शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभुवन विश्वविद्यालयमा स्नातक तह चौथो वर्षका विद्यार्थीहरू किन भइरहेका छन् आन्दोलित ?

आइतबार, २२ माघ २०७९, २१ : ३३
आइतबार, २२ माघ २०७९

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा स्नातक तह चौथो वर्षमा अध्ययनरत देशैभरका विद्यार्थीहरू आन्दोलित बनेका छन् । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले चौथो वर्षको परीक्षा तालिका सार्वजनिक गरेसँगै उनीहरू आन्दोलित बनेका हुन् । 

उनीहरुले परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी समेत गरेका छन् । चौथो वर्षको परीक्षा तालिकालाई पुनरावलोकन गर्न माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन् । 

विद्यार्थीहरुले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् । आन्दोलनको नेतृत्व गर्दै आएका धर्मराज खनालले नीति, नियम र प्रक्रियालाई मिचेर त्रिविले परीक्षा तालिका सार्वजनिक गरेको बताए । 

‘टियुको प्रचलित पद्धति छ । हिजोका दिनहरुबाट जुन अभ्यास हुँदै आएको थियो । नीति, नियम र प्रक्रियालाई मिचेर अप्रत्याशित रुपमा स्नातक तह चौथो वर्षको परीक्षा तालिका सार्वजनिक गरिएको छ । त्यसमा हामीले विरोध गरिरहेका छौं,’ उनले भने । 

परीक्षा नियन्त्रण कार्यालयले फागुन ७ गतेसम्म परीक्षा फाराम भर्ने म्याद राखेको छ । त्यस्तै फागुन १० गतेदेखि परीक्षा मिति तय गरेको छ । जसको विरोधमा त्रिवि केन्द्रीय क्याम्पससहित देशभरका क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आन्दोलन थालेका छन् ।

त्रिविले विगतमा परीक्षा फाराम भर्ने म्याद दिएको एक महिनापछि मात्रै परीक्षा गर्दै आएको थियो । तर, यो पटक ३ दिनपछिबाट परीक्षा गर्ने तालिका सार्वजनिक गरेको हो । जसले गर्दा विद्यार्थीहरू एकदमै आत्तिएका र हतोत्साहित भएको उनको भनाई छ । 

‘आजसम्म कहिल्यै नभएको कुरा यो पटक गरिएको छ । यसले गर्दा विद्यार्थीहरुमा ठूलो मर्का परेको छ । यस्तो किन भयो तुरुन्तै सच्याउनुपर्छ भन्दै आएका छौं,’ उनले भने ।

धेरै जसो क्याम्पसहरुमा कोर्ष समेत नसकिएको र त्रिविले स्ववियु निर्वाचनको घोषणा गरेको अवस्थामा परीक्षा समेत सञ्चालन गर्न खोजेको उनको भनाई छ । 

परीक्षामा समेत कुनै ग्याप नराखेर तालिका सार्वजनिक गरिएको उनको भनाई छ । विगतमा परीक्षामा ग्याप राख्ने गरिएको थियो । तर, अहिले लगातार परीक्षा गर्न खोजेर विद्यार्थीहरूको मनोवल झन् गिराउने काम भइरहेको उनको भनाई छ । 

पनिकाको उक्त कदमविरुद्ध सच्याउन माग गर्दै विद्यार्थीहरुले पनिका, उपकुलपति, रजिष्ट्रार कार्यालय लगायतका सरोकारवाला सबै निकायमा ज्ञापनपत्र बुझाइएको उनको भनाई छ । तर, कहीँ कतैबाट पनि मागबारे सुनुवाइ नभएको उनको भर्ना छ । 

परीक्षा तालिका पुनरावलोकन गर्न गरिएको माग सुनुवाइ नभएपछि विद्यार्थीहरुले पनिकामा तालाबन्दी समेत गरेका छन् । 

नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरुले समेत परीक्षा तालिका पुनरावलोकन गर्न माग गरेका छन् । स्वविय निर्वाचन हुनुभन्दा एक महिना अगाडि परीक्षा नगर्ने त्रिविको प्रचलन छ । त्रिविले त्यसको समेत बेवास्था गरेको देखिन्छ । 

स्ववियु निर्वाचनको नाममा चौथो वर्षका विद्यार्थीहरुलाई सहिद बनाउने कुचेष्ठा भइरहेको खनालले बताए । 

त्रिविका एक निकायले अर्का निकायलाई देखाएर आफूहरू पन्छिने काम गर्दै आएको विद्यार्थीहरूको आरोप छ । ‘पनिकालाई सोध्दा, रजिष्ट्रारलाई सोध्नुहोस् भन्छन् । रजिष्ट्रारलाई सोध्दा भिसीलाई सोध्नुहोस् भन्छन् । भिसीलाई सोध्दा यो त पनिकाको काम हो भन्छन् । एक निकायले अर्को निकायलाई देखाएर पन्छिने काम भइरहेको छ,’ खनालले भने । 

विद्यार्थीहरुले एकातिर समय नदिएर परीक्षा तालिका सार्वजनिक गरिदा आफूहरुले तयारी गर्न नपाउने बताएका छन् । भने अर्कोतिर त्रिविले चैत ५ गतेका लागि तय गरेको स्ववियु निर्वाचनबाट वञ्चित गराउने खेल समेत भइरहेको उनीहरुको आरोप छ । 

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले परीक्षाका सम्बन्धमा उठाएका मागबारे नेविसंघ गम्भीर रहेको बताए । ती मागहरू उचित रहेको समयमै सम्बोधनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए । 

नियमित शैक्षिक सत्रमा नकारात्मक असर नपर्ने गरी स्ववियु निर्वाचनमा सम्पूर्ण विद्यार्थीहरूको मत दिन पाउने अधिकारको सुनिश्चित गर्न समेत माग गरे । 

त्यस्तै अनेरास्ववियूकी अध्यक्ष सुनिता बरालले चैत ५ गते स्ववियु निर्वाचनको मिति सार्वजनिक गरेको बेला परीक्षा तालिका सार्वजनिक गर्नु गलत रहेको बताइन् । चौथो वर्षको परीक्षा र स्ववियु निर्वाचनमा कहीँ कतै क्षति नहुनेगरी व्यवस्था मिलाउन त्रिविलाई आग्रह गरिन् । 

पनिकाले ४ वर्षे स्नातक तह २०७१ सालमा भर्ना भई २०७२ मा प्रथम वर्षको परीक्षा दिएकाहरुलाई समेत अन्तिम पटकको लागि परीक्षामा सहभागी हुने मौका दिएको छ । फागुन १० गतेसम्म परीक्षा आवेदन फाराम भर्ने मिति गरेर पनिकाले सूचना निकालेको थियो । पनिकाले सार्वजनिक गरेको चौथो वर्षको शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फका नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुका लागि फागुन १० गतेदेखि नै परीक्षा मिति तय गरेको छ । फागुन १० गतेदेखि चैत १८ गतेसम्म परीक्षा मिति तय गरेको छ ।

यसअघि स्नातक तह प्रथम वर्षको परीक्षा तालिका फागुनबाट गर्ने भन्दै सूचना सार्वजनिक गरेको थियो । तर, स्ववियु निर्वाचनलाई लक्षित गरेर परीक्षा सारेर चैत १२ गतेदेखि गर्ने भनेर अर्को सूचना जारी गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप