बागमतीका सांसदहरूको गुनासो : ‘पहुँचवालाको क्षेत्रमा मात्रै बजेट थुपारियो’
मकवानपुर। बागमती प्रदेशका सांसदहरूले बजेट विनियोजन पहुँचको आधारमा भएको बताएका छन् ।
बागमती प्रदेशसभाको बिहीबार बसेको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको मन्त्रालयगत छलफलमा भाग लिँदै सांसदहरूले बजेट विनियोजन सरकारको नीति कार्यक्रम तथा सिद्धान्त र प्राथमिकतालाई समेट्न नसकेको बताए ।
प्रदेशसभाका सांसदहरूले बजेटलाई दिशाहीन र वितरणमुखी भन्दै सरकारको आलोचना गरेका छन् । सरकारले आफ्ना कार्यकर्ता खुसी पार्ने गरी टुक्रे योजनामा बजेट छरेको उनीहरूको आरोप छ । सरकारको उक्त प्रवृत्तिले प्रदेशको समग्र विकासमा कुनै योगदान पुर्याउन नसक्ने उनीहरूको भनाई छ ।
बैठकमा बोल्दै सांसद प्रेमभक्त महर्जनले बजेटमा निश्चित व्यक्ति र सांसदहरू हाबी भएको बताए । बजेट केही निश्चित जिल्ला र पहुँचवाला नेताका निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित देखिएको उनले बताए । उनका अनुसार प्रदेशका १३ वटै जिल्लाका नागरिकले अपनत्व महसुस गर्न सक्ने अवस्था छैन । सरकारले बजेट वितरणको शैलीमा व्यापक सुधार गर्नुपर्ने उनको भनाइ छ । उनले भौतिक पूर्वाधारमा मात्रै लगानी गरेर विकास नहुने तर्क गरे ।
‘बाटो र पुल मात्रै विकास होइनन्, जबसम्म जनताको जीवनस्तर सुध्रिँदैन र उत्पादनसँग बजेट जोडिँदैन तबसम्म हामीले गर्ने लगानी बालुवामा पानी हाले सरह हुनेछ ।’ उनले भने ।
सांसद श्रीराम लामिछानेले कृषि क्षेत्रको उपेक्षा गरिएको बताए । प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने कुरा भाषणमा मात्रै सीमित भएको उनको भनाइ छ । किसानले समयमा मल र बिउ नपाउने तर सरकारले भने अमूर्त योजनामा करोडौँ विनियोजन गर्ने परम्परा अझै नहटेको उनको भनाइ छ ।
‘कृषि अनुदान वास्तविक किसानको हातमा पुग्ने सुनिश्चितता खोइ ? झोले किसानलाई पोस्ने गरी ल्याइएको कार्यक्रमले उत्पादन वृद्धि गर्दैन । त्यसैले प्रत्यक्ष लाभग्राहीसम्म पुग्ने संयन्त्र बनाउन म सरकारलाई आग्रह गर्दछु,’ उनले भने ।
सांसद सरल सहयात्री पौडेलले प्रदेशको स्वास्थ्य क्षेत्रको अवस्था सुधारमा बजेट मौन रहेको बताए । प्रदेश मातहतका अस्पतालहरूमा अझै पनि उपकरण र जनशक्तिको अभाव रहेको र जनता उपचार नपाएर भौँतारिरहेका उनले बताए । सरकारको बजेटले भने ठुला भवन बनाउनमा मात्रै ध्यान दिएको उनले बताए।
‘भवनले उपचार गर्छ कि चिकित्सक र उपकरणले ? स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा वितरणमुखी बजेट ल्याउनु दुर्भाग्यपूर्ण छ । सरकारी अस्पतालहरूको स्तरोन्नति नै आजको प्रमुख आवश्यकता हो ।’ उनले भने ।
सांसद रत्न ढकालले भन्नुभयो, “पर्यटन बागमती प्रदेशको आर्थिक मेरुदण्ड हो तर बजेटले पुराना पर्यटकीय पदमार्गको मर्मत र नयाँ गन्तव्यको पहिचानमा खासै ठोस योजना ल्याउन नसकेको उनले बताए । नागरिकले गौरव गर्ने सांस्कृतिक सम्पदाहरूको संरक्षणमा सरकारको बजेट कनिका छरे जस्तै छरिएको उनले बताए । जसले न त संस्कृति बच्छ न त पर्यटनको प्रवर्द्धन नै हुने उनको भनाइ छ । सरकारले ठुला र रणनीतिक महत्वका योजनामा बजेट केन्द्रित गरिनुपर्ने उनको भनाई छ ।
सांसद उर्मिला लामाले महिला र बालबालिकाको क्षेत्रमा विनियोजित बजेट अपुग भएको बताइन् । सामाजिक समावेशीकरण र महिला सशक्तीकरणका लागि छुट्याइएको बजेट असाध्यै न्यून रहेको र यसले समाजका पछाडि पारिएका वर्गलाई मूल प्रवाहमा ल्याउन नसक्ने उनकाे भनाइ छ।
सीपमूलक तालिम र उद्यमशीलतासँग महिलालाई जोड्न सकिएन भने समृद्धिको सपना अधुरै रहने उनले बताइन् । बजेट केवल खर्च गर्ने माध्यम मात्र नभई परिवर्तनको आधार बन्नुपर्ने उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यकारी प्रमुखमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ
-
पर्सा प्रहरीले पनि हटाउन थाल्यो सवारी साधनको कालो सिसा
-
दयाहाङ र मिरूनाकाे ‘रातो घेरा’ मुहूर्त, अर्को सातादेखि छायाङ्कन
-
बुटवल–नारायणगढ सडकको सर्भिस लेनमा धमाधम कालोपत्रे, तस्बिरहरू
-
नागार्जुन क्षेत्रमा ४६ मिलिमिटर वर्षा, केही ठाउँ जलमग्न
-
नेपाल–चीन लगानी सम्मेलन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण