बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रवि लामिछानेको पार्टी सरकारबाट बाहिरिनु जसपाका लागि हर्ष न विस्मात !

मङ्गलबार, २४ माघ २०७९, २१ : ५५
मङ्गलबार, २४ माघ २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारमा समावेश हुने सम्भावना बढेको छ । त्यसका लागि प्रधानमन्त्री प्रचण्डले जसपाका नेताहरुसँग औपचारिक छलफल पनि सुरु गरिसकेका छन् । यसअघि जसपाका लागि छुट्याइएको मन्त्रालयमा सो पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मन परेको थिएन । 

जसपाले विकासे मन्त्रालयका लागि सरकारसँग छलफल गर्दै आइरहेको थियो । उसका लागि वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय छुट्याइएको छ । तर ती मन्त्रालय जसपाले लिन मानेको छैन । उसले उपराष्ट्रपतिसहित यी दुई मन्त्रालय लिने, नभए अन्य विकासे मन्त्रालय चाहिने भन्दै सरकारसँग बार्गेनिङ गरिरहेको थियो । 

स्वतन्त्र पार्टीले छाडेको मन्त्रालयहरु जसपालाई दिएर सरकारमा ल्याउने पहल भइरहेको स्रोतले जनाएको छ । तर सो पार्टीका प्रवक्ता मनिष सुमनले यसका लागि सरकारले ठोस छलफल गर्नुपर्ने बताए । 
‘सरकारसँग छलफल गरेर सम्मानजनक सहभागिता नभएसम्म जसपा सरकारमा जाँदैन,’ सुमनले भने, ‘जसपाले यो मन्त्रालय वा त्यो मन्त्रालय लिने वा नलिने भनेको छैन । तर, आजसम्मको मितिमा सरकारले जसपासँग कुनै छलफल नै गरेको छैन । छलफल गरेपछि न कुन मन्त्रालय लिने नलिने कुरा हुन्छ ।’ 

जसपाको पनि केही माग, मुद्दा छन् । त्यसको बारेमा सरकारले धारणा स्पष्ट गर्नुपर्छ । यदि यो सरकारको एक हिस्सा जसपा हो भने त्यहीअनुसार हैसियत दिनुपर्छ भन्दै उनले सरकारमा जान आफूहरु नहतारिएको दावी गरे । प्रवक्ता सुमनले हाल राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिनुमा जसपाका लागि हर्ष न विस्मातको स्थिति रहेको जिकिर गरे । राष्ट्रपतिको चुनावका कारण सरकारलाई पूर्णता दिन ढिलाई हुनेबारे उनको भनाई इंगित थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संघीयताको विषयमा विभिन्न टीकाटिप्पणी भइरहेको छ तर जसपाले त्यस विषयमा आफ्नो ठोस धारणा बनाएको दावी गर्दै सुमनले स्वतन्त्र पार्टी सरकारमा आउन जति हतार गरेको, त्यति नै हतार सरकारबाट बाहिरिनमा गरेको धारणा राखे ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप