शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीका सईमाथि एकल महिलाको ५४ लाख ठगेको आरोप

आवश्यक छानबिन भइरहेको छ : गृह मन्त्रालय
आइतबार, २२ माघ २०७९, १३ : ५०
आइतबार, २२ माघ २०७९

काठमाडौँ । नेपाल प्रहरीमा कार्यरत एक जना प्रहरी नायव निरीक्षक (सई)ले योजनाबद्ध रूपमा एकल महिलासँग लाखौँ ठगेको आरोप लागेको छ । एक जना महिलाले प्रहरी प्रधान कार्यालय स्थित सवारी महाशाखामा कार्यरत सई मदनबहादुर तामाङले ‘विवाह गर्छु’ भनेर आफूसँग लाखौँ ठगेको आरोप लगाएकी हुन् । 

५० वर्षीया ती महिलाले तामाङविरुद्ध गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयसहित विभिन्न निकायमा उजुरी गरेकी हुन् । २०७२ मा पहिलो पटक प्रहरी वृत्त थिमीमा उजुरी गरे पनि विभागीय कर्मचारी भनेर प्रहरीले छलफल नै नगराएपछि ती महिला प्रहरीका विभिन्न युनिट घुमेर गृह मन्त्रालयमा पुगेकी थिइन् ।

सई तामाङ महोत्तरीको बर्दिबासका स्थानीय हुन् । नवलपरासी पश्चिमको कावासोतीमा बस्ने पीडित महिला र मदनको बीचमा २०६४ साल मा फोन मार्फत चिनजान भएको थियो । सुरुमा भेट हुँदा आफूलाई मदनले प्रहरी भनेर पनि चिनाएनन् । वास्तविक नाम लुकाएर सुशन थापाको रूपमा आफूलाई चिनाए । ‘२०६४ मा मलाई बुटवलमा भेट्न बोलाए’ पीडित महिला भन्छिन्–‘भैरहवामा हाकिमको घरमा काम गर्छु भन्थे, नाम पनि ढाँटेका रहेछन् ।’

विभिन्न बहानामा आफ्नो कावासोतीको जग्गा र भक्तपुर स्थित कौशलटारको घर बेच्न लगाएर तामाङले ५४ लाख ठगेको ती महिलाले बताइन् । रातोपाटीसँग कुरा गर्दै उनले भनिन्–‘मैले डायरीमा टिपोट राखेको छु, अहिलेसम्म मेरो ५४ लाख गएको छ ।’

गृह मन्त्रालयको उजुरी तथा गुनासो शाखामा एकल महिलाले सई तामाङबारे उजुरी गरेको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) फणीन्द्र पोखरेलले बताए । पोखरेल भन्छन्–‘आवश्यक छानबिन भइरहेको छ ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि ‘अनाथ एकल’ महिलालाई ठगेको बारे छानबिन र कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । २०७९ जेठ ३१ मा प्रधानमन्त्री कार्यालयको पत्रका आधारमा गृह मन्त्रालयले प्रहरीलाई लेखेको पत्रमा भनिएको छ–‘अनाथ एकल महिलालाई ठगी श्रीमतीको नाममा जग्गा किनेको भन्ने गुनासो प्राप्त भएको छ, गुनासोको विस्तृत जानकारी पत्र संलग्न कागजातबाट अवगत गर्नु भई त्यसमा के भएको हो,  आवश्यक छानबिन तथा कारबाही गरी जानकारी यस मन्त्रालयमा पठाउनु हुन आदेशअनुसार अनुरोध छ ।’

ठगेर दुई ठाउँमा घडेरी

एकल महिलालाई सई तामाङले २०६४ मा फोन गरेर भैरहवा स्थित बुद्धचोकमा फिल्म हेर्न बोलाए । भैरहवा र बुटवलमा ३ पटक भेटेपछि तामाङले बहाना बनाएर पैसा माग्न थालेको ती महिलाको आरोप छ ।

आफू अविवाहित बताएका तामाङले बुवाको मुटुको अप्रेशन र मोतीबिन्दुको अप्रेशन गर्ने बहानामा सुरुमा पैसा लिए । त्यसपछि ती महिलालाई उनले काठमाडौँ बोलाए । ‘कावासोतीको घर जग्गा बेचेर म २०६८ मा काठमाडौँ आएँ’ ती महिलाले रातोपाटीसँग भनिन् –‘मोटरसाइकल किन्न र अन्य समस्या देखाएर उनले मागेजति पैसा मैले दिँदै गएँ ।’

२०६८ मा मोटरसाइकल किन्न ३ लाख ५० हजार दिएको बताउँछिन् पीडित महिला । मदनको बुवाको मोतीबिन्दु र मुटुको अप्रेशन गर्न ३ लाख १५ हजार दिएको उनले दाबी गरिन् ।

२०६९ मा ती महिलाले कौशलटारमा घर किनिन् । त्यसपछि नयाँ गाडी किनेर चलाउने बहाना बनाएर उनले पैसा मागे । आफूले दिएको पैसाले उनले सिन्धुलीमा दुई ठाउँमा घडेरी किनेको पीडितको भनाइ छ । ‘सँगै बाँच्ने’ कसम खाएका ती महिलालाई ठग्न तामाङले श्रीमतीलाई पनि प्रयोग गरेको थाहा भएको छ । ‘भाउजु बनेर मलाई एक जना महिलाले फोन गर्थिन्’ पीडित भन्छिन्–‘मलाई फोन गरेर पैसा दिन आग्रह गर्ने उनकै पत्नी भएको मैले पछि थाहा पाएँ ।’  

आफूलाई हेर्ने विश्वासमा सिन्धुलीमा दोस्रो पटक जग्गा किन्न कृषि विकाश बैंकबाट निकालेर ११ लाख दिएको पीडितले रातोपाटीलाई बताइन् । रातोपाटीसँग उनले भनिन्–‘बैंकको चेक लैजानु भन्दा क्यास चाहिन्छ भनेर पटक–पटक मलाई ठगेर अहिले सम्पर्कविहीन भएपछि उजुरी गरेको छु ।’

प्रारम्भिक छानबिनबाट तामाङले पीडित महिलाकै नाममा सिमकार्ड किनेर कुरा गर्ने गरेको र योजनाबद्ध रूपमा ठगेको भेटिएको गृह मन्त्रालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

सईले घर जग्गा बेचेको रकम ठगेपछि पीडित महिला अहिले डेरामा बस्न थालेकी छिन् । पीडित भन्छिन्–‘मलाई ठगेर अहिले यस्तो अवस्थामा छाडिदिए, घर बेचेर डेरामा बस्छु ।’

आरोपी मदन तामाङले ती महिलासँग संकटकालमा चिनजान भएको तर, आफूले त्यसरी ठगी नगरेको जिकिर गरे । रातोपाटीसँग कुरा गर्दै उनले भने–‘मलाई अनर्गल आरोप लगाइएको छ, बयान दिँदा दिँदा हैरान भइसकेँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप