शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ठेक्का लिएको सात वर्षसम्म पनि बनेन भेरी नदीमा पुल

सोमबार, २३ माघ २०७९, १६ : ४२
सोमबार, २३ माघ २०७९

जाजरको । ठेक्का लिएको सात वर्षसम्म पुल निर्माण नहुँदा जाजरकोट नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ स्यालाखदी जोडिन सकेको छैन । 

विसं २०७३ असार ३१ गते मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धारा काठमाडौँले भेरी नदीमा पुल निर्माण गर्ने भन्दै सडक डिभिजन चौरजहारीसँग सम्झौता गरेको थियो । 

पछिल्लो पटक थपिएको म्याद २०७७ पुस ३० गतेभित्र निर्माण हुनुपर्ने भए पनि हालसम्म सकिएको छैन । 

सडक डिभिजन चौरजहारीले २०७९ कात्तिक २९ गते ठेक्का किन नतोड्ने भन्दै अन्तिम पत्र पठाएको डिभिजन प्रमुख आशुतोष कर्णले बताए । 

मौखिक तथा लिखित पटक–पटक ताकेता गर्दा पनि जेभीले सम्झौता अनुसारको काम नगर्दा आफूहरू हैरान भएर अन्तिम पटक पत्र लेखेको प्रमुख कर्णको भनाइ छ । 

तोकिएको समयमा स्पस्टिकरण पेस नभएमा सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ बमोजिम कारबाही गरिने पत्रमा उल्लेख छ । 

यस अवधिमा केही काम भए पनि मजदुरले ज्यालासमेत नपाएको नलगाड नगरपालिका –१० का सुरेन्द्र थापाले बताए । रुकुम पश्चिम आठबीसकोट नगरपालिका– ५ गोतामकोटका करवीर बस्नेतले काम गरेको रकम नपाएको गुनासो गरे । 

गोतामकोटकै गुमलाल विकको नेतृत्वमा काम गरेका मजदुरले  १० लाख नपाएको बताएका छन् । स्थानीय मजदूर जयलाल भण्डारीको नेतृत्वमा काम गरेको मजदुरले रु ६ लाख रकम नपाएको बताए । 

मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धारा काठमाडौँको नामबाट आफूले काम गर्ने भन्दै छेडागाड नगरपालिकाका नगरप्रमुख रत्न खड्का बैंक ग्यारेन्टी समेत राखी काम सुरु गरेका थिए । 

तर सम्झौता मितिभन्दा बढी समय लगाएपछि पेस्की रकम कार्यालयले फिर्ता लिएपछि काम नगर्ने भन्दै प्रमुख खड्काले काम छोडेका थिए । कूल रु नौ करोडमा उक्त पुल निर्माण गर्ने सम्झौता भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप