मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौं महानगरले तीन महिनामा हटायो नौ हजार होर्डिङ बोर्ड

बिहीबार, १२ माघ २०७९, १५ : ५४
बिहीबार, १२ माघ २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन महिनामा नौ हजार होर्डिङ बोर्ड (परिचय पार्टी) हटाएको छ । नियम विपरीत राखिएका र समयमै शुल्क नबुझाइएका होर्डिङ बोर्ड हटाइएको हो । महानगरलाई सुन्दर बनाइराख्ने लक्ष्यका साथ महानगरले बोर्ड हटाउन दैनिक नगर प्रहरीसहित चार टोली खटाएको छ । 

विशेषगरी नयाँ बानेश्वर,  कोटेश्वर, पुतलीसडक, बागबजार र महाराजगञ्ज क्षेत्रका अनधिकृत बोर्ड हटाइएको महानगरका राजस्व विभाग प्रमुख डा शिवराज अधिकारी जानकारी दिए । उनका अनुसार गएको असोज ७ मा मापदण्ड बमोजिम राख्न मिल्ने र त्यसमा लाग्ने शुल्कसमेत उल्लेख गरेको र सोही अनुरूप नभएका बोर्डलाई ३० दिने सार्वजनिक सूचना जारी गरी सम्बन्धित संस्थालाई नै हटाउन आग्रह गरिएको थियो ।

महानगरले आर्थिक ऐन-२०७९ बमोजिम छ वर्ग फुटसम्मको वार्षिक रु पाँच सय शुल्क निर्धारण गरेको छ । त्यसैगरी १५ वर्ग फुटसम्मका लागि रु एक हजार पाँच सय र १५ वर्ग फुटदेखि ३० वर्ग फुटसम्मका बोर्डको प्रति वर्गफुट रु एक हजार शुल्क निर्धारण गरेको छ । 

महानगरले सम्पत्ति कर, घरबहाल घर, व्यवसाय कर, विज्ञापन कर, मनोरञ्जन कर, भूमिकर, मूल्य अभिवृद्धि कर र सवारी साधन करसहित ३६ शीर्षकमा राजस्व असुल गर्दै आएको छ । विभिन्न स्थानमा राखिएका बोर्डबाट असुल उपर हुने रकम व्यवसाय कर अन्तर्गत पर्दछ । 

चालु आर्थिक वर्षमा महानगरले व्यवसाय करको शीर्षकमा रु ५५ करोड लक्ष्य लिएकोमा पुस सम्म रु ३१ करोड ४२ लाख असुल उपर गरेको डा अधिकारीको भनाइ छ । 

लामो समयदेखि असुल हुन समस्या भइरहेको मनोरञ्जन कर पनि पछिल्लो समय सहज रूपमा उठिरहेको विभागको भनाइ छ । महानगरले पछिल्लो समय पटक-पटक ताकेता गरेपछि लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम पनि असुल हुन थालेको बताएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप