सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

नेपाली क्रिकेटको भ्यालेन्टाइन्स डे र भ्यालेन्टाइन ब्वाई

मङ्गलबार, ०२ फागुन २०७९, २२ : १७
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौँ । आज फेब्रुअरी १४ अर्थात् प्रेम दिवस । नेपाली क्रिकेटका लागि यो दिन विशेष छ । आजकै दिन नेपाली क्रिकेटले ठुलो सफलता हात पारेको थियो । 

यो दिनले नेपाली क्रिकेट समर्थकलाई पनि एक इतिहासको स्मरण गराउँछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी करण केसीको ४२ रनको अविजित पारी खेलेका थिए । उनको त्यो पारीले नेपाली क्रिकेटले एक दिवसीय मान्यता पाएको थियो । 

प्रेम दिवसको दिनमा नै नेपाली क्रिकेटलाई ठुलो सफलता दिलाएका कारण करण अहिले क्रिकेट समर्थहरूको मनमा भ्यालेन्टाइन्स डे को दिन सम्झिरहने पात्र हुन् । 

सन् २०१८ मा नामिबियामा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ आयोजना भएको थियो । प्रतियोगितामा नेपाल सहित ६ टोलीको सहभागिता थियो । प्रतियोगिताको अन्तिम खेलमा क्यानडामाथि एक विकेटको रोमाञ्चक जित निकाल्दै नेपालले एक दिवसीय मान्यता प्राप्त गर्न सफल भएको थियो । 

लिगमा ४ खेलबाट ६ अङ्क जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा थियो  । नेपालले एक दिवसीय मान्यता पाउन क्यानडासँग जित निकाल्नै पर्ने अवस्था थियो । त्यतिबेला नेपालको जितका नायक बनेका थिए राष्ट्रिय टोलीका अलराउण्डर करण केसी । 

नामिबियाको वन्डरर्स क्रिकेट मैदानमा नेपालले पहिले फिल्डिङ गर्ने रोजेको थियो । पहिले ब्याटिङ गरेको क्यानडाले ओपनर श्रीमन्था विजयरत्नेको शतकीय पारीमा १९४ रनको लक्ष्य दिएको थियो । 

एक दिवसीय मान्यता पाउन नेपाल १९४ रनको लक्ष्य पछ्याउन मैदान छिर्‍यो । तर १४४ रन बनाउँदा नेपालले ९ विकेट गुमाइ सकेको थियो । 

अन्तिम विकेटमा नेपाललाई जितका लागि ५१ रन आवश्यक थियो । नेपालका लागि क्रिजमा करण केसी र सन्दीप लामिछाने थिए । यसअघि सन्दीप र करणले ब्याटिङमा आफ्नो छवि बनाउन सकेका थिएनन् । तर त्यस दिन अन्तिम विकेटका लागि सन्दीप र करणले अर्धशतकीय साझेदारी गरे । 

करणले ३१ बलमा तीन चौका र चार छक्कासहित ४२ रनको अविजित इनिङ्स खेल्दै नेपाललाई एक दिवसीय मान्यताको दिलाए । सन्दीपले १८ बलमा पाँच रन जोड्दै करणलाई साथ दिइरहे ।

अन्तिम ओभरमा करण र सन्दीपले ४९ ओभरको समाप्तिसम्म ४२ रनको साझेदारी गर्दा नेपालको खातामा १८७ रन थियो । अन्तिम ओभरमा जितका लागि नेपाललाई ८ रन चाहिएको थियो । पहिलो बल डट हुँदा नेपाललाई जितका लागि ५ बलमा ८ रन चाहियो । त्यसपछि नेपालको लगातार तीन बल डट खेलेपछि २ बलमा ८ रन जोड्नु पर्ने भयो ।

पाँचौँ बलमा करणले छक्का प्रहार गर्दै नेपाललाई जित नजिक लिए । अन्तिम बलमा २ रन चाहिएको अवस्थामा क्यानडाका बलर परवेजले वाइड फ्याँकेपछि नेपालले जितका लागि एक रन बनाउनुपर्ने भयो । जसमा करणले सहजै रन पूरा गरे र नेपालले अविस्मरणीय जित निकाल्दै एक दिवसीय मान्यता पायो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप