सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व भएन : अध्यक्ष गोल्छा

बुधबार, २५ माघ २०७९, १३ : १३
बुधबार, २५ माघ २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा समस्या आएको दाबी गरेका छन् । मंगलबार महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्रलाई ड्राइभ गर्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा चुनौतिहरु देखिएको बताएका हुन् । उनले नेतृत्वले अर्थतन्त्रमा आउने खतराको अनुमान पहिल्यै गर्न नसक्दा अर्थतन्त्र दुर्घटनामा परेको उल्लेख गरे ।

उनले अर्थतन्त्रमा धेरै खाले स्पिड ब्रेकरहरु आएको भन्दै भूकम्प, कोभिडलगायतले सबैलाई असर परेको बताए । अध्यक्ष गोल्छाले भूकम्प, कोभिडको बेलामा अर्थतन्त्रको लिमिट भन्दा बढी तिब्र गतिमा अगाडि बढ्न खोज्दा अर्थतन्त्रमा अहिलेको अवस्था भोग्नुपरेको बताए । उनले अर्थतन्त्रलाई ड्राइभ गर्ने अर्थ मन्त्रालय र राष्ट्र बैंकको नेतृत्वले दूरदृष्टिले नहेर्दा अहिलेको अवस्था सिर्जना भएको बताए ।

उनले अर्थतन्त्रमा सबैभन्दा चलाख बैंकर देखिएको उल्लेख गरे । उनले बैंकरहरु अर्थतन्त्रमा समस्या आउनु भन्दा पहिला नै हामफाल्न सफल हुँदा बैंकहरु ठूलो दुर्घटनामा नपरेको दाबी गरे । उनले अर्थतन्त्र ड्राइभ गर्ने अर्थ मन्त्रालय र राष्ट्र बैंकले अर्थतन्त्र दुर्घटनामा पर्नुभन्दा पहिला नै ब्रेक हान्न सफल भएकाले अर्थतन्त्र दुर्घटना पर्नबाट जोगिएको पनि बताए । उनले सीसीडी रेसियोबाट सीडी रेसियो, आयात प्रतिवन्ध, चालु पुँजी कर्जा सम्बन्धी नीतिले अर्थतन्त्र संकटमा पर्नबाट जोगाए पनि अर्थतन्त्र चलायमान हुन नसकेको बताए ।

अध्यक्ष गोल्छाले सरकारले अर्थतन्त्रमा ब्रेक लगाउँदा अर्थतन्त्र बँचे पनि उद्योगी व्यवसायीहरुका हात खुट्टा भाँचिएको बताए । उनले सरकारले उद्योगी व्यवसायीहरुको हातखुट्टामा मलम लगाउन आवश्यक रहेको बताए । उनले सरकारले उद्योगी व्यवसायीहरुको समस्या समाधान गरी अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक रहेको बताए ।

उनले भने, ‘देशको अर्थतन्त्र अर्थ मन्त्रालयले ड्राइभ गरेको छ । अर्थ मन्त्रालयले ड्राइभ गरेको बसमा सरोकारवाला निकायहरु मन्त्रालयले ड्राइभ गरेको बसको गतिमा हिँडिरहेका छौं । तिब्र गतिमा रहेको बसलाई अर्थ मन्त्रालयले ब्रेक लगाएको थियो । त्यहाँ विभिन्न खालका ब्रेकहरु थिए । त्यो पार गर्दै आएका थियौं । तर सबै ब्रेक स्टनल थिए । नेपालमा पहिलो पटक अर्थतन्त्रको इन्जिन बिग्रियो । बजारमा तरलता चरम अभाव भयो । अर्थतन्त्रको हिँड्ने बाटोको लिमिट ४.५ प्रतिशत रहेको छ तर अर्थ मन्त्रालय र राष्ट्र बैंकले अर्थतन्त्रालाई ९ प्रतिशतमा कुदायौँ । त्यो अर्थतन्त्रको बस अर्थमन्त्रालय र राष्ट्र बैंकले कुदाएको हो । कोभिडको समयमा धेरै सहुलियत दिइयो । त्यसमा उद्योगी व्यवसायीहरुले पनि तालि बजायौं । गन्तव्यमा चाँढै पुगिने भयो भनेर रमायौं ।’ 

गोल्छाले भने, ‘श्रीलंका, बंगलादेशमा र पाकिस्तानमा दुर्घटना भएको देखियो र बिस्तारै उकालो लाग्यौं । उकालो लाग्दा ड्राइभ गर्ने अर्थ मन्त्रालय र राष्ट्र बैंकले एक्कासी ब्रेक लगाए । ब्रेक लगाउँदा सरकारले अर्थतन्त्र बच्यो तर उद्योगी व्यवसायीलाई कसले बचाउने ? अहिले व्यापार सन्तुलन र तरलता ठिक अवस्थामा आएको छ । तर पनि उद्योगी व्यवसायीहरु समस्यामा रहेका छन् । उनीहरुलाई नबँचाएसम्म अर्थतन्त्र अगाडि जान सक्दैन । अर्थतन्त्रलाई सरकारले चलायमान बनाउन जरुरी छ । यो यथार्थ हो । समयमा नै अर्थतन्त्रलाई ड्राइभ गर्ने चालकहरुले दुर्घटनालाई देख्नुपर्ने थियो । त्यहाँ राम्रो र नराम्रो चालकमा भरपर्छ । राम्रो चालकले खतरालाई टाढाबाट नै देख्नसक्छ । सही समयमा दुर्घटना रोक्न तिब्रतालाई कम गर्छ । तर नराम्रो ड्राइभरले खतरा देखेपछि मात्रै ब्रेक हान्ने हो । हाम्रो अर्थतन्त्रमा त्यही भयो एक्कासी ब्रेक लाग्यो ।’ 

उनले भने, ‘यहाँ राम्रो ड्राइभर भएर दुर्घटना हुने थिएन । बे्रक लगाउनुभन्दा पहिला उद्योगी व्यवसायीहरुलाई सचेत गर्न सक्नुपर्ने थियो । सरकार र राष्ट्र बैंक भन्दा चलाख बैंकहरु भए । सहचालक चलाख थियो, उ दुर्घटना हुन्छ भनेपछि हाम फालिहाल्यो । अगाडि ब्रेक हान्न भ्याइहालियो र मात्र । नत्र अर्थतन्त्र दुर्घटनामा पर्ने थियो । अर्थतन्त्रको ड्राइभिङ सिट अर्थ मन्त्रालयको हो ।’

अध्यक्ष गोल्छाले सहकारी र लघुवित्तमा तरलता सहज नहुँदासम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताए । उनले तल्लो तहमा तरलता सहज नहुँदासम्म बजारमा माग नबढ्ने र माग नबढ्दासम्म बजारमा आर्थिक गतिविधि बढ्न नसक्ने दाबी गरे । उनले पछिल्लो समय बजारमा माग कम हुँदै गएकाले माग नबढ्दासम्म आयात बढ्न नसक्ने उल्लेख गरे । अध्यक्ष गोल्छाले आयात नबढेको अवस्थामा सरकारले लक्ष्यअनुसार राजश्व संकलन गर्न नसक्ने बताए ।

उनले  सरकारले अर्थतन्त्र जोगाउनेतर्फ मात्रै नलागेर अर्थतन्त्र चलायमान बनाउन तल्लो तहसम्म तरलता सहज हुने वातावरण बनाउन आवश्यक रहेको बताए । उनले क वर्गका वाणिज्य बैंकले मात्रै नभई सहकारी र लघुवित्त संस्थाबाट सहजै कर्जा लिन मिल्ने वातावरण बनाएर अर्थतन्त्र चलायमान बनाउन आवश्यक रहेको बताए । उनले अहिले विदेशी मुद्राको सञ्चितिमा सुधार,शोधानान्तर स्थिति वचत भएको बताए ।

अध्यक्ष गोल्छाले नेपालको जीडीपीभन्दा धेरै ऋण प्रवाह भएपनि वित्तीय क्षेत्रमा जोखिम नरहेको बताए । उनले नेपालको वित्तीय क्षेत्रले अर्थतन्त्रको आकारभन्दा बढी ऋण प्रवाह गरेपनि उत्पादनमुलक क्षेत्रमा लगानी नभएको संकेत गरे । उनले बैंकको धेरै कर्जा व्यापारिक प्रयोजनमा गएको भन्दै ऋण पनि धितोमा आधारित भएकाले जोखिम नभएको बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप