बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थतन्त्र सुधारका लागि ठोस र परिणाममुखी काम गर्न परिसंघको माग

बिहीबार, २६ माघ २०७९, १० : ४०
बिहीबार, २६ माघ २०७९

काठमाडौँ । नेपाल उद्योग परिसंघले राष्ट्रिय योजना आयोगलाई अर्थतन्त्र सुधारका लागि ठोस र परिणाममुखी काम गर्न आग्रह गरेको छ । आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग भेटी परिसंघका पदाधिकारीहरूले यस्तो आग्रह गरेका हुन् । 

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्व गएको पदाधिकारीले नव नियुक्त उपाध्यक्ष श्रेष्ठलाई शुभकामना दिँदै वर्तमान अर्थतन्त्रका चुनौती, समाधानका उपाय, साना तथा मझौला उद्योग एवं निर्माण उद्योगहरूको समस्याको विषयमा छलफल गरेको छ । 

अध्यक्ष अग्रवालले चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्र सुधारका लागि थप प्रभावकारी कदमहरू चालिनुपर्ने बताए । क्षेत्रगत रूपमा २० देखि ८० प्रतिशतसम्म मागमा सङ्कुचन आएको र त्यसले उद्योग तथा निर्माण क्षेत्रमा समेत ठुलो धक्का पुगेको उनले बताए । 

विकास निर्माणका परियोजनाहरू समयमै र तोकिएकै लागतमा सम्पन्न गराउनुपर्नेमा जोड दिँदै उनले त्यसका लागि ‘लो विडिङ’ मा परियोजना दिने परिपाटीमा सुधार ल्याउनुपर्ने बताए । 

यसैगरी विद्युत् खरिद सम्झौता (पीपीए) खुला गर्न, शक्तिखोर तथा मयूरधापलगायत सञ्चालनमा नआएका औद्योगिक क्षेत्र भारतको रुद्रपुर औद्योगिक क्षेत्रको मोडलमा निर्माण तथा संचालन गर्न निजी क्षेत्रलाई अनुमती दिन पनि उनले आग्रह गरे।

परिसंघले चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबुटिङ नेप्लिज इकोनोमी’ अवधारणा समेत उपाध्यक्ष श्रेष्ठसमक्ष पेस गरेको छ । 

परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता सङ्कट तथा उच्च ब्याजदर), औद्योगिक प्रवर्द्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ।

योजना आयोगका उपाध्यक्ष श्रेष्ठले अर्थतन्त्रलाई कसरी सुधार गर्न सकिन्छ भन्नेतर्फ नै सरकार केन्द्रित रहेको बताए । उनले आन्तरिक उत्पादन तथा रोजगारी बढाउन आवश्यक ठाउँमा ‘इन्टरभेन्सन’गर्ने बताएका छन् । अर्थतन्त्रमा सुधार ल्याउन राजश्व चुहावट नियन्त्रण र औपचारिक माध्यमबाट बढी रेमिटेन्स भित्र्याउनुपर्ने आवश्यकता देखिएको उनले बताए । अर्थतन्त्र सुधारका लागि ठोस र परिणाममुखी काम गर्दै निजी क्षेत्रलाई नै अर्थतन्त्रको मेरुदण्डका रूपमा अगाडि बढाउनुपर्नेमा समेत उनले जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप