बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
शीर्ष नेताहरूबिच छलफल

संसद्को अवरोध खोल्न बसेको तीन दलको बैठकमा जुटेन सहमति

सोमबार, १९ जेठ २०८२, १८ : १६
सोमबार, १९ जेठ २०८२

काठमाडौँ । संसद्को अवरोध खुलाउन बसेको तीन दलका शीर्ष नेताको बैठक विना निष्कर्ष सकिएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट प्रतिपक्ष पछि नहटेपछि बैठकमा सहमति जुट्न नसकेको हो । 

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा करिब २ घण्टा बसेको बैठकमा संसद् खोल्न प्रतिपक्ष सहमत नभएपछि बैठक विना निष्कर्ष सकिएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार तीन दलको बैठकमा सत्तापक्षले गृहमन्त्रीको राजीनामा होइन,संसद् खोल्न आग्रह गरेका थिए । ‘हामीले सुशासनलाई जोड दियौँ । हामीले जो विषयवस्तु राखेका छौ त्यो यथावत रहेको छ’, उनले भने,  ‘भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ ।’ जवाफमा सत्तापक्षले कर्मचारीको कुरा भएकाले गृहमन्त्रीले राजीनामा दिनुनपर्ने बताएको थियो ।

यसैबिच शीर्ष बैठकमा सहभागी प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले संसद् अवरुद्ध गरेर जानुहुँदैन भनेर राखेको प्रस्तावमा प्रतिपक्षले थप छलफल गर्दै अघि बढ्ने जवाफ दिएको बताए । 

संविधान र व्यवस्थालाई चुनौती दिन भइरहेका गतिविधिलाई सामना गर्दै अघि बढ्न तीनै दल सहमत भएको नेता खरेलले जानकारी दिए । ‘यसमा हामी एकमत र एक ठाउँमा रहेका छाैँ’, खरेलको भनाइ छ ।

मङ्गलबारबाट संसद्‌मा बजेटमाथि छलफल गर्ने कार्यसूची छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप