शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरी बल ३३ नम्बर गणको छैन ब्यारेक

आइतबार, ०७ फागुन २०७९, १९ : ३२
आइतबार, ०७ फागुन २०७९

जुम्ला । २०६४ सालको संविधानसभा निर्वाचनदेखि जुम्लामा बस्दै आएको सशस्त्र प्रहरी बल, नम्बर ३३ गण हेडक्वाटर त्रिपुरा जुम्लाको हालसम्म ब्यारेक निर्माण हुन सकेको छैन । ब्यारेक नहुँदा निकै समस्या बेहोरिरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

‘लामो समय जग्गा खोज्दै बित्यो । अहिले जग्गा प्राप्त भइसकेको छ तर भौतिक संरचना निर्माण नहुँदा तत्काल सार्न सकिने अवस्था छैन,’ सशस्त्र प्रहरीका एसपी चेतराज जोशीले भने ।

ब्यारेक नहुँदा निकै ठूलो समस्या हुने गरेको उनको भनाइ छ । ब्यारेक नहुँदा कहिले एयरपोर्ट, कहिले सीडीओ कार्यालय, कहिले महिला तथा बालबालिका कार्यालयमा त कहिले कर्मचारी आवासमा बसेर दिन गुजार्नुपर्ने अवस्था रहेको एसपी जोशीले बताए ।

‘ब्यारेक नहुनु भन्दा ठूलो समस्या अरु के होला !,’ गणपति जोशीले भने, ‘बिहानको पीटी, बेलुकाको रोलकल, अन्य अभ्यासहरू गर्नुपर्ने, गेम खेल्नुपर्ने जस्ता कुराबाट वञ्चित हुनु परेको छ । यति ठूलो जनशक्ति व्यवस्थापन गरेर अप्ठ्यारो तरिकाले बसेका छौं । यो भन्दा ठूलो कष्ट के होला ?’

सशस्त्र प्रहरीका अनुसार प्रशासन कार्यालय हाताभित्र संरचनाहरु निर्माणको लागि ठेक्का भइसकेको छ । त्यसैले पनि तत्काल सशस्त्र प्रहरीलाई अर्को स्थानमा सर्नुपर्ने बाध्यता छ ।

एसपी जोशी भन्छन्, ‘विपदजन्य क्रियाकलापमा खटिनेदेखि सामूहिक अभ्यास गर्न कठिन छ । तर पनि मिलाएर सबै काम गरिराखेका छौं । जनताको गर्नुपर्ने सबै सेवा गरिराखेका छौं ।’

तातोपानी गाउँपालिकाले ५ नम्बर वडामा रहेको डुठाचौरमा सशस्त्र प्रहरी बलको गणका लागि जग्गा उपलब्ध गराएको छ । पालिकाले दिएको जग्गासँगै जोडिएको जालपा सामुदायिक वनले चाहे जति जग्गा उपलब्ध गराउने भनिरहेको छ । जसका कारण अब सशस्त्र प्रहरी बलको ब्यारेक बन्ने निश्चित भइसकेको छ ।

उक्त जग्गामा चार करोड ५२ लाखको भौतिक संरचना बन्ने गरी ठेक्का भएर काम पनि सुरु भइसकेको छ । चार वटा पक्की भवन बन्दैछन् । चारवटा पक्की भवन बन्ने बित्तिकै एक प्लाटुन राखेर काम सुरु गर्ने तयारीमा सशस्त्र प्रहरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप