शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बच्चा हुर्काउँदा बुवाले गर्छन् यस्ता पाँच गल्ती

आइतबार, १५ माघ २०७९, २२ : ४१
आइतबार, १५ माघ २०७९

तपाईंलाई कसले धेरै माया गर्छ भनेर एकछिन आनन्दले बसेर सोच्नुहोस् त, सबैभन्दा पहिला आमाको नाम आउनेछ । जबकी बुवाको पनि सन्तानप्रति उस्तै लगाव हुन्छ । तर हाम्रो समाजमा केटा र केटीलाई फरक तरिकाले हुर्काइन्छ । केटीहरूलाई नरम हुन सिकाइन्छ र केटाहरूको व्यवहार कठोर मानिन्छ । सायद यही कारणले गर्दा हामी आफ्नो मनको सबै कुरा आमालाई सुनाउँछौं र बुवासँग कुरा गर्न हिचकिचाउँछौं । जब मानिस आमाबुवा बन्छन्, आफ्नो बाल्यकालको पालनपोषणको छायाँ छोराछोरीमा पर्छ । बच्चाको सही लालनपालनका लागि पिताको मुख्य भूमिका हुन्छ । यस्तोमा यदि बुवाको व्यवहार वा बानी बच्चाप्रति सही हुँदैन भने बच्चाको विकासमा बाधा पैदा हुनसक्छ । आज हामी तपाईंलाई बच्चाको लालनपालनसँग जोडिएका यस्ता पाँच गल्तीबारे जानकारी दिँदैछौँ जुन अञ्जानमा गर्ने गरिन्छ ।

१. बच्चा प्रति अत्यधिक कठोर व्यवहार

यदि तपाईं बुबा हुनुहुन्छ भने, बच्चाप्रति आफ्नो व्यवहार हेर्नुहोस् । यदि तपाईं बच्चाप्रति धेरै कठोर हुनुहुन्छ, वा यदि तपाईं बच्चासँग धेरै रिसाउनुहुन्छ भने, बच्चाको तपाईंसँग लगाव हुनेछैन । बढी कठोर व्यवहार गर्दा, बच्चाहरू आफ्ना कुराहरू साझा गर्न डराउँछन् र तपाईंसँग समय बिताउन पनि हिच्किचाउँछन् । यदि बच्चाले गल्ती गर्छ भने उसलाई बुझाउनुहोस्, तर स्वभाव नम्र राख्नुहोस् ।

२. बच्चालाई बुवाले समय दिँदैनन्

पुरुषहरूमा घरको आर्थिक जिम्मेवारीको बोझ हुन्छ । यस्तो अवस्थामा परिवार र छोराछोरीलाई समय दिन सक्दैनन् । तर यसले बच्चाको पालनपोषणमा नराम्रो असर पार्न सक्छ । हरेक दिन बच्चालाई समय दिन नसके पनि बिदाको दिन बच्चालाई समय दिन नबिर्सनुहोस् । यदि तपाईंले बच्चालाई समय दिनुभयो भने, तपाईं र बच्चा बीचको सम्बन्ध बलियो हुनेछ ।

३. बुवा ले बाल हेरचाह सम्बन्धी काम गर्दैनन्

बच्चाको हेरविचारको जिम्मेवारी धेरैजसो आमाकै हुन्छ । यो पनि एक कारण हुन सक्छ कि बच्चाहरु आमासँग बढी लगाव महसुस गर्छन् । एक बुबाको रूपमा, आफ्नो बच्चाको हेरचाह गर्न आफ्नो पार्टनरलाई साथ दिनुहोस् । यसले तपाई र तपाईंको पार्टनर बिचको सम्बन्धलाई मात्र गहिरो बनाउँदैन, तपाईं प्रति बच्चाको प्रेम उमेरसँग बढ्नेछ ।

४. बालबालिकाको अध्ययनमा कडाई

स्कुलमा रिपोर्ट कार्ड देखाउँदा बुवालाई सँगै लैजान डर लाग्थ्यो, के तपाईं त्यो समय याद छ ? कारण थियो, बुवाहरु पढाइप्रति बढी कडा हुनु । बच्चालाई पढ्न प्रोत्साहन दिनुहोस् । तर, पढाइका लागि दबाब दिनु गलत हो । पढाइको दबाबमा आएर बच्चाको मानसिक स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ ।

५. बच्चालाई माया गरेको देखाउँदैनन्

बुवा धेरैजसो एक्सप्रेसिभ हुँदैनन् । अर्थात्, उनीहरु बच्चालाई माया त गर्छन् तर माया गर्छु भनेर देखाउँदैनन् । पुरानो समयमा यस्तै चलन थियो । तर अब समय फेरिइसकेको छ । बच्चा आफ्नो आमा–बुवासँग कनेक्टेड हुन चाहन्छन् र उनीहरुलाई साथी बनाएर राख्न चाहन्छन् । बच्चालाई प्रेम गर्नुका साथै प्रेम जताउन पनि त्यत्तिकै जरुरी छ । आफ्नो बच्चालाई यो महसुस गराउनुहोस् कि उनी तपाईंका लागि कति विशेष छन् ।

बच्चाको सही लालनपालनको सहज तरिका भन्नुपर्दा बच्चालाई समय दिनुहोस् । उनीहरुलाई कडा व्यवहार नगर्नुहोस् । बच्चाको समस्यालाई गम्भीरताका साथ लिनुहोस् र उनीहरुलाई सहयोग गर्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप