हामी अत्यन्त भोकाएका छौंः थोमस टुचेल
सारांश
- इङ्ग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलले अर्जेन्टिनाविरुद्धको विश्वकप सेमिफाइनलअघि आफ्नो टोलीले अझै उत्कृष्ट प्रदर्शन गर्न बाँकी रहेको बताएका छन् ।
- उनले खेलाडीहरू अत्यन्त प्रतिस्पर्धी, भोकाएका र यो खेल खेल्न उत्साहित रहेको बताए ।
- टुचेलले मेस्सीजस्तो खेलाडीको वर्णन गर्न मसँग शब्द नै छैन भन्दै अर्जेन्टिनाको एकता र अनुभवी प्रशिक्षक स्कालोनीको प्रशंसा गरे ।
इङ्ग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलले अर्जेन्टिनाविरुद्धको विश्वकप सेमिफाइनलअघि आफ्नो टोलीले अझै उत्कृष्ट प्रदर्शन गर्न बाँकी रहेको बताएका छन् । उनले इतिहासको दबाब आफूले महसुस नगरेको पनि स्पष्ट पारे ।
इङ्ग्ल्यान्डले सेमिफाइनलमा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्दै सन् १९६६ पछि पहिलो पटक विश्वकपको फाइनलमा पुग्ने लक्ष्य राखेको छ । सन् २०२६ को विश्वकपमा जुड बेलिङ्घम र ह्यारी केनको उत्कृष्ट प्रदर्शनले थ्री लायन्सलाई सेमिफाइनलसम्म पुर्याएको छ । दुवैले हालसम्म छ–छ गोल गरेका छन् ।
विशेष कुरा के छ भने, ३९ वर्षीय लियोनेल मेस्सीले आफ्नो लामो अन्तर्राष्ट्रिय करियरमा पहिलो पटक इङ्ग्ल्यान्डको सामना गर्दैछन्, जबकि यी दुई राष्ट्रबीचको प्रतिस्पर्धा विश्व फुटबलकै सबैभन्दा ऐतिहासिक प्रतिस्पर्धामध्ये एक मानिन्छ ।
मंगलबार एटलान्टामा आयोजित पत्रकार सम्मेलनमा टुहेलले भने, ‘म कुनै दबाब महसुस गरिरहेको छैन । अवश्य पनि तनाव हुनेछ र हामी केही नर्भस हुनेछौं, तर त्यो स्वाभाविक हो, मलाई सबैभन्दा खुसी बनाउने कुरा के हो भने खेलाडीहरू अत्यन्त प्रतिस्पर्धी, भोकाएका र यो खेल खेल्न उत्साहित छन् ।’
‘यी दुई टोलीका जर्सी आफैंमा ऐतिहासिक प्रतीक हुन् । यी टोलीबीच धेरै ऐतिहासिक खेल र अविस्मरणीय क्षणहरू छन् । यी जर्सी र खेलाडीलाई संसारभरका मानिसहरूले तुरुन्तै चिन्छन् ।’
६० वर्षपछि अर्को इतिहास रच्ने अवसर
इङ्ग्ल्यान्डले आफ्नै भूमिमा सन् १९६६ मा विश्वकप जितेपछि कुनै पनि ठूलो अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । इङ्ग्ल्यान्ड र अर्जेन्टिना विश्वकपमा यसअघि पाँच पटक आमनेसामने भएका छन् । सबैभन्दा चर्चित खेल सन् १९८६ को क्वार्टरफाइनल थियो, जहाँ डिएगो म्याराडोनाले विवादास्पद ‘ह्यान्ड अफ गड’ गोलसहित दुई गोल गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाएका थिए ।
त्यसको १२ वर्षपछि, सन् १९९८ को विश्वकपमा डेभिड बेकह्याम रातो कार्ड पाएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ अर्जेन्टिनाले जित निकालेको थियो । टुचेलले भने, ‘यी दुई देशका खेलाडीलाई पनि यो खेलको महत्व राम्रोसँग थाहा छ । जब कुनै प्रतिस्पर्धाले यति धेरै ऐतिहासिक क्षण जन्माएको हुन्छ, त्यसलाई सामान्य फुटबल खेल भन्न सकिँदैन ।’
‘तर प्रशिक्षकका रूपमा हाम्रो ध्यान भने हामीले नियन्त्रण गर्न सक्ने कुरामै केन्द्रित हुन्छ ।’
प्रतिद्वन्द्वीलाई प्रेरणाको माध्यम बनाउँदिनँ
जर्मन प्रशिक्षक टुचेलले अर्जेन्टिनासँगको ऐतिहासिक प्रतिद्वन्द्वितालाई आफ्ना खेलाडीलाई अतिरिक्त प्रेरणा दिने माध्यम नबनाउने बताए । उनले भने, ‘हामी किन यहाँ छौं भन्ने कुरा हामीलाई थाहा छ । हामी के चाहन्छौं भन्ने पनि स्पष्ट छ । हामीले कहिल्यै आफ्ना लक्ष्यबारे लाज मानेका छैनौं, न त त्यसको सपना देख्न नै छाडेका छौँ, ‘हामी सेमिफाइनलमा छौं र अत्यन्त भोकाएका छौं ।’
टुचेलले खेलअघिको अन्तिम प्रशिक्षणमा सम्पूर्ण खेलाडी सहभागी भएको जानकारी पनि दिए । बिरामी रहेका डेक्लान राइस पूर्ण रूपमा फिट भइसकेका छन् र खेल्न तयार छन् । तर अन्तिम १६ मा मेक्सिकोविरुद्ध रातो कार्ड पाएका जारेल क्वान्साह भने निलम्बनका कारण खेल्ने छैनन् ।
‘मेस्सीको बयान गर्न शब्द नै छैन’
टुचेलले आठ गोलसहित गोल्डेन बुटको दौडमा दोस्रो स्थानमा रहेका लियोनेल मेस्सीको खुलेर प्रशंसा गरे । उनले भने, ‘मेस्सीजस्तो खेलाडीको वर्णन गर्न मसँग शब्द नै छैन ।’
उनका अनुसार अर्जेन्टिना लामो समयदेखि एउटै मुख्य समूहका खेलाडीहरूसँग खेल्दै आएकाले टोलीबीच उत्कृष्ट तालमेल छ । ‘उनीहरूको एकता स्पष्ट देखिन्छ । प्रतियोगितामा कसरी खेल्ने भन्ने अनुभव उनीहरूसँग प्रशस्त छ ।’
स्कालोनीबारे बोल्दै उनले थपे, ‘उनीहरूसँग लामो समयदेखि सँगै खेल्दै आएको मुख्य समूह छ र अत्यन्त अनुभवी तथा उत्कृष्ट प्रशिक्षक लियोनेल स्कालोनी छन्, हामीलाई थाहा छ, हाम्रो अगाडि कति ठुलो चुनौती छ । तर हामी त्यसका लागि पूर्ण रूपमा तयार छौं ।’
‘हामीले अझै उत्कृष्ट प्रदर्शन गरेका छैनौं’
अर्जेन्टिनाले सेमिफाइनलसम्म पुग्न निकै संघर्ष गर्नुपरेको भए पनि इङ्ग्ल्यान्डको यात्रा पनि सहज थिएन । थ्री लायन्सले डेमोक्रेटिक रिपब्लिक अफ कंगो, मेक्सिको र नर्वेविरुद्ध कठिन खेल खेल्दै अन्तिम चारमा स्थान बनाएको थियो ।
टुचेलले भने, ‘मुख्य प्रशिक्षकका रूपमा यो मेरो पहिलो विश्वकप हो । कुनै पनि टोलीले सुरुदेखि अन्त्यसम्म सहज रूपमा प्रतियोगिता पार गर्छ भन्ने निकै दुर्लभ हुन्छ, हामी अर्जेन्टिनाको उत्कृष्ट संस्करणको सामना गर्ने तयारी गरिरहेका छौं । त्यसैगरी हामी आफैंबाट पनि उत्कृष्ट प्रदर्शनको अपेक्षा गर्छौं ।’
‘हामीले अझै आफ्नो उत्कृष्ट प्रदर्शन दिएका छैनौं । तर यो खेलले हामीबाट सबैभन्दा राम्रो प्रदर्शन निकाल्नेछ र हामी त्यसका लागि अत्यन्त उत्साहित छौं ।’
यदि इङ्ग्ल्यान्डले अर्जेन्टिनालाई पराजित गर्यो भने, उसले विश्वकप फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्पेनले पहिलो सेमिफाइनलमा दुई पटकको विश्वविजेता फ्रान्सलाई २–० ले पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान
-
बेलायतमा किशोरका लागि मध्यरातपछि सामाजिक सञ्जालमा कर्फ्यू प्रस्ताव
-
हामी अत्यन्त भोकाएका छौंः थोमस टुचेल
-
लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि माओवादीको २४ बुँदे मागपत्र
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
-
२०१० को स्पेन र २०२६ को स्पेनमा के फरक छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण