बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

क्यानले ईपीएल गर्न दिने, ईपीएलले क्यानविरुद्ध मुद्दा फिर्ता गर्ने

बिहीबार, १९ माघ २०७९, २० : ५९
बिहीबार, १९ माघ २०७९

काठमाडौँ । नेपाली क्रिकेटमा नेपाल टी–ट्वान्टी लिग गर्ने भन्ने चर्चा चलेदेखि नै नेपाली क्रिकेटमा चलिरहेका फ्रेन्चाइजी लिगहरू धरापमा पर्ने सङ्केत देखियो । क्यानले नै नेपाल टी–ट्वान्टी लिग बाहेक राष्ट्रिय स्तरमा कुनै पनि लिगहरू सञ्चालन नहुने भन्यो । केही समय पछि भने क्यानले क्षेत्रीय स्तरमा लिगहरू सञ्चालनका लागि आफूहरूले अनुमति दिन तयार भएको बतायो ।  सो निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपालमा चलिरहेका टी–ट्वाटी लिगहरूले क्यानविरुद्ध बोल्न सुरु गरे । त्यसमध्ये सबैभन्दा चर्को रूपमा आवाज उठाउने एभरेस्ट प्रिमियर लिग (ईपीएल) र त्यसको सञ्चालक अमिर अख्तर थिए ।

नेपाल क्रिकेट संघ (क्यान) निलम्बनको समयमा आईसीसीसँग मान्यता लिएर फ्रेञ्चाइजी लिग आयोजना गरिरहेको बेला क्यानको निलम्बन फुकुवा भएसँगै यसलाई बेवास्ता गर्न नमिल्ने अख्तरको भनाइ थियो ।  उता क्यानले भने भारतीय कम्पनीसँग सम्झौता गर्‍यो । यसको विरोधमा अख्तरले क्यानलाई नै विपक्ष बनाएर अख्तियारदेखि सर्वोच्चमा रिट दायर गरे । उक्त मुद्दाको अहिलेसम्म छिनोफानो भएको छैन । उक्त मुद्दालाई क्यानले बेवास्ता गर्दा अहिले ठुलो दुर्घटनामा पर्ने सङ्केत देखिएको छ । 

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टी–ट्वान्टी लिगको सम्झौताका क्रममा आफूहरूले गल्ती गरेको स्वीकार गरेका छन् । लिग सम्पन्न भए पनि विवादहरू अझै चुलिरहेका छन् । जसको समाधान गर्न क्यान लागि परेको छ । अदालतले नेपाल टी–ट्वान्टी लिगले भारतीय कम्पनीसँग सम्झौता गर्ने विषयमा कारण देखाऊ आदेश दिएको छ । कम्पनीसँग सम्झौताको लागि स्वीकृत दिने राष्ट्रिय खेलकुद परिषद् (राखेप) र युवा तथा खेलकुद मन्त्रालयलाई पनि कारण देखाउन माग गरेको छ ।  यस विषयमा बहस चलिरहेको समयमा क्यानले अब ईपीएल र अख्तरले हालेको मुद्दा फिर्ता गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

सोही अनुसार क्यानले ईपीएल आयोजना गर्न दिने प्रस्ताव पनि गरेको सञ्चलक अख्तरले बताएका छन् ।  क्यानको बोर्ड बैठकको निर्णय नम्बर १२ मा नेपाल टी–ट्वान्टी लिगको सम्बन्धमा ईपीएलका सञ्चालक अमिर अख्तर लगायतले क्यान र अध्यक्ष चन्दविरुद्ध सर्वाेच्च अदालतमा दायर भएको मुद्दा विषयमा छलफल गर्न र उक्त मुद्दा फिर्ता लिन अख्तर र क्यानलाई आग्रह गर्ने उल्लेख छ ।  के छ क्यान र ईपीएलबीचको मौखिक सम्झौता ? क्यानको बोर्ड बैठक बस्नु पूर्व अध्यक्ष चतुरबहादुर चन्दले आफूलाई फोनमा मुद्दा फिर्ता लिन आग्रह गरेको अख्तरले रातोपाटीलाई बताए ।

फोनमा क्यानले  आफूहरूलाई ईपीएल पहिलेकै ढंगले गर्न दिने र आफूहरूले मुद्दा फिर्ता लिने भन्ने विषयमा मौखिक सम्झौता भएको अख्तरको भनाई छ ।  ‘क्यानले मलाई ईपीएल पहिलेकै ढंगले गर्न दिने र त्यसका लागि आफूहरूले मुद्दा फिर्ता लिनु पर्ने भनेको छ । त्यसमा हामी सकारात्मक छौँ । हामीले भारतीय कम्पनीले नेपाली क्रिकेट चलाउन नखोजोस् भन्नका लागि मात्र यो सबै गरिरहेका थियौँ,’ अख्तरले रातोपाटीसँगको कुराकानीमा भने । 

यता क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले पनि लामो समयदेखि यही कुरमा चर्चा चलिरहेको र यो मुद्दाले नेपाली क्रिकेट नै धरापमा पर्ने खतराका कारण आफूहरूले मुद्दा फिर्ता लिन लगाएको बताए ।  उनले ईपीएल गर्ने कुरामा आफूहरू कहिले नकारात्मक नभएको र क्षेत्रीय हिसाबमा लिग गर्न दिने कुरा आफूहरूलाई मान्य भएको तर, पुरानै तरिकाले गर्ने भन्ने कुरामा आफूहरू अझै नभएको बताए । ‘ईपीएल गर्न दिने कुरामा हामीले कहिल्यै नकारात्मक थिएनौँ । पहिलेदेखि नै क्षेत्रीय लिगको रूपमा ईपीएल आयोजना गर्न सक्ने हामीले भनेका थियौँ । अहिले मुद्दा फिर्ता गर्न लगाउने भन्ने हो । त्यो पनि नेपाली क्रिकेटका लागि । पुरानै अवस्थाको लिग गर्न दिने भन्ने सहमति भएको छैन,’ पाठकले रातोपाटीसँगको कुराकानीमा भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप