सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मन्त्री खानले सार्वजनिक गरे टोल फ्रि नम्बर : ११७१ मा फोन गरेर गुनासो सुनाउन पाइने

बिहीबार, ०४ फागुन २०७९, १५ : ०२
बिहीबार, ०४ फागुन २०७९

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले गुनासो सुनाउने टोल फ्री नम्बर सार्वजनिक गरेका छन् । बिहीबार खानेपानी मन्त्रालयमा गरिएको एक कार्यक्रममा उनले गुनासो सुनुवाइ इकाईको स्थापना गरेको जानकारी गराएका छन् ।  सो अवसरमा बोल्दै मन्त्री खानले मन्त्रालय र सो अन्तर्गत रहेका खानेपानी सम्बद्ध कार्यालयको सेवा प्रवाहको बारेमा तथा खानेपानी समस्याका बारेमा टोल फ्री नम्बर फोन गरेर गुनासो टिपाउन सकिने जानकारी दिए । 

जनताका गुनासो लिन कार्यालय समयमा ४ जना कर्मचारी खटिने र कार्यालय बन्द भएपछि फोन गरेर गुनासो रेकर्ड गराउन सकिने जानकारी दिए ।  मन्त्री खानले जनताबाट आएको गुनासो सम्बोधनका लागि गुनासो अनुसारका कार्यालयले समाधानका लागि ध्यानाकर्षण गर्ने बताए ।  यस्तै उनले सिंहदरबारभित्र अब पूर्ण रूपमा मेलम्ची खानेपानी आयोजनाको पाइप लाइनबाट आएको पानी प्रयोग गर्नुपर्ने बताए । सिंहदरबारभित्र पूर्ण रूपमा बोतल र जारको पानी निषेध गर्न लागेको बताउँदै पानीको पाइप नपुगेको मन्त्रालयमा सिंहदरबारभित्रै जारमा पानी भरेर लैजाने व्यवस्था गर्न लागेको बताए । 

उनले सिंहदरबार आएका बेला प्रधानमन्त्रीले पनि मेलम्चीको पानी पिउनुपर्ने बताउँदै आफूले प्रधानमन्त्रीलाई मेलम्चीको पानी पिलाएर सिंहदरबारभित्र सबैलाई सो पानी प्रयोग गर्न प्रेरित गर्न लागेको बताए ।  यस्तै काठमाडौँका सार्वजनिक स्थल, एयरपोर्ट, बसपार्क लगाएका स्थानमा सेन्सर जडित सार्वजनिक धारा राख्ने योजना अघि सारेको उल्लेख गरे । 
आफू मन्त्री भएपछि पहिलो उद्देश्यका रूपमा सिंहदरबारभित्र जार र बोतलको पानी निषेध गर्ने लक्ष्य राखेकोमा सो पूरा भएको बताउँदै अब सार्वजनिक धारा राख्ने दोस्रो उद्देश्य रहेको बताए । तेस्रो उद्देश्यका रूपमा नेपालभरि नै खानेपानी सर्वसुलभ रूपमा पुर्‍याउने र चौथो उद्देश्यको रूपमा नेपालको पानी खाडी राष्ट्रहरू साउदी अरब, दुबई, कतार देशमा कसरी निर्यात गर्न सकिन्छ त्यसबारेमा काम गर्न लागिपरेको बताए । 

यस्तै मन्त्री खानले दूषित खानेपानीका कारण ८० प्रतिशत रोग लाग्ने भन्दै स्वास्थ्य मन्त्रालयलाई भन्दा खानेपानी मन्त्रालयलाई धेरै बजेट दिन आवश्यक रहेकोमा जोड दिए ।  सो अवसरमा मन्त्रालयका सचिव मणिराम गेलालले टोल फ्री नम्बर सार्वजनिक गर्दैमा जादुको छडी जसरी खानेपानीको सबै समस्या समाधान गर्न नसकिए पनि जनताको गुनासो र सुझाव लिएर मन्त्रालय के गर्दै छ भनेर जानकारी गराउन सहज हुने बताए । उनले हाल देशभर ९५ प्रतिशतमा आधारभूत पानीको पहुँच भए पनि पाइप लाइनबाट २५ देखि ३० प्रतिशतले मात्रै खानेपानी पाउने गरेको उल्लेख गरे । 

कार्यक्रममा मन्त्रालयका प्रवक्ता  शोभाकान्त पौडेलले मन्त्री खानले पद बहाली गर्ने बेला नै गुनासो सुनुवाइ इकाई गठन गर्न चाहेको र त्यसै अनुसार इकाई गठन गरिएको जानकारी दिए ।  तत्कालका लागि सार्वजनिक गरिएको नेपाल टेलिकमको नम्बरमा फोन गरेर मात्रै गुनासो सुनाउन सकिने र पछि ऐनसेल तथा स्मार्ट फोनबाट पनि गुनासो टिपाउन सकिने जानकारी दिए । साथै मन्त्रालयको वेबसाइट मार्फत पनि गुनासो टिपाउने सक्ने जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप