बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?

त्रिभुवन विमानस्थलको उडान प्रभावित, सरकारी वेबसाइट घण्टौँ डाउन
शनिबार, १४ माघ २०७९, २२ : ५१
शनिबार, १४ माघ २०७९

काठमाडौँ । गत जनवरी ११ मा अमेरिकाको हवाई उडान नराम्ररी प्रभावित भएको थियो । दुर्घटनाबाट जोगाउन अमेरिकी फेडरल एभिएसन सिस्टम (एफएए) ले सयौँ प्लेनलाई ग्राउन्डेड गर्नु परेको थियो । सो समस्या समाधान गर्न अमेरिकी अधिकारीहरुलाई एक दिन र आधा लागेको थियो ।

अमेरिकाले आधिकारिक रूपमा साइबर हमला भएको स्वीकार नगरे पनि पछि अमेरिकी अधिकारीहरु तथा गुप्तचरहरुले हवाई क्षेत्रको प्रविधिमाथि साइबर हमला गरेर कम्प्युटर फाइलहरू नष्ट गरिएको बताएको थियो । यता हवाई उडानका लागि आवश्यक एफएएले नोटिस टू एयर मिसन (नोटाम) मा आक्रमण गरेको एफएएको भनाई थियो । अमेरिकी मिडियाले यसमा रुसी ह्याकरहरू संलग्न रहेको आरोप लगाएको थियो ।

सो घटनाको १७ दिनपछि नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘सर्भर डाउन’ भएको छ भने सबै सरकारी वेबसाइटहरू केही घण्टा बन्द भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा उडान अवरुद्ध बनेको थियो । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अहिले पनि ‘म्यानुअल्ली’ रूपमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ । ‘अहिले म्यानुअल्ली रूपमा उडान सामान्य रूपमा भइरहेको छ’, उनले भने, ‘सबै सरकारी सर्भर डाउन भएकाले समस्या आएको अध्यागमन कार्यालयले जानकारी दिएको छ ।’

अहिले जहाज उडान तथा अवतरणमा कुनै समस्या नभएको उनको भनाइ छ । यात्रुको व्यवस्थापनमा केही समस्या भएको र विमानस्थलमा यात्रुको भिड बढेको उनले जानकारी दिए ।  अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको थियो । इण्डिगो एयरको जहाज भारतको नयाँ दिल्ली उडेको थियो भने फ्लाई दुबईको जहाज भने अवतरण गरेको छ । समाचार तयार पार्दा कतार एयरवेजको जहाज पनि अवतरणको तयारीमा रहेको थियो ।

महाप्रबन्धक ठाकुरले विगतमा पनि यस किसिमको समस्या उत्पन्न हुने गरेको भन्दै विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी बनाउन आइतबार अध्यागमनसँग बैठक बसेर आवश्यक निर्णय लिइने बताए । उनले सबै सरकारी सर्भर डाउन भएकाले आजको समस्या आएको जिकिर गरे ।

उता शनिबार नेपाल सरकारका सबै सरकारी वेबसाइट एकैपटक डाउन भएका थिए। नेपाल सरकार मातहतमा रहेको ‘जीओभी डट एनपी’ अन्तरगतका वेबसाइटहरू एकैपटक डाउन भएका थिए । अहिले भने वेबसाइटहरू सुचारु भएका छन् ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रले विदेशबाट एकै पटक ह्वात्तै ट्राफिक आउँदा सरकारी कार्यालयका वेबसाइटमा समस्या आएको जानकारी दिएको छ । केन्द्रका प्रवक्ता रमेश पोखरेलले नेपालबाहिरबाट एकैपटक धेरै ट्राफिक आउँदा सबै सरकारी कार्यलयका वेबसाइटमा समस्या आएको बताएका हुन् । विज्ञहरुले यसलाई ‘डीडीओएस अट्याकको आशङ्का व्यक्त गरेका छन् ।  सरकारी वेबसाइट ह्याक भने नभएको पोखरेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप