शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विकास सहायता कार्यक्रमका लागि काठमाडौँ महानगरद्वारा ८९ वटा प्रस्ताव छनौट

आउँदो वर्ष बालबालिका, रोजगार र प्रविधि विकासलाई प्राथमिकता दिइने - उपप्रमुख डङ्गोल
बिहीबार, २६ माघ २०७९, ०८ : १२
बिहीबार, २६ माघ २०७९

काठमाडौँ । विकास सहायता कार्यक्रमका लागि काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागमा प्राप्त भएका २ सय ४ वटा प्रस्तावमध्ये ८९ वटा छनौट भएका छन् । बुधबार उपप्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको सामाजिक समितिको बैठकले बजेटको सीमाभित्र परेका, अधिकतम अङ्क प्राप्त गर्ने र कागज तथा प्रमाण पूरा भएका प्रस्ताव छनौट गरेको हो । प्राप्तमध्ये आंशिक कागजपत्र र प्रमाण नपुगेका १०३ वटालाई प्रतीक्षा सूचीमा राखिएको छ भने दोहोरिएकालाई हटाइएको छ ।

१०० अङ्कमा गरिएको मूल्याङ्कनका सूचकमा कार्य अनुभव, जनशक्ति, कार्यक्रम अवधि, प्रस्तावित कार्यक्रममा सहभागी हुने लक्षित वर्ग र सङ्ख्या, भौतिक संरचना, रोजगारी, लागत सहभागितालगायत शीर्षकमा अङ्क प्रदान गरिएको थियो । 

बैठकले सचेतनामूलक कार्यक्रमका लागि २ लाख ५० हजार रुपैयाँ र रोजगारमूलक कार्यक्रमका लागि ५ लाख रुपैयाँ उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको छ । अनुदान प्राप्त गर्नेले सम्झौतापछि ६० प्रतिशत र कार्य सम्पन्न भएको प्रतिवेदन पेस गरेपछि बाँकी ४० प्रतिशत रकम पाउनेछन् । यसमा प्रस्तावकको लागत सहभागिता समेत जोडिनेछ । 

काम गर्ने क्षमता भएका तथा नगद सहभागिता गराउन नसक्नेलाई काममा प्रोत्साहन गर्न सीप तथा श्रम सहभागिता लिन सकिने विषयमाथि बैठकमा छलफल भएको थियो । 

गएको महिना (पुस) २१ गते बसेको समितिको बैठकले प्राप्त प्रस्ताव मूल्याङ्कन गर्न वडा २ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा सूचक निर्धारण तथा छनौट समिति गठन गरेको थियो । समितिको सदस्यमा कार्यपालिका सदस्य महेश नेपाली र ललिता खड्गी रहेका थिए । वित्त विभागका प्रतिनिधिसहितको समितिमा सामाजिक विकास विभाग प्रमुख गोपालप्रसाद पोखरेल सदस्य सचिव रहेका थिए । 

समितिले संस्था दर्ता र नवीकरण, लेखा परीक्षण प्रतिवेदन, कर चुक्ता प्रमाण पत्र, सूची दर्तालगायतका प्रमाण तथा कागजातलाई न्यूनतम सर्तका रूपमा राखेको थियो । बेरुजु भएका र पेश्की फस्र्यौट नभएका सङ्घसंस्थालाई प्रारम्भिक छनौटबाट अगाडि नबढाउने गरी सूचक तयार पारिएको थियो । 

यति धेरै प्रस्ताव प्राप्त हुँदा पनि बालबालिका सम्बन्धी प्रस्ताव आएनन् । यसले महानगरको आवश्यकता समेट्न प्रस्ताव आएनन् भन्न सकिन्छ । छनौटपछि उपप्रमुख डङ्गोलले भनिन्, ‘आउँदा वर्ष माग र आपूर्तिको चक्र जोडिने, बालबालिका सहभागी हुने, रोजगार सिर्जना हुने, प्रविधिको विकास र विस्तारमा सहयोग पुग्नेजस्ता महानगरको आवश्यकतासँग जोडिएका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्छ ।’

सामाजिक क्षेत्रमा गरिएको लगानीबाट सामाजिक व्यवस्थापनमा परिवर्तन देखिनु पर्छ । सामाजिक समितिका संयोजक एवं वडा १० का अध्यक्ष रामकुमार केसीले, उद्यमशीलता र रोजगारीका कार्यक्रम महानगरलाई चाहिएको बताए । वडा २ का अध्यक्ष श्रेष्ठले, महानगरले उपलब्ध गराएका सीपमूलक तालिमबाट के नतिजा प्राप्त भयो ?मूल्याङ्कन गरिनुपर्ने बताए । कार्यपालिका सदस्य नेपालीले, गुणात्मक नतिजा मापन गर्न सकिने कार्यक्रम प्रवर्धनमा जोड दिए । 

महानगरपालिका कार्य क्षेत्र भएका गैर सरकारी सङ्घ संस्थाले गर्ने क्षेत्रगत कामलाई संस्थागत र व्यवस्थित बनाउन महानगरपालिकाले गएको मङ्सिर १ गते सार्वजनिक सूचनामार्फत प्रस्ताव आव्हान गरेको थियो । अर्थ मन्त्रालयको खर्च मापदण्ड र महानगरपालिकाको स्वीकृत खर्च शीर्षकबाट काम गर्नका लागि प्रस्तावक गैर सरकारी सङ्घ संस्थाहरूको समेत लागत सहभागिता रहने गरी कार्यक्रम सञ्चालन गर्न ४ करोड ४५ लाख रुपैयाँका विकास सहायता कार्यक्रम प्रस्ताव माग गरिएको थियो । समितिका सदस्य सचिव एवं सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेलका अनुसार १० वटा क्षेत्रगत कार्यक्रममध्ये सबैभन्दा धेरै विभिन्न सङ्घ संस्था, फाउन्डेसन, प्रतिष्ठान, एकेडेमीलाई कार्यक्रम सहयोग क्षेत्रमा ६४ वटा प्रस्ताव परेका थिए । १ करोड रुपैयाँ विनियोजित कार्यक्रमका लागि ३७ वटा प्रस्ताव छनौट गरिएको छ भने २७ वटा प्रस्तावलाई प्रतीक्षा सूचीमा राखिएको छ ।

‘नमुना छात्रा सांसद कार्यक्रम’का लागि एउटै मात्र संस्थाको प्रस्ताव परेको थियो । यो छनौट भएको छ । यो कार्यक्रमका लागि १० लाख रुपैयाँ विनियोजित छ । 

१ करोड रुपैयाँ विनियोजन भएको ‘खेलकुदसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाहरूलाई कार्यक्रम सहयोग’मा २७ वटा प्रस्ताव आएका छन् । जसमध्ये १२ वटा छनौट भएका छन् । १५ वटा प्रतीक्षा सूचीमा छन् । 

‘लागू औषध, मानव बेचबिखन, ओसारपसार नियन्त्रण, लैङ्गिकहिँसा विरुद्धको अभियानलगायत सचेतना मूलक कार्यक्रम’का लागि २५ लाख रुपैयाँ विनियोजित छ । यस क्षेत्रका लागि ६१ वटा प्रस्ताव पेस भएका थिए । जसमध्ये १४ वटा छनौट भएका छन् । ४७ वटा प्रतीक्षा सूचीमा छन् । २० लाख रुपैयाँ विनियोजित ‘अपाङ्गताको क्षेत्रमा कार्य गर्ने संस्थाहरूसँग सहकार्य’ कार्यक्रममा १३ वटा प्रस्ताव परेका थिए । यीमध्ये ९ वटा छनौट भएका छन् । ४ वटा प्रतीक्षा सूचीमा छन् । 

‘विभिन्न स्रष्टाहरूको नाममा स्थापना भएका प्रतिष्ठानलाई अक्षयकोष अनुदान’ शीर्षकमा २० लाख रुपैयाँ विनियोजित छ । यस क्षेत्रका लागि ३ वटा प्रस्ताव पेस भएका छन् । यस्तै ‘अटिजम, डाउन सिनड्रोम, सेरेब्रलपाल्सी र मस्तिष्क पक्षाघात भएका बालबालिका लक्षित कार्यक्रमका लागि विभिन्न सङ्घ संस्थाहरूलाई सहयोग’ कार्यक्रमका लागि ७ वटा सङ्घ संस्थाको प्रस्ताव परेको थियो । यस शीर्षकमा ६० लाख रुपैयाँ विनियोजित छ । 

यी २ वटा कार्यक्रमका लागि स्थलगत अवलोकन भ्रमण पछि निर्णय लिने समितिको बैठकले निर्णय गरेको छ । 

२० लाख रुपैयाँ विनियोजित ‘अपाङ्ग लक्षित खेलकुद कार्यक्रम’कालागि ४ वटा प्रस्ताव पेस भएका थिए । यीमध्ये २ वटा छनौट भएका छन् । २ वटा प्रतीक्षा सूचीमा छन् । ‘दलित लक्षित कार्यक्रम सञ्चालन एवं सहयोग कार्यक्रम’मा ८ वटा प्रस्ताव पेस भएका थिए। ५० लाख रुपैयाँ बजेट विनियोजन भएको यस शीर्षकमा ६ वटा छनौट भएका छन् । २ वटा प्रतीक्षा सूचीमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप