शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
राष्ट्रपति निर्वाचन

माओवादी कांग्रेसतिर ढल्किन खोज्दा ओलीको नजरमा महन्थ र अशोक !

बिहीबार, ०४ फागुन २०७९, १९ : ५५
बिहीबार, ०४ फागुन २०७९

काठमाडौँ । राष्ट्रपति निर्वाचनमा सत्तासीन नेकपा माओवादी केन्द्रको झुकाव कांग्रेसप्रति देखिएपछि नेकपा एमालेले साना दलसँग संवाद बढाएको छ । माओवादीले पुस १० को सहमति कार्यान्वयनमा आनाकानी गरेपछि एमाले अध्यक्ष केपी ओलीले साना दल आन्तरिक छलफल थालेका हुन् ।

पुस १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गर्दा सात दलीय गठबन्धनमा राष्ट्रपति एमालेको भागमा परेको थियो । कांग्रेस पुस २६ गते विश्वासको दिएपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिका जोड दिएको अवस्था छ । कांग्रेस नेताहरुका अनुसार राष्ट्रपतिमा समर्थन गर्ने प्रधानमन्त्री प्रचण्डले बचन दिएका छन् । माओवादी केन्द्रले पार्टीको संस्थागत निर्णयबाट कांग्रेसको पक्षमा उभिने कांग्रेस नेताहरुको दाबी छ ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग समानान्तर वार्ता थालेपछि ओलीले पनि राष्ट्रपतिबारे छुट्टै छलफल अगाडि बढाएका छन् । सत्ता गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी पुस १० को निर्णय कार्यान्वयन हुनुपर्ने अडानमा छन् । तर प्रधानमन्त्री प्रचण्डबाट पुस १० का सहमति कार्यान्वयन हुने संकेत नपाएपछि ओलीले एमाले बाहेकबाट राष्ट्रपतिमा उम्मेदवार पनि खडा गर्न खोजेको देखिन्छ ।

उनले जनता समाजवादीका संघीय परिषद् अध्यक्ष अशोक राई र लोकतान्त्रिक समाजवादी पार्टीका (लोसपा)का अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको प्रस्ताव गरेको स्रोतको दाबी छ । माघ २७ मा ओलीले गाडीमा लिफ्ट दिएर ठाकुरलाई आफ्नो निवास बोलकोट लिएका थिए । ओली र ठाकुरबीच राष्ट्रपतिका  सन्दर्भमा एक घण्टा छलफल भएको थियो । लोसपाका एक नेताका अनुसार ओलीले राष्ट्रपतिका लागि ठाकुरलाई प्रस्ताव गरेका थिए ।

ओलीको भनाइ उद्धत गर्दै लोसपाका एक नेताले भने, ‘मेरो प्रयत्न पुस १० को सहमति कार्यान्वयन गराउने छ । त्यो परिस्थिति बन्छ जस्तो लागेको छैन । राष्ट्रपतिमा तपाई पनि उठ्नुपर्ने हुन सक्छ । के छ मनस्थिति ?’

प्रमुख दलहरुले राष्ट्रपतिमा आवश्यकता महसुस गरे आफू तयार रहेको ओलीलाई ठाकुरको जवाफ थियो । राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारको पक्षमा माओवादीलाई उभाएर चुनावअघिको पाँच दलीय गठबन्धन ब्युँताउने भारतको उद्देश्य राजनीतिक वृत्तमा चर्चा छ ।

भारतीय विदेश सचिव विनय मोहन क्वात्राको नेपाल भ्रमणलाई पनि एमालेले शंकाको दृष्टिले हेरेको देखिन्छ । भारतका विश्वासपात्र ठाकुरलाई राष्ट्रपतिमा प्रस्ताव गरेर ओलीले कांग्रेस–माओवादीलाई अप्ठ्यारो पार्ने नीति लिएको नेताहरू बताउँछन् ।

ओलीको प्रस्तावपछि ठाकुरले पनि राष्ट्रपतिका लागि आन्तरिक गृहकार्य बढाएको पाइएको छ । लोसपाका नेता  डा. सुरेन्द्र झाका अनुसार केही दिनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने तयारी छ ।

कांग्रेस र एमालेले एक अर्काको उम्मेदवार स्वीकार नगर्ने परिस्थिति बनेको भन्दै ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी भइरहेको लोसपा नेता झाले बताए । ‘उहाँ माओवादी, कांग्रेस र एमालेका लागि स्वीकार्य व्यक्ति हो । गणतन्त्र र संघीयतामा प्रधानमन्त्रीजीसँग स्प्रीड मिल्छ भने कांग्रेसमा उहाँले लामो समय राजनीति गर्नु भएको छ,’ नेता झा भन्छन्, ‘ओलीजीलाई विगतमा गुन लगाउन भएको छ । उहाँको नाममा राष्ट्रिय सहमति भन्ने परिस्थिति बन्दै गएको छ ।’

तर कांग्रेस सभापति शेरबहादुर देउवाले ९ माघमा बसेको शीर्ष नेताको बैठकमा राष्ट्रपतिमा नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम अगाडि सारेका थिए । कांग्रेसबाट राष्ट्रपतिमा गोपालमान श्रेष्ठ र मानबहादुर बिकले पनि आकांक्षा राखेको पाइन्छ । तर कांग्रेस वृत्तमा भइरहेको अनौपचारिक छलफलमा पौडेल र सिटौलाको नाममाथि ज्यादा चर्चा भइरहेको छ ।

कांग्रेस प्रवक्ता प्रकाश शरण महतले केही दिनमा केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेर राष्ट्रपतिको उम्मेदवार तय गर्ने बताए । उनले भने, ‘अरुले के गर्नछन् थाहा छैन । कांग्रेसले राष्ट्रपतिमा आफैं उम्मेदवार उठाउँछ ।’ कांग्रेसले राष्ट्रपति पाउने र जित्ने पक्का भइसकेपछि पार्टीमा छलफल भएर एक जनालाई अगाडि बढाउने छ । राष्ट्रपतिमा माओवादी सकारात्मक रहेको पात्र अगाडि सार्ने कांग्रेस नेताहरू बताउँछन् ।

तर ओलीले भने ठाकुरका साथै अहिले एमालेसँग नजिक रहेका जसपाका अध्यक्ष राईलाई पनि राष्ट्रपतिको उम्मेदवार बन्न ग्रीनसिंनल दिएको स्रोतले रातोपाटीलाई बतायो । पूर्व एमाले पृष्ठभूमिका राई गत निर्वाचनमा एमालेको साथमा सुनसरी १ बाट सांसद निर्वाचित भएका थिए । यस्तै राष्ट्रपतिको उम्मेदवारबारे नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबारे पनि राजनीतिक वृत्तमा चर्चा छ । 

माघ ७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले बिजुक्छेसँग भेटवार्ता गरेकी थिइन् । चाँगुनारायण मन्दिर दर्शनपछि राष्ट्रपति भण्डारी भक्तपुरस्थित बिजुक्छेको निवासमै पुगेर भेट गरेकी थिइन् । त्यसपछि राष्ट्रपतिका रूपमा बिजुक्छेको नाम पनि चर्चामा छ । सत्ता दलीय गठबन्धनमा पुस १० मा भएको सहमति कार्यान्वयन गर्न जटिल भएपछि ओलीले एमाले बाहेकको खोजी थालेको कांग्रेस नेताहरू पनि बताउँछन् ।

कांग्रेस नेता एनपी साउदले सत्ता गठबन्धनबीच पुस १० मा भएको सहमति कार्यान्वयन गर्न सकिँदैन भनेर ओलीले बुझिसकेको दाबी गरे । उनले भने, ‘ओलीजी सार्वजनिक रूपमा एमालेले राष्ट्रपति बनाउने सहमति भएको छ भनिराख्नुभएको छ । तर भित्री गृहकार्यमा थुप्रै राष्ट्रपतिका उम्मेदवार खोजी राख्नुभएको छ । साना दलका नेता पनि खोजिराख्नु भएको छ । नागरिक समाजबाट पनि खोजिराख्नु भएको छ ।’

प्रधानमन्त्री प्रचण्ड र ओलीका अभिव्यक्तिले पनि त्यसको संकेत गरेको उनको भनाइ छ । प्रचण्डले राष्ट्रिय सहमतिको अडान नछाडेपछि ओलीले गठबन्धन भत्किन सक्ने संकेत गरेका थिए । एमालेका सचिव लेखराज भट्टले भने सत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार नै राष्ट्रपति चयन हुने बताए । सरकार गठनका बेला भएको सहमति अनुसार नै राष्ट्रपति चयन हुने भट्टको दाबी छ । ‘राष्ट्रपतिका लागि गठबन्धनमा जे सहमति भएको छ त्यहीअनुसार अघि बढ्छ,’ भट्टले भने, ‘पार्टीले सबैलाई मान्य हुनेगरी उपयुक्त उम्मेदवार उठाउँछ । गठबन्धन कायम रहन्छ ।’

राष्ट्रपतिका सन्दर्भमा बिहीबार पनि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा दुई घण्टा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार राष्ट्रपति कसलाई बनाउने र कस्ता व्यक्ति अघि सार्ने विषयमै छलफल केन्द्रित थियो । उनले हरिबो भनेले ‘अब फेरि भोलि छलफल हुन्छ। उहाँहरु निरन्तर छलफलमा बस्नुहुन्छ । आज ठोस सहमति केही भएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप