शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बालनिबन्ध : सफलताको स्रोत

बुधबार, १८ माघ २०७९, १० : १८
बुधबार, १८ माघ २०७९

प्रायः हामी कारणलाई प्राथमिकता दिन्छौँ र कारण पत्ता लागेपछि समस्या समाधान गर्न सजिलो हुन्छ भन्ने गर्छौँ । कारण पत्ता लाग्नासाथ समस्याको जड पनि पत्ता लाग्ने भएकाले त्यसैले समस्या समाधानमा सहयोग पुर्‍याउँछ भन्ने हाम्रो मान्यता छ तर यो लागेको मात्र हो यथार्थ होइन । लाग्नु एउटा कुरा हो वास्तविकता अर्कै कुरा हो । हमेशा कारण र कार्य सँगै रहेको हुन्छ, जुन एक अर्काको पूरक बनेर रहेको हुन्छ । अन्योन्याश्रय भएर रहने भएकाले यिनीहरू एक अर्कोसँग छुट्टिएर रहनै सक्दैनन् । कारणको भरमा कार्य टिकेको हुन्छ, कार्यको आडमा कारण अडेको हुन्छ । यसलाई हामी यसरी पनि भन्न सक्छौँ कारणले कार्यलाई जन्माउँछ कार्यले कार्यलाई । संसारमा निरपेक्ष भन्ने केही पनि छैन, हुँदैन । चाहे जडको कुरा गरौँ चाहे चेतनको, चाहे निर्जीवको कुरा गरौँ चाहे सजीव अवस्थाको कारण र कार्य जुन पनि हुन सक्छ तर सबैमा एकपछि अर्को के भन्ने प्रश्न रहेकै हुन्छ, आएकै हुन्छ ।

उदाहरणका लागि तपाईँ रुखको पात हल्लिनु र तलाउको पानी चल्नुलाई नै लिन सक्नुहुन्छ । रुखको पात हल्लिएको र तलाउको पानी चलेको भाइबहिनीहरूले देखेकै हुनुपर्छ तर त्यो त्यसै हल्लिएको पनि हुँदैन र चलेको पनि हुँदैन । जति बेला हावा चल्छ त्यति बेला नै यिनीहरू हल्लिने र चल्ने गर्छन् । यति बेला यहाँ हावा चल्नु कारण हो भने हल्लिनु र चल्न कार्य हुन् ।

अब लागौँ हावा किन चल्यो भन्नेतिर । के हावा त्यत्तिकै चलेको होला त ? होइन, पक्कै होइन, हुनै सक्दैन । यस्तो ठान्नु मूर्खता हो, प्रकृतिको नियमलाई नबुझ्नु हो, बुझ्न नखोज्नु हो । हावा त्यति बेला चल्छ जति बेला वायु मण्डलमा दवाव सिर्जना हुन्छ । जब वायु मण्डलमा दवाव सिर्जना भयो तब हावा चल्न थाल्यो । यहाँ वायु मण्डलमा दवाव सिर्जना हुनु कारण हो भने हावा चल्नु कार्य हुन पुग्यो । यसरी पहिलेको कारण अहिले कार्य हुन पुग्यो । हरेक अवस्थामा यस्तै नियमले काम गरेको हुन्छ ।

जस्तै वायुमण्डलमा दवाव सिर्जना पनि अकारण भएको हुँदैन । जतिबेला पृथिवीको तापक्रममा उतार चडाव आउँछ तब वायु मण्डलमा दवाव सिर्जना हुन्छ । यहाँ पृथिवीको तापक्रममा उतार चडाव हुनु कारण हुन पुग्यो भने वायु मण्डलमा दवाव सिर्जना हुनु कार्य बन्न आइपुग्यो । तपाईँ भन्नुहोला पृथिवीको तापक्रममा उतार चडाव चाहिँ किन हुन्छ नि ? यसको पनि चानचुने कारण छैन ।

यसमा एउटा कुरा त तापक्रममा उतार चडाव आउन पृथिवीको हिस्सा सूर्यदेखि कि निकै टाडा हुनुपर्छ कि नजिक पुगेको हुनुपर्छ । अर्को कुरा ब्रह्माण्डमा सूर्य लगायत असङ्ख्य ग्रह नक्षेत्र रहेका हुन्छन् । भूगर्भकै कृुुरा गर्ने हो भने पनि उसमा निरन्तर साना ठूला बिस्फोट भइरहेका हुन्छन् । यिनै प्राकृतिक उथलपुथलका कारण पृथिवीको तापक्रममा परिवर्तन आइरहेको हुन्छ । यतिबेला उल्लिखित प्राकृतिक उथलपुथल कारण हुन पुग्छन् भने तापक्रममा आउने परिवर्तन कार्य हुन पुगेका हुन्छन् ।

एवंरीतले केलाउँदै जानुभयो भने संसारमा कुनै पनि क्रियाकलाप यस्तो पाउनु हुन्न, जुन अकारण भएका हुन् । जेजति भएका छन् सबैका कारण पनि छन् र कारण भएकाले कार्य पनि सँगै रहेका हुन्छन्, आएका हुन्छन् । कार्य र कारण भनेका यस्ता चीज हुन्, जसलाई न एक अर्कोलाई पृथक गरेर हेर्न सकिन्छ न कुन अघि र कुन पछि भन्न सकिन्न । यसो भन्न थालियो भने त्यतै हराइन्छ । किनकि यसो भन्नु भनेको अन्डा पहिले कि चल्ला पहिले भन्नु जस्तै हो । दुवै सँगै छ, दुवैले एक अर्कोलाई बनाएको छ, चलाएको छ भने कसलाई पहिलो र कसलाई दोस्रो ?

समस्या पनि त्यस्तै हो । हरेक समस्याको कारण पनि हुन्छ कार्य पनि हुन्छ । कारणले समस्यालाई जन्माउँछ र पुन सोही समस्या नै अर्को समस्याको कारण बन्न पुग्छ । मानिलिनुस तपाईँ परीक्षामा फेल हुनु भयो । यहाँ राम्रोसँग नपढ्नु वा लेख्न नसक्नु कारण हो भने फेल हुनु कार्य । अनि परीक्षामा फेल हुनु भएकाले भनेको स्थानमा जागिर खान पाउनु भएन । यति बेला फेल हुनु कारण बन्न पुगेको हुन्छ भने भनेको स्थानमा जागिर नपाउनु कार्य हुन पुगेको हुन्छ । यी केही उदाहरण हुन् । हरेक क्षेत्रमा यही नियमले काम गरेको हुन्छ ।

वैज्ञानिकहरू भन्छन् मानव शरीर असीम ऊर्जा र क्षमताको स्रोत हो तर उसले अहिलेसम्म त्यसको १० प्रतिशत पनि प्रयोगमा ल्याउन सकिरहेको छैन । यसको कारकमध्ये यही कार्य र कारणको अन्योलता पनि एउटा हो । 

त्यसैले कारणको पछि नलागी समस्या समाधानतिर ध्यान दिनु नै बुद्धिमानी हुनेछ । समस्य हो आइहाल्यो । जसरी आए पनि आयो । यस्तोमा के कारणले समस्या आयो भन्नुभन्दा कसरी समाधान गर्ने भन्ने कुराको महत्व बढी हुन्छ । जहाँसम्म कारण खोज्नतिर लाग्ने कि  कार्यतिर ध्यान दिने भन्ने कुरा छ त्यसको रोजाइ आफैँमा निर्भर छ । यदि कारणतिर अल्झिने हो भने कहीँ पुगिन्न होइन समाधानतिर लाग्ने हो भने गन्तव्यमा पुग्न बेर लाग्दैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप