शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्प आए के गर्ने ?

मङ्गलबार, २४ माघ २०७९, १४ : ०३
मङ्गलबार, २४ माघ २०७९

सोमबार टर्की र सिरियामा आएको ७.८ म्याग्निच्युडको भूकम्प यस दशककै सबैभन्दा घातक भूकम्प थियो । यस भूकम्पका कारण दुवै देशमा चार हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

टर्की यस्तो देश हो, जहाँ भूकम्पको खतरा सधैँ रहन्छ । टर्कीमा सन् १९३९ देखि १९९९ सम्म पाँच वटा ठुला भूकम्प गएका छन् ।

सन् १९०० यता टर्कीमा ७६ वटा भूकम्प गएका छन् जसमा ९० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । यीमध्ये आधा मृत्यु त सन् १९३९ देखि १९९९ को बीचमा भएको थियो ।

२०२१ मा हाइटीमा गएको भूकम्प पनि पछिल्लो दुई दशकमा विश्वमा आएका अन्य गम्भीर भूकम्पहरूमा परेको छ । यस भूकम्पमा २२ सयभन्दा बढीले ज्यान गुमाएका थिए ।

यस्तै, सन् २०१५ मा नेपालमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो जसमा ९,००० भन्दा बढीको मृत्यु भएको थियो ।

सन् २०१८ मा, इन्डोनेसियामा आएको भूकम्पमा ४,३०० भन्दा बढीको मृत्यु भएको थियो । सन् २०१८ मा  आएको अर्को भूकम्पले ४०० भन्दा बढी मानिसको ज्यान लिएको थियो ।

भूकम्पको भविष्यवाणी

भूकम्प कहाँ आउँछ भन्ने थाहा पाउन सम्भव भए पनि भूकम्प कहिले आउँछ भन्ने अनुमान गर्न भने अझै गाह्रो भएको वैज्ञानिकहरू बताउँछन् ।

यस्तो अवस्थामा के भूकम्पको सही भविष्यवाणी गर्न सकिन्छ ?

इम्पेरियल कलेज लन्डनका भूकम्पविद् डाक्टर स्टीफन हिक्सले यस प्रश्नको जवाफ अफसोससका साथ ‘सकिँदैन’ भनेर दिन्छन् ।

डा. हिक्स भन्छन्, ‘हामीले के गर्न सक्छौँ भने हामी भूकम्पको भविष्यवाणी गर्न सक्छौँ । हामी आशङ्का गर्न सक्छौँ । अमेरिकाको क्यालिफोर्निया वा जापान जस्ता ठाउँमा भूकम्पको पूर्वानुमान गर्ने काम अहिले बढिरहेको छ ।’

त्यसो भए तपाईँ सुरक्षित रहन के गर्न सक्नुहुन्छ र तपाईँले के गर्नु हुँदैन त ?

earthquake1सधैँ तयार रहनुहोस्

भूकम्प कहिले आउँछ भनेर अनुमान लगाउन त सजिलो छैन । तर विशेषज्ञहरू भन्छन् कि तपाईँ सधैँ तयार हुनुपर्छ । यसको मतलब यो हो कि तपाईँसँग सधैँ भूकम्पको सामना गर्ने योजना हुनुपर्छ ।

डाक्टर स्टीफन हिक्स भन्छन्, ‘यदि तपाईँ भूकम्प गइरहने क्षेत्रमा बस्नुहुन्छ भने, कुनै पनि आपतकालिन अवस्थामा आफ्नो घरमा सधैँ झोला तयार हुनुपर्छ ।’

उनी भन्छन् कि यो झोलामा पानी, टर्च, प्राथमिक उपचार किट र केही खाद्यान्न समावेश हुनुपर्छ । रेडक्रसका अनुसार मानिसहरूले यस किटमा केही नगद र औषधि रेकर्ड जस्ता महत्त्वपूर्ण कागजातहरूको प्रतिलिपि पनि बोक्नुपर्छ । तपाईँ बसेको भवन सुरक्षित छ भने तपाईँ त्यहाँ नै बस्नुहोस् ।

अमेरिकी सरकारको वैज्ञानिक संस्था युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार तपाईँ भूकम्पको समयमा जहाँ हुनुहुन्छ त्यहीँ बस्नुभयो भने घाइते हुने सम्भावना कम हुन्छ । त्यसैले भूकम्प जाँदा एक कोठाबाट अर्को कोठामा दौडनु हुँदैन भनी भूगर्भ सर्वेक्षणले सुझाव दिएको छ ।

जानकार भन्छन् कि आफूलाई सुरक्षित राख्ने सूत्र भनेको – भुईँमा सुत्नुहोस्, आफूलाई ढाक्नुहोस् र बेस्सरी समात्नुहोस् ।’

आफूलाई लुकाउने अरू कुनै ठाउँ छैन भने तपाईँ कुनै मेच वा डेस्कको मुनी हुनुहुन्छ भने तपाईँले त्यसलाई त्यति बेलासम्म समात्नुहोस् जबसम्म झट्का आइरहन्छ । भूकम्प आएपछि बच्ने उपाय भनेको ढोका नजिकै उभिनु पनि हो । तर, विज्ञहरू भन्छन् कि यदि तपाईँ पुरानो घरमा बस्नुहुन्छ भने, सबैभन्दा राम्रो तरिका टेबुलमुनि लुक्नु हो ।

भूकम्पका कारण घरका झ्याल र बालकनी प्रायः पहिले खस्छन् । यस्तो अवस्थामा तपाईँलाई यी खतरनाक ठाउँहरूबाट टाढै रहन सल्लाह दिइन्छ ।

सबैभन्दा सुरक्षित लाग्यो भने मात्रै बाहिर निस्कनुहोस्

जब पृथ्वी हल्लिन बन्द हुन्छ तब भत्किने खतरामा रहेको भवनबाट बाहिर निस्कनु सबैभन्दा सुरक्षित हुन्छ ।

यी सबै कुराहरू भूकम्पको समयमा भवन भित्र हुँदाका लागि हुन् ।

तर, भूकम्पको बेला बाहिर हुँदा के गर्ने ?

विज्ञहरू भन्छन्, ‘तपाईँ जहाँ हुनुहुन्छ त्यहीँ बस्नुहोस् । किनभने भवन, बिजुली र फोन–केबलका तारका खम्बा, ढलको मेनहोल, तेल र ग्यासका पाइपलाइनहरूबाट टाढा जान खाेज्दा तपाईँलाई चोटपटक लाग्न सक्छ । तपाईँका लागि सबैभन्दा राम्रो यो हो कि तपाईँ एकदम खुल्ला इलाकामा जानुहोस् जहाँ टेलिफोन र बिजुलीका खम्बा छैनन् । कुनै भवन छैनन् ।’

खतराबाट टाढा रहनुहोस्

अर्थक्वेक कन्ट्री एलायन्सका अनुसार अधिकांश मानिस घाइते हुने वा मृत्यु हुनुको घटना, टिभी, बत्ती, सिसा वा किताबको दराज खसेका कारण हुने गर्छ । त्यस्ता चीजहरूबाट चोट लाग्नबाट जोगिने एउटा उपाय भनेको आफ्नो भारी फर्निचरलाई लचिलो तारले भित्तामा बाँध्नु हो ।

भूकम्पपछिको मृत्युको अर्को ठुलो जोखिम फुटेको पाइपबाट ग्यास चुहिनु हो । डाक्टर स्टीफन हिक्सले सन् १९०६ मा अमेरिकाको सान फ्रान्सिस्कोमा गएको भूकम्पलाई उद्धृत गर्दै तीन हजारभन्दा बढी मानिसको ज्यान गएको बताए ।

उनी भन्छन्, ‘त्यस घटनामा ज्यान गुमाएका धेरैजसो भूकम्पका कारण भवन हल्लिएर वा भत्किएर नभई ग्यास पाइपलाइनमा भएको विस्फोटका कारण भएको हो ।’

डा. हिक्सले मानिसहरूलाई कुनै पनि ज्वलनशील पदार्थबाट दूरी राख्न सल्लाह दिन्छन् । डा. हिक्सले भूकम्प पूर्व तयारी अभ्यासको महत्त्वलाई पनि जोड दिन्छन् ।

उनी भन्छन्, ‘धेरै देशमा भूकम्प आएमा के गर्ने भनेर सिकाउन नियमित रिहर्सल गरिन्छ र त्यसमा प्रत्येक व्यक्ति सहभागी हुनुपर्छ । तर, भूकम्प गएको टर्कीको क्षेत्रमा सायद यस्तो केही भएको थिएन । किनभने टर्कीको यस क्षेत्रमा लामो समयसम्म भूकम्प आएको थिएन ।’

बीबीसी


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप