएका हुन् ।

कांग्रेस संसदीय दलकी प्रमुख सचेतक अनिता देवकोटाले संघीयताबारे सरकारको धारणा मागेकी थिइन् । ‘कानुनमन्त्रीले एक टेलिभिजन अन्तरवार्तामा संघीयता खारेजी गर्नुपर्छ भन्नु भयो । संघीयताप्रति सरकारको धारणा के हो ? संघीयता कार्यान्वयन  हुन्छ भन्नेमा हामी कति विश्वस्त हुने हो ? म सरकारको धारणा माग्न चाहन्छु,’ उनको प्रश्न थियो ।

एकीकृत समाजवादीकी सांसद जयन्ती राई र कांग्रेस सांसद युवराज शर्माले संघीयताबारे सरकारको धारणा मागेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले भने ‘मैले त यो कुरा प्रत्यक्ष हेरेको पनि होइन। मेरै क्याबिनेटको एकजना मन्त्रीले संघीयता खारेज गर्नुपर्छ भनेर यहाँ सुनाउनुभयो। मेरो गम्भीर ध्यानाकर्षण भएको छ । संघीयता खारेज गर्नुपर्‍यो भन्ने कुरा मन्त्रीले उठायो र सांसदले उठाउनु भयो यो स्पष्टीकरणको विषय हुन्छ ।’

मन्त्रिपरिषद्भित्र रहेर संघीयता र लोकतन्त्र गणतन्त्रविरुद्ध अभिव्यक्ति दिन नमिल्ने  उनको भनाइ छ । ‘सांसदहरू वा बाहिर रहेकाहरूलाई आफ्ना धारणा राख्न पाइन्छ तर मन्त्रिपरिषद्भित्र रहेर त्यो गर्न पाइँदैन ।  मन्त्रिमण्डलभित्र बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रका विरुद्ध बोल्ने र प्रचार गर्ने अधिकार नैतिक र कानुनी रूपले हुन सक्दैन,’ प्रधानमन्त्री प्रचण्डले भने ।

के भनेका थिए मन्त्री प्रधानले ?

कानुनमन्त्री ध्रुवबहादुर प्रधानले केही दिनअघि एक टेलिभिजन कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेण्डा नै संघीयता खारेजी रहेको भन्दै त्यही अनुसार अगाडि बढ्ने बताएका थिए ।

‘हामीले सकेसम्म हामीले गणतन्त्र, संघीयता  र धर्मपनिरपेक्षा खारेजी गर्ने हो । यो नेपालका लागि उपयोगी छैन भन्ने कुरामा हामी प्रस्ट छौं,’ उनले भनेको थिए, ‘अहिले नै यो सबै हुने अवस्था छैन । तर हामी लागि राख्छौं । यिनीहरू खारेजीका लागि राख भनेर अभिमत दिनु भएको छ ।’

कानुनमन्त्री प्रधानले अगाडि भने ‘सरकारमा जाँदैमा संघीयता खारेजीको माग छाडेको होइन । हामी सरकारमै बसेर त्यो मुद्दालाई बलियो ढंगले उठाउँछु । संघीयता ठिक छैन भनेर अन्य दललाई पनि कनभेन्स गर्छौँ ।’

यस्तै उपप्रधान तथा उर्जामन्त्री समेत रहेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पनि व्यवस्था विरोधी अभिव्यक्ति दिएका छन् । सोमबार झापामा लिङदेनले  सरकारमा गएर गणतन्त्र, संघीयता र धर्मनिरपेक्षाविरुद्ध अभिव्यक्ति दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप