मनसुनजन्य विपद् व्यवस्थापनको पूर्व तयारीबारे छलफल, गृहमन्त्रीले दिए यस्तो निर्देशन
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सोमबार मनसुनजन्य विपद् व्यवस्थापनको पूर्व तयारीबारे छलफल भएको छ ।
गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा छलफल भएको थियो । मनसुनको पूर्व सन्ध्या भएकोले सबै सुरक्षा निकायहरूलाई विपद् उद्धार कार्यमा तत्काल परिचालन हुनसक्ने गरी तयारी अवस्थामा राख्नुपर्ने गृहमन्त्री लेखकले बताए ।
उनले विपद्को समयमा छिटो सूचना र उद्धारकर्ता परिचालनको लागि तयारी अवस्थामा राख्न सबै सुरक्षा निकाय, स्थानीय तह र प्रदेश सरकारसँग समन्वय र सहकार्य गरी अघि बढ्नुपर्नेमा जोड दिए । उनले पूर्व सूचनाको आधारमा जोखिम ठाउँहरू पहिचान गरी उद्धारको लागि तयारी हालतमा रहन जरुरी रहेको बताए।
लेखकले विगतका घटनाहरूबाट पाठ सिकेर त्यही अनुसारको योजना बनाई अघि बढ्नुपर्ने बताउँदै यस वर्ष भारी वर्षाको सम्भावना भएको कारण विपद् उद्धारका सामाग्रीसहित सशस्त्र प्रहरी बल नेपालका सबै युनिटहरूमा जनशक्ति तयारी अवस्थामा राख्न निर्देशन समेत दिए ।
उनले भएका सामाग्रीहरूको सही परिचालन गरी जोखिम न्यूनीकरण र नागरिकको जीउधनको सुरक्षा गर्न अबको मनसुनमा प्राथमिक कार्य भएको बताए । छलफल कार्यक्रममा निमित्त गृह सचिव जयनारायण आचार्यले विपद्को समयमा सबै निकायहरूसँग समन्वय र सहकार्य गर्न जरुरी रहेको बताउँदै विपद्को समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गरे ।
कार्यक्रममा निमित्त सङ्गठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बल नेपालले विगतको पूर्व तयारी अन्तर्गत चालिएका कदमहरूलाई कार्यक्षेत्रमा अक्षरशः पालना गर्दै यस वर्षको मनसुन प्रतिकार्य योजना, २०८२ तयार भइसकेको र सोही अनुरूप सशस्त्र प्रहरी बल नेपालका ८ वटा बाहिनी मुख्यालय, २ वटा तालिम शिक्षालय, १ वटा गण, ९ वटा वेश र २ वटा रेस्क्यु टावरमा उच्चस्तरीय उद्धार सामाग्रीसहित सुरक्षा फौज तैनाथ राखिएको बताए ।
सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण जनशक्तिलाई तयारी हालतमा राखी २ हजार ४ सय ८१ जना विपद् व्यवस्थापन र १ सय २८ जना गोताखोर तालिम प्राप्त जनशक्तिलाई विशिष्टीकृत उद्धार सामाग्रीसहित सात वटै प्रदेशमा परिचालन गरिएको उनले बताए ।
गृहमन्त्री लेखक समक्ष प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपालका सबै बाहिनी मुख्यालयले मनसुनजन्य विपद् व्यवस्थापन तथा पूर्व तयारीको बारेमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण