आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गुणस्तरीय निर्माणका लागि आयोजना प्रमुखलाई नै जिम्मेवार बनाउनुपर्छ : उपप्रधानमन्त्री लिङ्देन

बुधबार, ११ माघ २०७९, १६ : २२
बुधबार, ११ माघ २०७९

काठमाडौं । उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले गुणस्तरीय निर्माणका लागि आयोजना प्रमुखलाई नै आयोजनाप्रति जिम्मेवार बनाउनु पर्ने धारणा व्यक्त गरेका छन् । 

निर्माण उद्योगको पछिल्लो समस्या र समाधानका उपायबारे जानकारी गराउन पुगेको नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधानमन्त्री लिङ्देनले उक्त धारणा व्यक्त गरेका हुन् । 

सबै निर्माण व्यवसायीले काम पाउनु पर्छ भन्ने मान्यता राख्दै उपप्रधानमन्त्री लिङ्देनले क्रसर उद्योग बन्द भएका कारण निर्माण उद्योगमा देखिएको समस्या चाँडै समाधान हुने जानकारी गराए । 

महासंघका अध्यक्ष रवि सिंहले क्रसर उद्योग संचालनमा देखिएको समस्याले निर्माण कार्य ठप्प रहेको बताए । निरन्तरको मूल्यवृद्धिका कारण थलिएको निर्माण उद्योगलाई चलायमान बनाउन सार्वजनिक खरिद ऐन तथा नियमावलीमा व्यवस्था भए बमोजिम बीस प्रतिशत मोबिलाइजेशन पेस्की व्यवसायीले पाउनु पर्ने अध्यक्ष सिंहले बताए । 

 व्यवसायीहरूको ठूलो रकम भुक्तानी नहुँदा सप्लाई चेनमै गम्भीर समस्या देखिएकोप्रति अध्यक्ष सिंहले उपप्रधानमन्त्री लिङ्देनको ध्यानाकर्षण बताए । 

महासंघ प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री लिङ्देनको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको छ । महासंघ प्रतिनिधिमण्डलमा महासंघ अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.), महासचिव रोशन दाहाल, महासंघ कार्य समिति सदस्यहरू दानबहादुर खड्का, उज्जवल गौतम, यज्ञबहादुर खत्री, सुशील कुमार श्रेष्ठ र कार्यालय प्रमुख प्रेमसिंह ऐर रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप