शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

राष्ट्रियसभा उपनिर्वाचन नागरिक उन्मुक्ति बिना सत्ता गठबन्धन बलियो

बुधबार, ११ माघ २०७९, १७ : १०
बुधबार, ११ माघ २०७९

दाङ । लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदमा हुन लागेको उपनिर्वाचनका लागि दलहरुले बुधबार मनोनयन दर्ता गराएका छन् ।  लुम्बिनी प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने क्रम सम्पन्न भएको हो । 

जसअनुसार राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी परेको छ । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी सत्ता साझेदार दल भएपनि विद्रोह गर्दै आफ्नै उम्मेदवार खडा गरेको हो । 

उपनिर्वाचनमा नेपाली कांग्रेसकातर्फबाट रोल्पाका माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन् । रोल्पा नगरपालिका–४ निवासी उनी नेपाली काँग्रेसका जिल्ला पूर्वपार्टी सभापति पनि हुन् । 

उनको प्रस्तावकमा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी र समर्थकमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी रहेका छन् । २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीति यात्रा थालनी गरेका आचार्य २०६४ सालमा समेत प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थिए । 

यसैगरी एमालेबाट रोल्पा रुन्टीगढी–५का कुमार दसौतीले मनोनयन दर्ता गरेका छन् । नागरिक उन्मुक्ति पार्टीबाहेकका सत्ता साझेदार दलको तर्फबाट उनले मनोनयन दर्ता गरेका हुन् । दशौदीको प्रस्तावकमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्य मिना कुमारी श्रेष्ठ रहेकी छन् ।  नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका दसौदी २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थिए ।  उनी २०५१, ०५६, ०७० सालको निर्वाचनमा समेत उम्मेदवार बनेको थिए । 

नागरिक उन्मुक्तिबाट भने स्थायी घर सल्यान भई हाल बाँकेमा बसोबास गर्दै आइरहेका राजेन्द्रवीर रायलाई उम्मेदवार बनाइएको छ । रायको प्रस्तावकमा बर्दिया २(१) बाट निर्वाचित सांसद राजकुमार चौधरी छन् भने समर्थकमा बर्दिया २(२) वाट निर्वाचित प्रदेशसभा सदस्य धर्मबहादुर चौधरी रहेका छन् । 

नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदमा माघ २५ गते उपनिर्वाचन हुन लागेको हो । राष्ट्रियसभा सदस्य निर्वाचनमा स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रदेशसभा सदस्य गरी ३ सय ५ जना जनप्रतिनिधिहरुले मतदान गर्नेछन् ।

 जसमा २ सय १८ स्थानीय तहका प्रमुख/उपप्रमुख र ७ प्रदेशसभा सदस्यहरु रहनेछन् । स्थानीय तहतर्फ नेपाली काँग्रेसले ४, नेकपा एमालेले २७, नेकपा माओवादी केन्द्रले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २/२ र राप्रपा र जनता प्रगतिशीलले १/१ स्थानमा जित हात पारेका छन् । 

त्यस्तै प्रदेशसभा सदस्यतर्फ नेकपा एमालेले २९, नेपाली काँग्रेसले २७ , नेकपा माओवादी केन्द्रले १०, नागरिक उन्मुक्ति र राप्रपाले ४/४ लोसपा तथा जसपा र जनमत पार्टीले ३/३ सिट जितेका छन् । लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्तिले आफै उम्मेदवार खडा गरेपनि सत्ता गठबन्धन बलियो देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप