बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लुपसका कारण चर्चामा गायिका सेलेना गोमेज, कति खतरनाक छ यो रोग ?

शनिबार, ०६ फागुन २०७९, १३ : २०
शनिबार, ०६ फागुन २०७९

चर्चित गायिका सेलेना गोमेजको यति बेला निकै तारिफ भइरहेको छ । गोमेजले लुपस नामक रोगको औषधि सेवन गरेपछि आफ्नो शरीरमा भएका परिवर्तनहरूबारे कुरा गरेकी थिइन् । यसबारे स्पष्ट रूपमा बोलेकोमा मानिसहरूले उनको प्रशंसा गरिरहेका छन् ।

३० वर्षीया गायिका सेलेना गोमेजले त्यति बेला पनि यो लुपस बारे खुलेर कुरा गरेकी थिइन् जब उनी यो रोगबाट पीडित थिइन् । तर विगतमा यसको औषधि सेवन गरेपछि उनको शरीरमा धेरै परिवर्तन देखिन थालेको थियो र मानिसहरूले यसलाई लिएर अश्लील टिप्पणीसमेत गरेका थिए ।

त्यसपछि, उनले लुपस र आफ्नो शरीरमा देखिएका परिवर्तन बारे कुरा गरेकी छिन् ।

गोमेजले टिक–टक लाइभमा आफूले लुपसको उपचारका लागि औषधि खाइरहेका बेला उनको शरीरमा धेरै पानी जमेका कारण उनको शरीर धेरै सुन्निएको थियो ।

उनले भनिन्, ‘अब म थप स्वस्थ हुनेछु र आफ्नो हेरचाह गर्नेछु । मेरो औषधि अझ महत्त्वपूर्ण छ र मलाई विश्वास छ कि यसले मलाई मद्दत गरिरहेको छ ।’

गोमेजले जुन लुपस रोगबारे कुरा गरिरहेकी छिन् त्यो आखिर के हो ? 

लुपस एक अटो–इम्यून रोग हो, जसमा शरीरको प्रतिरक्षा प्रणाली अति सक्रिय हुन्छ र सामान्य तन्तुहरूमा आक्रमण गर्न थाल्छ । यद्यपि, लुपसका लक्षणहरूलाई औषधिद्वारा नियन्त्रण गर्न सकिन्छ ।

सन् २०१७ मा सेलिनाले लुपसका कारण मिर्गौला प्रत्यारोपण गर्नुपरेको बताएकी थिइन् ।

ketलुपस र बडी शेमिङ

केट एप्पलबाय र क्रिस क्लार्क ३० वर्षका छन् । दुवै लुपससँग लडिरहेका छन् । उनले बीबीसी न्यूजबीटलाई गोमेजले यस रोग बारे खुलेर कुरा गर्नुको महत्त्व के हो भनेर कुरा गरेका छन् । 

केट भन्छिन्, ‘यो रोगका कारण शरीरमा देखिने परिवर्तनहरूपछि गोमेजको बडी–शेमिङ बुझ्न सक्छु ।’

यस रोगको बारेमा कुरा गरेकोमा क्रिसले पनि गोमेजको प्रशंसा गर्छन् । उनी भन्छन्, ‘सेलिना गोमेजजस्ता व्यक्तित्वले यसरी लुपसबारे खलेर कुरा गरेको कुरालाई म पूर्ण समर्थन गर्छु ।’

केटका इन्स्टाग्राममा ४० हजार फलोअर्स छन् । उनी बडी शेमिङको सिकार पनि भएको बताउँछिन्, यस्तो अवस्थामा सेलिनाको साहसको जति तारिफ गरे पनि कम हुने उनी बताउँछिन् ।

उनी भन्छिन्, ‘पहिला पातलो थिएँ तर अहिले शरीरमा मासु बढेको छ । अलिकति सुन्निएको छ । तपाईं जति बिरामी देखिनुहुन्छ  त्यति नै आफूलाई लुकाउन खोज्नुहुन्छ ।’

केट भन्छिन्, ‘मेरो पब्लिक प्रोफाइल भएको कारणले गर्दा मानिसहरूले मलाई चाँडै जज गर्छन् । मानिसहरूले मेरो लुकमा धेरै टिप्पणी गर्छन् । तर राम्रो कुरा यो हो कि केही मानिसहरूले मेरो रोग कसरी व्यवस्थापन गर्ने भनेर सोध्छन् । ’

chrisपुरुषहरु भन्दा महिलाहरु धेरै

बेलायतको नेशनल हेल्थ सर्भिसका अनुसार पुरुषको तुलनामा महिलामा लुपस हुने सम्भावना बढी हुन्छ ।

क्रिसले औषधिका कारण उनको भोकमा परिवर्तन आएको बताए । उनी भन्छन्, ‘मेरो पेट थोरै फुलेको छ (बियर बेली) । तर यो बियर पिएका कारण भएको होइन । म औषधी खाइरहेको छु, जुन स्टेरोइड हो ।’

‘कसैले सोच्लान् कि म स्टेरोइड मांसपेशीलाई बलियो बनाउनका लागि खाइरहेको छु । तर यो त्यस्तो खालको स्टेरोइड होइन ।’

क्रिस भन्छन्, ‘यो औषधीले गर्दा असाध्यै भोक लाग्छ । तपाईं धेरै खान थाल्नुहुन्छ । त्यसैले भोक नियन्त्रण गर्नु तपाईंका लागि मुश्किल हुन्छ ।’

लुपस के हो ?

– एनएचएसको अनुसार, लुपस एक जटिल रोग हो । शरीरका विभिन्न अंगलाई असर गर्ने यो रोगबारे अझै धेरै कम बुझाई छ ।

– यसको लक्षण सामान्य देखि घातक हुनसक्छ ।

– लुपस धेरै प्रकारका हुन्छन् । एउटा प्रकारले तपाईंको छालालाई मात्रै प्रभावित गर्छ ।

– अझ गम्भीर अवस्थालाई लुपस एरिथेमाटोसस (एसएलई) भनिन्छ । यसले छाला, जोर्नी र शरीरका भित्री अंगहरूलाई पनि असर गर्छ ।

– धेरैलाई लुपस भएको हुनसक्छ, तर उनीहरूलाई यसको लक्षण धेरै बढेपछि मात्र थाहा हुन्छ ।

– लुपसका लक्षणहरूमा अत्यधिक थकानका साथै अनुहार, नाडी र हातहरूमा दागहरू, जोर्नी दुख्ने र शरीर सुन्निने लगायत समावेश छन् ।

– लुपसका सानातिना लक्षणहरूले पनि कष्टकर बन्न सक्छ र तपाईंको जीवनलाई असर गर्न सक्छ ।

– लुपसका लक्षणहरू कहिलेकाहीँ अन्य रोगहरूसँग मिल्दोजुल्दो हुन्छन्, त्यसैले यो पहिचान गर्न गाह्रो हुन्छ ।

क्रिसका अनुसार सेलेनाले लुपसको बारेमा चेतना फैलाइरहेकी छिन् जुन योसँग जुधिरहेका मानिसका लागि निकै महत्वपूर्ण छ । 

उनी भन्छन्, ‘मलाई पहिलो पटक यो रोग डाइग्नोस्ड हुँदा लुपस बारे केहि थाहा थिएन ।’

साथै केटले सेलिनाले जे गरिरहेकी छिन् त्यसले धेरैको ज्यान जोगाउन सक्ने बताउँछिन् ।

उनी भन्छिन्, ‘आफूलाई लुपस भएको थाहा हुँदा मेरो मानसिक अवस्था ठीक थिएन । यदि त्यो बेला सेलिनाजस्ता कसैले यसबारे कुरा गरेको भए मेरो अवस्था अर्कै हुने थियो ।’

बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप