मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मुख्यमन्त्री अधिकारी

शनिबार, २१ माघ २०७९, २० : ५३
शनिबार, २१ माघ २०७९

बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । आज बागलुङस्थित धवलागिरि अस्पतालले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले स्वास्थ्य संस्थासँगै सेवालाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए ।

दूरदराजका नागरिकलाई पनि स्वास्थ्यको सहज पहुँचसँग जोड्न गण्डकी प्रदेश सरकारले गाउँ–गाउँमा स्वास्थ्य संस्था स्थापना गर्ने तथा आवश्यक उपकरण, औषधिको व्यवस्थापन गर्ने बताए । स्वास्थ्यकर्मीले सेवा प्रवाहमा कुनै ढिलासुस्ती नगर्न उनले निर्देशन दिए ।

मुख्यमन्त्री अधिकारीले भने, “समयको सही प्रयोग गरी बिरामीलाई कत्ति पनि दुःख नहुने गरी सेवा दिनुपर्छ, ढिलासुस्तीले कसैको ज्यान जान सक्छ, कयौँ अस्पतालमा जनशक्ति नपुगेको गुनासो छ, त्यसको व्यवस्थापनका लागि प्रदेश सरकार गम्भीर भएर लाग्छ, अस्पतालमा आउने कोही पनि बिरामी उपचारबिना नफर्कियोस् ।”

उनले धवलागिरि अस्पतालमा आफू स्वास्थ्यमन्त्री हुँदा जनशक्ति व्यवस्थापन तथा स्वास्थ्य बीमा लागू गरेको स्मरण गर्दै यहाँको निर्माणाधीन नयाँ भवनलाई तत्काल सम्पन्न गरी थप व्यवस्थापनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए । जनशक्ति व्यवस्थापन, हरि खड्का ट्रमा सेन्टर सञ्चालनलगायतका अन्य काम गर्नका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप