बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
लघुवित्तको गलपासो

घर छोड्दै भाग्दै ऋणीहरू, परिवारलाई ‘कालोसूची’को त्रास

ऋणीलाई भन्छन् वित्तीय संस्थाका कर्मचारी, ‘बरु झुण्डिएर मर्नु नि !’
शुक्रबार, ०५ फागुन २०७९, २१ : ४१
शुक्रबार, ०५ फागुन २०७९

विराटनगर । च्याउसरी गाउँ गाउँमा पसेका छन् विभिन्न लघुवित्त संस्थाहरु । सामूहिक जमानीमा विपन्न समुदायलाई विना धितो ऋण दिएर गर्जो टार्ने उनीहरुको उद्देश्य हो । तर चर्को ब्याज असुल्न थालेपछि ऋण लिएर तिर्न नसक्नेहरु विस्थापित बन्न थालेका छन् । 

मोरङको कानेपोखरी गाउँपालिकाका अधिकांश वडामा यो समस्या छ । लघुवित्तकै ऋण तिर्न नसकेपछि कानेपोखरी–६ का ध्रुव परियार परिवारसहित वेपत्ता छन् । 
कानेपोखरी–७ का धनमाया जोगी पनि ऋणकै कारण विस्थापित भएको गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारी बताउँछन् । कानेपोखरी–२ लिम्बूटोलका ध्यानबहादुर पाण्डे पनि परिवारसहित घरमा ताला लगाएर भारततिर लागेका छन् । २ जना छोरीलाई मावलमा छोडेर हिँडेका पाण्डेकी श्रीमती भने विदेशमा छिन् । 

‘झुण्डिएर मर’ भने
कानेपोखरी–२ लिम्बू टोलका पूर्ण लिम्बूले झण्डै ७ वटा लघुवित्त संस्थाबाट ऋण लिएका छन् । बंगुर फार्मको नाममा ऋण लिएका उनले  १४ महिना साउदी बसेर ५ लाख जति ऋण तिरे । तर, साँवा ७–८ लाख रुपैयाँको ब्याज तथा हर्जाना बढेर अहिले १५ लाख पुगेको उनी बताउँछन् । 

लिम्बूको जग्गा छैन । घर पनि अर्कैको जग्गामा बनाएर बसेका छन् । उनले बंगुर फार्म संचालन गर्ने भनेर बिना धितोमा नेरुडे, फरवार्ड, जीवन विकास, नागबेली, माइक्रोफाइनान्स, स्वदेशी लघुवित्त तथा स्वाबलम्वन, इन्टिभिटी भन्ने संस्थाबाट १ लाख, डेढ लाख, ५० हजारका दरले ऋण लिएका थिए ।

लिम्बू दुःखेसो पोख्छन्, ‘किस्ता तिर्न नसकेपछि नवीकरण गर्नु भन्दै सावाँको डबल बनाएर नवीकरण गर्छन् ।’ अहिले ऋणको रकम उठाउन लघुवित्तका एजेन्टहरु घरमा आउँछन् । तर, ऋण तिर्नै नसक्ने अवस्थामा पुगेका उनी भन्छन्, ‘मलाई जेल लाने हो भने पनि लगोस् । छोराछोरी पनि सरकारले हेरिदेओस् ।’ 

Banda Ghar s(2) (1)
समस्या सल्टाउन श्रीमतीलाई पनि विदेश पठाउन लागेको उनी सुनाउँछन् । ‘ऋण तिर्न सकिएन, घरमा बसिसक्नु छैन । उमेर पनि ढल्किँदै गएको छ,’ उनी पीडा पोख्छन्, ‘एउटा संस्थाले त झुण्डिएर मर समेत भन्यो, मैले मर्दिन भने ।’ 

हामी अन्जान मुर्खलाई के थाहा । पढेको पनि छैन । यसरी भन्छ उसरी भन्छ । ब्याज कति पनि थाहा छैन । उमेरले ४५ वर्ष नाघेका उनी आफ्नी ३८ वर्षे श्रीमती दुई दिनपछि विदेश उड्न लागेको बताए । 
घर घेर्न आए 
कानेपोखरी–२ लिम्बू टोलकै मोहन पाण्डे ८२ वर्षका भए । उनकी श्रीमती मनमाया पाण्डे ७८ वर्षकी भइन् । मनमायाको नाममा रहेको तीन कठ्ठा जग्गामा जेठो छोरा ध्यानबहादुर पाण्डेले ९ लाख रुपैयाँ ऋण लिएर घर बनाए । ९ लाखको हिसाव देखाए पनि उनले हातमा भने ७ लाख मात्रै ऋण पाएका थिए । 

‘९ लाख रुपैयाँ ऋण निकालेको थियो । एक लाख रुपैयाँ धरौटी राखियो । १ लाख रुपैयाँ ऋण दिलाउनेले कमिसन भनेर लगे अरे,’ उनका बुबा मोहन पाण्डे बताउँछन्, ‘छक्क पर्नु, अहिले त ७ ठाउँबाट लघुवित्तका मानिसहरु घर घेर्न आउँछन् । तिमीहरुको छोराछोरीको भविष्य खत्तम हुने भयो । घर भत्काइदिन्छौं । सात पुस्तासम्म छोराछोरीको नागरिकता बन्दैन ।’
पाण्डे अगाडि भन्छन्, ‘हामी बूढाबूढीलाई कालोसूचीमा राख्ने धम्की दिन्छन् । कालोसूचीमा राखेपछि बृद्धभत्ता आउँदैन रे । भत्ता आएन भने म त औषधि खान पाउँदिन, मरिजान्छु म । के को कालोसूची ?’
धितो राखेको घर जग्गाको मूल्य २४–२५ लाख होला । नौ लाख लिएको ऋणमध्ये ७ लाख हात पर्यो । ९ लाखको हिसाव गरेर नवीकरण गर्दै डब्ल्याउँदै अहिले १९ लाख तिर्नुपर्ने देखाएको पाण्डे बताउँछन् । 
‘जेठो छोरा इन्डिया गयो । बुहारी जोर्डन गएकी छे । दुई जना नातिनीहरु मावलमा छन् । घर खाली छ । संस्थाको चिठी आको आएै छ,’ उनी सुनाउँछन् । 

एउटाबाट लियो, अर्कोमा तिर्यो
सोही ठाउँकी लक्ष्मी लिम्बूले पनि फरवार्ड लघुवित्तबाट १ लाख र जीवन विकास संस्थाबाट ८० हजार रुपैयाँ ऋण लिएकी छिन् । ५२ वर्षे उनी भन्छिन्, ‘पहिले संस्थामा लागेपछि राम्रो हुन्छ भनेर लागियो । एउटा आउँछ, अर्को राम्रो भन्छ, अर्को आउँछ अर्को राम्रो भन्छ । भएभरका संस्थामा छौं । सबैले ऋण खानु भन्छ, अनि लियौं, डुब्यौं ।’

अब ऋण कसरी तिर्नुहुन्छ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘पहिले पहिले अर्को संस्थाले दिन्थ्यो, अर्कोलाई तिथ्र्यौं । अहिले कसैले पनि दिँदैन । जग्गा बेचविखन गरेर तिरौं भन्दा जग्गा पनि विक्दैन । अब कसरी तिर्नु केही थाहा छैन ।’

अब ऋण कसरी तिर्नुहुन्छ भन्ने प्रश्नमा लक्ष्मी लिम्बू भन्छिन्, ‘पहिले पहिले अर्को संस्थाले दिन्थ्यो, अर्कोलाई तिर्थ्यौँ । अहिले कसैले पनि दिँदैन । जग्गा बेचविखन गरेर तिरौं भन्दा जग्गा पनि विक्दैन । अब कसरी तिर्नु केही थाहा छैन ।’

लघुवित्तको किस्ताले धेरै डर देखाएको पनि उनी गुनासो गर्छिन् । ‘हामीलाई धेरै डर देखाइराखेको छ । शाखा सन्तान सात पुस्ता केही गर्न सक्दैनौ । बिरामी थिएँ । टाइफाइड भएको थियो, मर्नु नि किन हेरिरहेको टिलटिल आँखा बालेर पनि भन्यो मलाई,’ उनी टिलपिल आँसु झार्दै भन्छिन् । 

एक पटक गाउँमा सुँगुर काटिरहेका थिए । लघुवित्तका कर्मचारी ऋण असुल गर्न भन्दै आए । पैसा छैन भनेपछि गाली गलौजमा उत्रिन थाले र भने, ‘सुँगुर खाएर कस्तो सुँगुरजस्तै भएको भन्छन् । अपमान पनि उत्ति नै गर्छन्,’ लघुवित्तकै पीडित भीममाया लिम्बू भन्छिन् । 

ऋण तिर्न मिटरब्याजको सहारा
झण्डै १२ वटा लघुवित्तबाट ऋण खाएको बताउने कानेपोखरी–२ कै सीता झाँगडको पीडा पनि उस्तै छ । उनका श्रीमान् दिलिप मुडियारी झाँगड टाइफाइडको बिरामी थिए । लघुवित्तका मानिसहरु गाउँको समूहलाई उठाएर आए । अनि भने, ‘डोरी दिन्छु, झुण्डिएर मर !,’ उनी रुँदै सुनाउँछिन् । 

Sita (1)

उनले सुरुमा जीवन विकासबाट ५ हजार ऋण लिएकी थिइन्, राम्रो भयो । त्यसपछि अर्को संस्था आयो । सेवा सुविधा राम्रो हुन्छ, यति बचतको यति फाइदा हुन्छ भन्यो । ‘हामीले १२–१३ वटा संस्थाबाट ऋण खायौं । तर, श्रीमान् बिरामी भएपछि तिर्न सकिएन । लाज सरम छैन भन्दै समूहका मानिसहरु उठेर आउँछन् । धेरै टर्चर दिन्छन्,’ उनी भन्छिन् । 

ऋण लिएका सबै संस्थाको नाम फरर्र भन्न पनि सक्दिनन् उनी । तर, नेरुडे, फरवार्ड, नेपाल सारडा, अभियान, इफिनिटी, स्वाबलम्बन, समिट, स्वाबलम्बनलगायतको नाम भने उनी लिन सक्छिन् । लघुवित्तबाट लिएको ऋण तिर्न मिटरब्याजमा पैसा लिएको पनि उनी सुनाउँछिन् । ‘मिटरब्याजकै कारण घर जग्गा पनि जान लाग्यो । मेरो छोराछोरीले पढ्न पनि पाएनन् । हामीलाई ऋण तिर्ने कुनै उपाय भएन । अहिले काम पनि बन्द भएको छ । संस्थाहरुलाई अब जे गर्नु छ गर्नु, उपाय छैन भनेका छौं ।’

उनले पनि कुनैमा ७० हजार, कुनैमा डेढ लाख, कुनैमा एक लाख ऋण खाएको बताइन् । किस्ता नतिरेको भन्दै एक लाखको दुईदेखि तीन लाखसम्म पुर्याएको उनको गुनासो छ । उनलाई ऋणीहरुले घर छोड पनि भन्छन् । घरमा ताला लगाइदिन्छु भन्छन् । 

ग्याँस सिलिण्डर पनि बाँकी राखेनन्
सोही ठाउँकी सुकरी मुडियारी झाँगडले १७ हजार ऋण तिर्न नसक्दा घरभित्र पसेर लघुवित्तका मानिसले काठको र्याक, बिम तथा ग्याँस सिलिण्डर पनि लगेर गए ।  
‘५० हजार ऋण खाएको थिएँ । बाँकी तिर्न १५–१६ हजार थियो । केही दिनपछि तिर्छु भनेको हातपात पनि गरे । त्यसपछि घरभित्र पसेर ¥याक, काठको बिम, ग्याँस सिलिण्डर पनि लगे ।’ अहिले ऋण चुक्ता गरिसकेको तर हालसम्म ग्याँस सिलिण्डर र अरु सामान नल्याइदिएको उनको गुनासो छ । 

Sukari (1)

ऋण खाने गाउँका  सबैजसो मानिसहरु लुकी लुकी हिँडिरहेको उनीहरु सुनाउँछन् । लघुवित्तले समूहबाट निस्किन्छु भन्दा पनि दिँदैनन् । 
कानेपोखरीकै वडा नम्बर ६ र ७ को सिमानाको एक गाउँमा विपन्न समुदायको अधवैंशे मानिसले केही महिना अगाडि मेटासिट खाएर आत्महत्याको समेत प्रयास गरे । उनको उपचारमा झण्डै डेढ लाख रुपैयाँ सकियो । 

जोखिममा लगानी 
धेरै घटना सार्वजनिक नभएपनि भित्रभित्रै अवस्था डरलाग्दो भएको स्थानीय जनप्रतिनिधिहरु बताउँछन् । ‘एक जनालाई दर्जनौं लघुवित्तले ऋण दिएका छन् । बिना धितो दिँदा लगानी जोखिममा छ । ऋण लिनेलाई सहज पनि भयो । तर, तिर्ने स्रोत नहुँदा मानिस विस्थापित हुने अवस्थामा पुगेका छन्,’ कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारी भन्छन्, ‘पालिकामा दर्जनौं मानिसहरु यसरी विस्थापित भएको जानकारीमा आएको छ ।’

यता, संघीय सांसद समेत रहेका जीवन विकास संस्थाका संस्थापक प्रमुख योगीलाल मण्डल भने वित्तीय संस्था र बैंकहरुमाथि अहिले आक्रमण गरेर राष्ट्रलाई असफल गर्ने प्रयास भएको बताउँछन् । 
‘कहीँ न कहीँ हाम्रो देशलाई नै फेलियर बनाउनेतिर लागे । हिजो अस्तिसम्म माइक्रो फाइनान्सको कुरा गरिरहेका थिए । अहिले बैंकहरु नै खराब भए । अहिले अन्तिम आवरसम्म आएर हेर्दा जनताको आशा प्राप्त हुने ठाउँ भनेको वित्तीय संस्था तथा बैंक नै हुन् ।’ मण्डल भन्छन्, ‘तर अहिलेसम्म जिउँदो रहेको फाइनान्सियल सिस्टमलाई पनि ध्वस्त पार्ने कोसिस भइरहेको छ ।’ 

१५ प्रतिशत व्याज डेढ प्रतिशत सेवा शुल्क लिन पाउने राष्ट्र बैंकले अनुमति दिएको छ । लघुवित्तबाट ठूलो रकम राज्य कोषमा जम्मा भएको छ । त्यो पनि बन्द गर्ने हो भने राजस्व ठप्प हुने अवस्था रहेको मण्डल बताउँछन् । 

‘लघुवित्त संस्थाहरुमा ५८ लाख महिला जोडिएका छन् । उनीहरुमा गरेको ऋण लगानी मिनाहा गराउने र राष्ट्रिय पार्टी बनाउने भित्री मनसाय कसैको देखिएको छ । जबकि अहिले अध्ययन गर्दा १० प्रतिशत भन्दा बढी महिला अप्ठ्यारोमा छैनन्,’ मण्डल भन्छन्, ‘माइक्रोफाइनान्सहरुमा ४ खर्ब दायित्व छ । १ खर्ब बचत छ । बाँकी ऋण हो । त्यसमा केही प्रतिशत मात्रै शेयर पूँजी छ । यसरी ऋण नै नतिर्ने हो भने डुब्छ को ? यो त देश डुबाउने डिजाइन हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप