शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

राष्ट्रपतिका लागि तानातान : एमालेलाई माओवादीको ‘ब्याकअप फोर्स’ चुनौती

आइतबार, १५ माघ २०७९, १६ : ४९
आइतबार, १५ माघ २०७९

काठमाडौँ । राष्ट्रपति पद कुन दलले पाउने भन्नेमा अन्योल देखिएको छ । सत्ता साझेदार दलमा राष्ट्रपति पद आफ्नो पार्टीले पाउने सहमति भएको एमालेले दाबी गर्दै आएको छ ।

तर सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रले भने राष्ट्रपतिको विषयमा कुनै सहमति नभएको जिकिर गरेको छ । बरु माओवादी केन्द्रले राष्ट्रपति चयनका सवालमा सकभर राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएको छ । शुक्रबारको स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यहरूले राष्ट्रपतिका सवालमा राष्ट्रिय सहमतिमा जोड दिएको उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

‘राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति कायम गर्ने मूलभूत रूपमा धेरै कमरेडहरूको आवाज आएको छ’, महराको भनाइ छ । तर उनले यसबारे निर्णय भने भैनसकेको बताए । उनकाअनुसार सोमबार बस्ने बैठकले थप छलफल गरेर आवश्यक निर्णय गर्नेछ ।   निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक नगरेको सन्दर्भमा फागुन २६ देखि २८ भित्र चुनाव हुने माओवादी केन्द्रको बुझाइ छ ।  

‘अहिलेसम्मको अवस्था हेर्दा राष्ट्रपतिको विषयमा एमाले र माओवादी केन्द्रको एउटै भ्वाइस रहेको छ’, उनले भने, ‘भोलि गएर के हुन्छ थाहा छैन ।’

माओवादी केन्द्रले प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा काँग्रेसलाई ‘इन्ट्री’ गराएपछि राष्ट्रपतिको विषय पेचिलो बनेको हो । सहमति भइसकेको भनिएको विषयमा माओवादी केन्द्रले नयाँ बहस ल्याएपछि समस्या भएको छ भने यही कारण एमाले र माओवादी केन्द्रले एक अर्कालाई शङ्काको दृष्टिले हेर्न थालेका छन् ।

त्यसको फाइदा लिने रणनीतिका साथ काँग्रेसले राष्ट्रपतिमा दाबीलाई सशक्त बनाउन थालेको देखिन्छ ।  राष्ट्रपतिमा सहमति बन्न सकेन भने काँग्रेससहितको नयाँ गठबन्धन बनाउने प्रयास हुनेछ ।

राष्ट्रपति निर्वाचनमा संसद्मा रहेका दलहरूको मतभार ५२ हजार ७०७ रहेको छ भने राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३५४ मत चाहिन्छ । जसअनुसार सत्ता गठबन्धनसँग हाल २९ हजार ८०७ मतभार अर्थात बहुमत देखिन्छ ।

सत्ता साझेदार दलमा एमालेको १५ हजार २३३, माओवादी केन्द्रको सात हजार ७४५, राष्ट्रिय प्रजातन्त्र पार्टी दुईहजार ४५०, राष्ट्रिय स्वतन्त्र पार्टीको एक हजार ५८० मतभार रहेको छ । यसबाहेक नेपाल किसान पार्टीको २२३, स्वतन्त्रको १९४ र मनोनीतको २३७ मतभार देखिन्छ ।

यदि माओवादी र काँग्रेससहितको गठबन्धन बन्यो भने अहिलेको गठबन्धनभन्दा बढी मत आउने देखिएको छ । काँग्रेस–माओवादी गठबन्धन बनेको खण्डमा ३२ हजार ६४६ मतभार पुग्ने देखिन्छ ।

एमालेको साथ छाडेर माओवादी केन्द्रले काँग्रेसलाई साथ दियो भने काँग्रेसको राष्ट्रपति बन्ने निश्चित जस्तै छ ।

माओवादी कांग्रेसतिर ढल्केको खण्डमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा पनि सँगै रहने देखिन्छ ।  ती पार्टीहरू माओवादीसँग केही निकट रहेकाले माओवादीको ‘ब्याक फोर्स’को रूपमा समेत हेरिएको छ । अर्थात माओवादीलाई ती पार्टीले साथ दिन सक्ने नेताहरू बताउँछन् । स्वतन्त्रसहितका दलको मतभार गणना गर्दा ३२ हजार भन्दा बढी नाघ्ने देखिन्छ ।

यही मत देखेर एमाले सशंकित बनेको छ । एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ एमालेले पाउने सहमति बनेको बताउँछन् । ‘अहिलेसम्मको अवस्था हेर्दा राष्ट्रपतिको विषयमा एमाले र माओवादी केन्द्रको एउटै भ्वाइस रहेको छ’, उनले भने, ‘भोलि गएर के हुन्छ थाहा छैन ।’

एमालेको साथ छाडेर माओवादी केन्द्रले काँग्रेसलाई साथ दियो भने काँग्रेसको राष्ट्रपति बन्ने निश्चित जस्तै छ । उसो त एमालेले माओवादीलाई साथ दिने ठानिएका सम्भावित पार्टीहरू जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीसँग छुट्टाछुट्टै कुराकानी गरिरहेका बताइएको छ ।

 जसपाको दुई हजार १४५ मतभार रहेको छ भने जनमतको एक हजार २४२ र नागरिक उन्मुक्ति पार्टीको ८९२ मतभार छ । यदि एमालेले यी तीनवटा दललाई आफूसँग राख्न सक्यो भने केही फरक परिदृश्य भने बन्न सक्ने देखिन्छ ।

तर  माओवादी र काँग्रेसका नेताहरूले पनि यी दुई दलसँग छुट्टाछुट्टै अनौपचारिक छलफल गरिरहेका छन् । जनमत पार्टीका एक नेताले माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको कारण आफ्नो पार्टीले राष्ट्रपति चुनावमा माओवादी–काँग्रेसबीचको गठबन्धन बनेको खण्डमा साथ दिन सक्ने सम्भावना रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले जेलमा रहेका रेशम चौधरीसँग कुराकानी गरेर माग पूरा गर्न गर्न सकारात्मक जवाफ दिएका थिए । सोही जवाफपछि प्रचण्डलाई नागरिक उन्मुक्तिले विश्वासको मत दिएको थियो । राष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र राष्ट्रियसभाका सदस्यहरू मतदाता हुन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप