बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

ग्वार्कोमा फ्लाइओभर निर्माण कार्य सुरु भएसँगै सडक ट्राफिक जाम बढ्यो

मङ्गलबार, ०२ फागुन २०७९, १३ : ४३
मङ्गलबार, ०२ फागुन २०७९

ललितपुर । ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण कार्य सुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ । ग्वार्को चोकमा गत शनिवारबाट फ्लाइओभर निर्माण कार्य सुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो । 

फ्लाइओभर निर्माण सम्पन्न नहुन्जेलसम्म बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुई पाङ्ग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चार पाङ्ग्रे सवारीसाधनलाई द्रुत मार्गबाट सञ्चालन गरिए पनि सडक जाम कम हुन सकेको छैन । चक्रपथको विस्तारित खण्ड कोटेश्वरदेखि कलङ्कीसम्म मुख्य जाम हुने तीन ठाउँमा ‘फ्लाइओभर’ निर्माण गर्ने योजनाअनुसार ग्वार्को चोकमा ‘फ्लाइओभर’ निर्माण गर्न लागिएको हो । 

ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ । चक्रपथ बिस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलङ्कीसम्म जाम हुने तीन क्षेत्रमा फ्लाइओभर निर्माण गरिने छ । जसअन्तर्गत ग्वार्को चोकमा पहिलो फ्लाइओभर निर्माण हुन लागेको हो । ६ मिटर उचाइ हुने फ्लाइओभर अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिनेछ । कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइओभरमा सवारी साधन चढ्नका लागि १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ र्‍याम्प निर्माण गरिनेछ । सुरुमा ब्यारेकेडहरू राखेर काम सुरु गरिनेछ । काठमाडौँको धेरै सवारी जाम हुने क्षेत्रमध्ये ग्वार्को पनि एक हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप