सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
एकीकृत समाजवादीको बैठक

माधव नेपालको प्रतिवेदनमाथि न्यौपानेको फरक मत : एमालेसहितको बृहत् कम्युनिस्ट एकतामा जोड (पूर्णपाठसहित)

आइतबार, २२ माघ २०७९, १५ : २५
आइतबार, २२ माघ २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेले नेकपा एमालेसहितको वाम एकतामा जोड दिएका छन् । पार्टीको जारी पाँचौ केन्द्रीय कमिटी बैठकमा तेस्रो वरीयतका नेता न्यौपानेले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि लिखित रुपमै फरक मत दर्ज गरेका हुन् ।

उनले अहिलेको संकटपूर्ण घडीमा नेकपा एकीकृत समाजवादीको नेतृत्वले राजनीतिक स्थायित्वका लागि, आर्थिक अवस्थालाई समाजवादउन्मुख दिशामा लैजान र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको रक्षा तथा विकास गर्न मूर्त र ठोस ढंगको राजनीतिक कार्यदिशासहितको कार्यभारलाई आत्मसात गर्न जरुरी भएको बताएका छन् । त्यसका लागि उनले नेकपा एमालेसहितको बृहत कम्युनिस्ट एकतामा जोड दिएका छन् ।

‘आजको मुख्य कार्यभार एक देश–एक कम्युनिष्ट पार्टी निर्माण हो । नेकपा (एमाले) सहितको वृहत्कम्युनिष्ट एकता हो । यो कार्यभारलाई चालु केन्द्रीय कमिटीको वैठकवाट पारित गरि अघि वढ्नु पर्दछ’, न्यौपानेले आफ्नो फरक मतमा उल्लेख गरेका छन् ।

नेता न्यौपानेले २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा जनताले नेकपा एकीकृत समाजवादीलाईस्वीकार गर्न नसक्दा संविधानको प्रावधान अनुसार थे्रसहोल्ड सम्म जोगाउन नसकेको बताएका छन् ।

‘जनताले हामीले गरेको विद्रोहलाई स्वीकार गरेनन् । एउटा कम्युनिष्ट पार्टीले आफुलाई जनताको इच्छा र आकांक्षा अनुसार चलाउनु पर्छ’, न्यौपानेले भनेका छन्, ‘यदि जनताको आवश्यकता र इच्छा अनुसार चल्न सकोनौं भने हामी असफल हुने छौं ।’

बैठकको पहिलो दिन शनिबार अध्यक्ष नेपालले पेश गरेको २५ पेज लामो राजनीतिक प्रतिवेदनमा भने नेकपा एमालेलाई दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिष्ट पार्टी भन्दै उसको वर्ग अडान स्पष्ट नभएको दावी गरेका छन् ।  न्यौपानेले एमालेसँगको एकताले मात्रै एक देश एक बृहत कम्युनिस्ट पार्टी बन्न सक्ने दावी गरेका हुन् ।

‘दलाल पूँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीब्र गतिमा दक्षिणपन्थी हुँदै गएको छ । यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध छैन । विगतको व्यवहारलाई हेर्दा यसले आफ्नो स्वार्थका निम्ति संविधान र लोकतन्त्रलाई मास्न पनि बेर लाउँदैन भन्ने देखिन्छ’, अध्यक्ष नेपालको प्रतिवेदनमा भनिएको छ । अध्यक्ष नेपालको प्रतिवेदनमामाथि १० समुहमा गरेर आइतबारको बैठकमा टोली नेताले निश्कर्ष पेश गर्दैछन् ।

न्यौपानेले मंसिरको निर्वाचनमा वारा क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार अच्युत मैनालीलाई भोट मागेको पार्टीभित्र उजुरी परेको थियो । पछिल्लो समयमा एकीकृत समाजवादीमा कम्युनिस्ट नेता वामदेव गौतम प्रवेश गर्न लाग्दैछन् । गौतम एकीकृत समाजवादीमा प्रवेश गरेपछि उनले अहिले पार्टीमा पाएको तेस्रो बरियता चौथोमा पुग्ने देखिएको छ । अध्यक्ष नेपालले गौतमलाई सम्मानित नेता झलनाथ खनालपछि तेस्रो बरियताको हैसियतमा पार्टीमा भित्रयाउने तयारीमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप