बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटना न्यूनीकरणमा यातायात व्यवसायी जिम्मेवार बन्नुपर्नेमा जोड

बिहीबार, ०४ फागुन २०७९, १९ : ०६
बिहीबार, ०४ फागुन २०७९

रुपन्देही । सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात व्यवसायी तथा मजदुरहरूको मुख्य भूमिका रहने सरोकारवालाहरूले बताएका छन् ।

यातायात मजदुर तथा व्यवसायी भलाई कोष बुटवलको ४५ औं वार्षिक साधारण सभा तथा २३ औं अधिवेशनको उद्घाटन सत्रमा बिहीबार बोल्ने वक्ताहरूले दुर्घटना न्यूनीकरणसँगै यातायात क्षेत्रको व्यवस्थापनमा आपसमा सहकार्य गरी अघि बढ्नुपर्नेमा जोड दिए ।

साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै कोषका पूर्व अध्यक्ष एवं मानार्थ सदस्य कुमार थापा मगरले दुर्घटना न्यूनीकरण र दुर्घटना पछिको व्यवस्थापकीय भूमिकामा भलाई कोषले महत्त्वपूर्ण भूमिका खेलेको बताए । 

‘दुर्घटना न्यूनीकरण र क्षतिपूर्तिको विषय राज्यले अगाडि बढाउनुपर्ने हो, तर राज्यले गर्नुपर्ने काम भलाई कोषले गरेको छ’,थापाले भने । उनले यातायात व्यवसायी तथा मजदुर वर्गले उठाएका जायज मागलाई राज्यले सम्बोधन गर्नुको साटो कानुन विपरीत जरिवाना असुल्ने काम गरेकाले त्यसविरुद्ध काठमाडौंमा आन्दोलन भएको बताए । तर आन्दोलन नियन्त्रणबाहिर जाँदा त्यसले यातायात व्यवसायी र मजदुरलाई नै घाटा पुगेको उनको भनाई छ ।

उनले बढ्दो दुर्घटना कम गर्न जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न पनि यातायात सम्बद्ध संस्थाहरूलाई आग्रह गरे । थुप्रै समस्या र चुनौतीको सामना गर्दै आएको कोषमाथि अहिले पनि थुप्रै चुनौती रहेको भन्दै थापाले चुनौतीको सामना गर्न सिंगो टिम एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिए । उनले चालक होसियार भए दुर्घटना न्यूनीकरणमा ७५ प्रतिशतले कमी आउने दाबी गरे ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कोषका अध्यक्ष दिनेश फुल्लेलले सवारीसाधनको वृद्धिसँगै दुर्घटनामा पनि वृद्धि हुँदै गएको र यसले थप चुनौती सिर्जना गरेको भन्दै चुनौतीलाई अवसरको रूपमा लिएर अघि बढ्ने बताए । उनले राज्यले यातायात क्षेत्रको सिण्डिकेट प्रथा अन्त्य गर्दा त्यसबाट भलाई कोषलाई जोगाएर यहाँसम्म ल्याएको भन्दै यसका लागि सिंगो टिमलाई धन्यवाद दिए । उनले संस्थाको मुख्य आम्दानीको श्रोत सवारीसाधनको शुल्क भएको भन्दै सवारी वृद्धि अभियान, सवारी धनीसँग घरमा, पसलमा, उद्यमी व्यवसायीसँग कलकारखाना, फ्याक्ट्री र फर्ममा भन्ने नाराका साथ अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।

कार्यक्रममा कोषका निवर्तमान अध्यक्ष नारायण भट्टराईले कोभिड १९ का बाबजुद संस्थाले हासिल गरेको सफलताले आगामी दिन झनै सहज हुने विश्वास व्यक्त गरे । कोषका पूर्व अध्यक्ष चीनबहादुर गुरुङले यातायात व्यवसायी र मजदुरको मात्र नभएर यात्रुहरूको सुरक्षामा पनि कोषले महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप