बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

माधव नेपालको राजनीतिक प्रतिवेदन : एमालेबाट विद्रोह गर्नु जायज

शनिबार, २१ माघ २०७९, १४ : ४७
शनिबार, २१ माघ २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गर्नु जायज भएको बताएका छन् ।  पार्टीको पाँचौं केन्द्रीय समिति बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । अध्यक्ष नेपालले बैठकमा सबै प्रकारको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन विद्रोह गरिएको बताए । अध्यक्ष नेपालले भने, ‘हामीहरुले विद्रोह गरेको तथ्य पुष्टि भइसकेको छ, पछि पनि पुष्टि हुनेछ, सिद्धान्त गलत छ कि सही छ त्यो व्यवहारले पुष्टि गर्छ ।’ देशका प्रत्येक मोडमा कम्युनिष्ट पार्टीले गौरवशाली भूमिका खेलेको उल्लेख गर्दै उनले कम्युनिष्ट पार्टीले खेलेको भूमिकाप्रति गौरवबोध भएको बताए ।

संविधान निर्माणपछि दुईटा चुनाव सम्पन्न भइसकेको बताउँदै उनले पहिलो चुनावबाट नेकपा झण्डै दुई तिहाई बहुमतमा भएको र  ऐतिहासिक अवसर पाए पनि व्यक्तिवाद हावी हुन पुगेको उनले बताए । उनले भने, ‘पार्टीमा आफू खुशी निर्णय हुन थाले, भएका सहमतिहरुलाई तोड्दै गएको अनुभूति हुन थाल्यो,  ‘मेरो कुर्सी कसैले ताक्यो भने कुर्सी नै भाँची दिने’ केपी ओलीको भनाईले पार्टी कसरी चलेको थियो भनि पुष्टि हुन्छ ।’

एमसीसीको विषय होस् या विदेशी एजेन्सीसँग भेटेको कुरा होस् वा भ्रष्टाचारको घटना होस् ती सबै कुरामा केपी ओली फँस्दै गएको बताउँदै  उनले अ‍ोलीमा गुटवाद र संकिर्णता देखिएको टिप्पणी गरे । नयाँ पार्टी निर्माणको प्रसंगमा उनले अहिले १७ महिनाको यात्रा तय गरेको बताउँदै यो यात्रा लामो नभएको अध्यक्ष नेपालले बताए । तर यो छोटो समयमा निकै महत्वपूर्ण काम गरेको दावी पनि उनले गरे ।

‘समग्रमा अन्य पार्टीभन्दा राम्रा र जनविश्वासको काम गरेको बताउँदै उनले भने, ‘संगठन निर्माणको क्रममा स्थानीय तहको चुनावमा केही अनुभव प्राप्त भयो, केही सफलता हात लाग्यो केही असफलता पनि हात लाग्यो, त्यस्तै प्रतिनिधिसभा र प्रदेशसभामा पनि भाग लियौं सफलता र असफलता हात लाग्यो यसको समीक्षा भएको छ ।’ निर्वाचनको परिणाम सोचे जस्तो नभएको बताउँदै उनले तीन प्रतिशत कटाउन नसकेको सन्दर्भको बारेमा राजनीतिक प्रतिवेदनमा पनि उल्लेख भएको बताए ।

‘समानुपातिकमा पनि राम्रै आकलन थियो, त्यसका लागि मेहनत पनि गरियो तर त्यसमा सफल भइएन’ उनले भने, ‘एकलाख ३६ हजार पार्टी सदस्य संख्या छ, उम्मेदवारले तीन जनाको पनि मत प्राप्त गर्न नसक्ने हो भने ती सदस्यहरुको के काम ।’ यी सबै विषयको समीक्षा गर्नुपर्ने उनले बताए ।  वामपन्थी तथा परम्परागत पार्टीहरुको लोकप्रिय जनमत घटेको बताउँदै उनले राजावादी शक्ति, संघीयता विरोधी शक्तिलगायत विभिन्न शक्ति लोकप्रिय भएर आएको धारणा राखे । जनतालाई जागरुक बनाउन सकिएन भने वामपन्थी आन्दोलनको रक्षा नहुने बताउँदै उनले सम्राज्यवादी शक्तिहरु जुन रुपमा आएका छन् त्यसले युद्धको खतरा देखिएको टिप्पणी गरे ।

उनले भने, ‘कम्युनिष्ट पार्टीमा पनि विभिन्न भ्रष्टीकरणहरु देखिएका छन्, टिकट पाए भने सक्रिय हुने, समानुपातिकमा परिए मात्र सक्रिय हुने प्रवृति देखिएको छ, यदि त्यो प्रवृति केन्द्रीय कमिटीमा छ भने त्यसलाई छुट दिन सकिँदैन । पहिला जे भयो, त्यो भयो अब त्यस्तो प्रवृति दोहोरियो भने छुट दिन सकिँदैन ।’ उनले अब आन्दोलन जारी रहने र त्यो आँट यो पार्टीमा रहेको धारणा राखे ।

अहिले सरकार बनाएका दलहरुसँग नैतिकता नरहेको बताउँदै उनले सरकारमा देखिएको गलत प्रवृतिको भण्डाफोर गर्नुपर्ने धारणा राखे । ‘चुनावी परिणाम आइसकेपछि नयाँ शक्ति सन्तुलन बन्यो, प्रचण्डलाई प्रधानमन्त्री दिने कुरा थियो, तर एमालेले देउवालाई प्रधानमन्त्रीमा ढुक्क रहन भनेर ती सबै काम विगार्यो’ अध्यक्ष नेपाल भने, ‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन, राष्ट्रपति चुनावसम्म थेग्ला जस्तो छ, तर त्यो भन्दा पहिले नै खटपट सुरु भइसकेको छ ।’ 

उनले सरकारमै रहेर संघीयताको विरोध गर्नुको अर्थ संकटको संकेत भएको बताए । नेपालले भने, ‘संसदको रोष्टममा उभिएर संघीयताको विरोध गरिएको छ, हिन्दु राष्ट्रको वकालत गरिएको छ, सरकारमै रहेर संघीयताको विरोध गर्नुको अर्थ संकटको अवस्था रहेको पुष्टि हुन्छ ।’ यो सरकारप्रति जनता निराश हुन थालेको बताउँदै उनले आफूहरुले पार्टीलाई शक्तिशाली बनाएर अगाडि बढ्नुपर्ने धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप