मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

नागरिक उन्मुक्तिले ‘उधारो’ नमान्दा मुख्यमन्त्री रावलको पद धरापमा

मङ्गलबार, २४ माघ २०७९, २१ : ५८
मङ्गलबार, २४ माघ २०७९

धनगढी  । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बुधबार विश्वासको मत लिन गइरहेका छन् । 

तर निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीकै समर्थनमा मुख्यमन्त्री बनेका उनी नागरिक उन्मुक्तिकै विश्वासको मत नपाउने अवस्थामा पुगेका छन् । 

‘रात रहे अग्राख पलाउँछ’ भनेझैँ रातभरमा पनि नागरिक उन्मुक्ति पार्टीलाई विश्वासमा लिन सकेनन् भने मुख्यमन्त्री रावलको कुर्सी धरापमा पर्ने देखिन्छ । र, उनले भोलि नै नैतिक रूपमा राजीनामा दिनुपर्ने बाध्यता छ ।

प्रदेश सरकारका मुख्यान्याधिवक्ता कुलानन्द उपाध्यायले भने, ‘मुख्यमन्त्रीज्यूले बहुमत सदस्यको विश्वासको मत पाउन सक्नुभएन भने भोलि नै नैतिक रूपमा भोलि नै राजीनामा दिनुपर्ने अवस्था आउन सक्छ । तर दिनु हुन्छ, कि दिनु हुन्न उहाँमा भर पर्छ । यदि दिनुभयो भने, पर्सि (बिहीबार) प्रदेश सभाको ठूलो दलले सरकार बनाउन अघि सर्छ ।’

रावल पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संवैधानिक व्यवस्था अनुसार उनी १ महिनाभित्रै अर्थात माघ २६ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने बाध्यता छ । तर उनी बहुमत सदस्यको विश्वासको मत लिने परिस्थिति अझै बन्न नसकेको हो । 

मंगलबार नागरिक उन्मुक्ति पार्टीका यहाँका ७ प्रदेश सभा सदस्यसहित डिल्लीबजार कारागारमै बसेको बैठकले उधारो आश्वासनको भरमा विश्वासको मत नदिने निष्कर्ष निकालेको छ । सो पार्टीको अडानपछि मुख्यमन्त्री रावलको पद धरापमा परेको हो । अर्थात बुधबारसम्मा पनि उनलाई मनाउन नसकेको खण्डमा रावलले विश्वासको मत पाउँदैनन् ।

यसैबीच प्रदेश सभाको बुधबार १ बजे तोकिएको बैठकलाई एक दिन पछाडि अर्थात माघ २६ गतेका लागि सार्नेसम्मको छलफल दलहरुबीच नभएको होइन । तर एक दिनको अगाडि वा पछाडिको बैठकमा तात्त्विक अन्तर नरहने भन्दै भोलिकै बैठकमा विश्वासको मत लिने बताइएको छ ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका विना विभागीय मन्त्री खगराज भट्टले मुख्य कुरो राजनीतिक इमानदारिता र मुद्दा रहेकोले एक दिन अगाडि वा पछाडि विश्वासको मत लिनुमा तात्त्विक अन्तर नहुने बताए ।

तर नागरिक उन्मुक्तिले विश्वासको मत दिनेमा आफूहरू ढुक्क रहेको उनको भनाइ छ । सुरुदेखि मुख्यमन्त्री, सभामुख, उपसभामुखको निर्वाचनमा नागरिक उन्मुक्तिले अपनाएको रणनीति अनुसार पनि अन्तिममा आएर विश्वासको मत दिने विश्लेषण समेत गरिएको छ ।

५३ जना प्रदेश सभा सदस्य रहेको यहाँ बहुमतको सरकारको लागि २७ जना प्रदेश सभा सदस्य आवश्यक पर्दछ । यहाँ सबैभन्दा ठूलो दल नेपाली कांग्रेस १९ प्रदेश सभा सदस्यसहित प्रतिपक्षमा छ । 

नेकपा एमालेका मुख्यमन्त्री रावलले नेकपा एमालेका १०, माओवादी केन्द्रको ११, नागरिक उन्मुक्तिको ७, राप्रपाको १ जनाको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । अहिलेसम्म उनलाई आफ्नो दल एमालेसहित माओवादी र राप्रपाको साथ छ । तर बहुमत पुग्न नागरिक उन्मुक्तिको मत आवश्यक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप