मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

चितवन–२ मा रवि लामिछानेले थाले तयारी, अरु को-को छ उम्मेदवार बन्ने दौडमा ?

सोमबार, ०१ फागुन २०७९, २२ : ४८
सोमबार, ०१ फागुन २०७९

चितवन । चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने भएपछि यसअघि प्रतिस्पर्धामा रहेकाले पुनः उम्मेदवार हुने चाहना व्यक्त गरेका छन् । मुख्य तीन राजनीतिक दलका पुरानै उम्मेदवारले प्रतिस्पर्धा गर्ने चाहना व्यक्त गरेका हुन् ।

सो क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकताका विषयमा सर्वाेच्च अदालतले सांसद पद नरहने गरी निर्णय गरेपछि उपनिर्वाचन हुन लागेको हो । लामिछाने ४९ हजार तीन सय मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार नौ सय ८८ मत प्राप्त गरेका थिए । उनलाई नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धनको समर्थन थियो ।
 
यसैगरी नेकपा (एमाले) का कृष्णभक्त पोखरेलले १४ हजार छ सय ५२ मत प्राप्त गरेका थिए । अन्य उम्मेदवारको मत एक हजारभन्दा कम थियो । सो क्षेत्रमा ८० हजार सात सय ५३ मत सदर भएको थियो । यसअघि निर्वाचित लामिछानेले पुनःआफ्नो उम्मेदवारी रहने बताउँदै आएका छन् । उनी निकट पत्रकार प्रकाश सिग्देलले भने, “पार्टीका सभापति रवि लामिछाने नै यस क्षेत्रको अबको उम्मेदवार हो ।” त्यसका लागि रविले तयारी थालिसकेका छन् ।
 
आफू दोस्रो भएको भन्दै सांसद बनाउन निर्वाचन आयोग पुगेका श्रेष्ठले अबको उम्मेदवार पार्टीबाट आफू हुनुपर्ने बताए । उनले टेलिफोनमा भने, “म यसअघिको घाइते हो, अब म उम्मेदवार भएर जित्छु ।” यसअघिको निर्वाचनमा आफ्नै पार्टीबाट सहयोग नभएको उनको गुनासो थियो । 

नेकपा (एमाले) का तर्फबाट उम्मेदवार भएका पोखरेलले पनि पुनः उम्मेदवार बन्ने चाहना व्यक्त गरे । उनले भने, “पार्टीमा आफ्नो चाहना व्यक्त गर्नेछु ।” दुई पटक सोही क्षेत्रबाट निर्वाचित भएकाले अरुलाई भन्दा आफूलाई सहज भएको उनको तर्क छ । श्रेष्ठ र पोखरेललाई आफ्नो पार्टी र गठबन्धनका मतदाताले मत नदिएपछि अपेक्षा गरिएअनुसार मत नपाएको भन्दै पार्टीभित्र बहस हुँदै आएको छ ।

 सो क्षेत्रमा नेपाली कांग्रेसबाट अन्य उम्मेदवारहरूले पनि चाहना व्यक्त गरेका छन् । नेपाली कांग्रेस चितवनका पूर्वसभापति जीतनारायण श्रेष्ठ र वर्तमान सभापति राजेश्वर खनालले पनि दाबी प्रस्तुत गरेका छन् । यो क्षेत्र भरतपुर महानगरपालिकाका १० वटा वडा, इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाका पूरै भाग पर्दछ । यसक्षेत्रमा एक लाख २४ हजार दुई सय १४ मतदाता रहेका थिए । पछिल्लो समय निर्वाचन कार्यालयले पुनः मतदाता नामावली सङ्कलन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप