सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

‘कर्णाली सम्भावनाको सरोबर हो’

आइतबार, ०७ फागुन २०७९, १९ : ५८
आइतबार, ०७ फागुन २०७९

मैले कर्णालीलाई चाँदीको घेरा देखेको छु । कर्णाली सुन खानीमा नुन खोजिरहेको छ । कर्णाली विगतमा खस साम्राज्यको राजधानी हो । कर्णालीले बाँकी मुलुकलाई समृद्धि र विकासको सन्देशमात्र नभई त्यसको मोडेल प्रस्तुत गर्ने सामर्थ्य राख्न सक्छ । कर्णाली सम्भावनाको सरोबर हो । कर्णाली बदल्न सकिन्छ, यो मुलुकको विकास र समृद्धिको शिरोधार्य कर्णालीबाट हुन्छ ।

कर्णालीमा केवल दुःखका कथाहरु मात्र लेखिँदैनन्, पीडाका गीतहरुमात्र गाइँदैनन्, केवल आँशुको रारामात्र होइन कर्णाली । कर्णालीका सपनाहरु से–फोक्सुण्डोमा डुबिरहेका छैनन् । कर्णाली सम्भावनाको सगरमाथा हो भनेर संघर्ष गरिरहेको एक जना राजनीतिकर्मीमा रुपमा म आफूलाई चित्रण गर्न चाहन्छु । म भगौडा हैन, म यहाँको धर्ती पुत्र हुँ । कर्णालीको माटोमा अन्तिम सास लिन चाहन्छु । कर्णालीलाई फुलाउन सकिन्छ, फलाउन सकिन्छ, मुलुकको हाँसोको सुरुवात कर्णालीबाट सुरु गर्न सकिन्छ । गरिबीको दुष्चक्रममा फसेको मुलुकलाई एउटा समृद्धिको नयाँ चक्रको सुत्रपात गर्नसक्ने कर्णाली प्रदेश बनाउन सकिन्छ भन्ने पक्षमा छु ।

थमस् एल्भा एडिसनले हजारौं पटकको प्रयासमा चिमको आविष्कार गरेका थिए, तर मैले कक्षा ९ मा पढ्दामात्रै बिजुली बत्ती भोग्न पाएँ । सबै साधनस्रोत अरु कसैका लागि कर्णालीले दिँदैछ, कर्णालीका साधनस्रोत हाम्रा लागि होइनन् भन्ने बुझाई स्थापित भएको छ । वास्तवमा समय बदलिएको छ । कर्णालीको साधनस्रोत कर्णालीबासीका लागि हुनुपर्छ । अर्थात् रैथाने अधिकार संवैधानिक व्यवस्थामा पनि सुनिश्चित भएको छ । हामीले कर्णालीका प्रचुर सम्भावनाहरुलाई कर्णालीका जनतामा रिफ्लेक्ट गर्नका लागि संघीयताको अभ्यास गरिरहेका छौँ । र, अझ संघीयताको सर्वोत्तम अभ्यास कर्णालीबाट गर्नुपर्छ । विकास भन्ने कुरा कसैले बक्सिस दिने होइन, हुकुम प्रमाङ्गीबाट नागरिकको जीवनमा रातारात परिवर्तन आउने कुरा पनि होइन ।

केन्द्रले कर्णालीका लागि विशेष नीति योजनामा सहयोग गर्नुपर्छ । कर्णालीलाई विशेष प्रदेशको रुपमा स्थापित गर्नका निमित्त विशेष बजेट, कार्यक्रम केन्द्र सरकारले निर्धारण गर्नुपर्छ । र, सम्पूर्ण कर्णालीबासी कर्णाली समृद्धिका लागि अग्रसर हुनुपर्छ । कर्णालीको साधनस्रोतको हकदार पनि हामी हो, उपयोग पनि हामीले नै गर्नुपर्छ, र साधनस्रोतको उपयोगिताको नेतृत्व पनि हामीले नै गर्नुपर्छ । कर्णाली, भेरी जस्ता नदीहरुमा बगिरहेको डलरलाई कर्णालीका जनताको सुखी जीवनमा रिफ्लेक्ट गर्ने खालको कार्यक्रम एउटा अभियानका रुपमा अघि बढाउनैपर्छ ।

कर्णाली सम्भावनाको सरोबर हो भन्ने कुरा काठमाडौंलाई अझै बुझाउन सकिएको छैन । ‘कर्णालीमा परिवर्तन भएकै छैन र कर्णाली बदलिसक्यो’ यी दुईवटै कुरा गलत छन् । केही पनि नभएको कर्णाली होइन । केही अवश्य भएको छ तर हामीले सोचेजस्तो कर्णाली बन्न सकिरहेको छैन । यही नै वैज्ञानिक बुझाई हो । द्वन्द्ववादी बुझाई पनि यही हो ।

कर्णालीका सम्भावनालाई रियालिटीमा बदल्नका लागि, प्रतिबिम्बित गर्नका लागि काठमाडौंलाई हामीले कसरी झकझक्याउने, कसरी कन्भिन्स गर्ने भन्ने हो । कर्णालीमा केही पनि हुँदैन भन्ने जुन भाष्य बनिरहेको छ, कर्णाली असम्भवको भूमि हो भन्ने बुझाई काठमाडौंको छ । त्यसको उदाहरण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान छ । म पहिलो पटक सांसद हुँदै गर्दा एउटा पनि डाक्टर नबस्ने कर्णाली जुम्लामा हामीले स्वास्थ्य विश्वविद्यालयको परिकल्पना ग¥यौं । अहिले नुवाकोट, घादिङले राम्रो डाक्टर पाउँदैनन् तर कर्णालीमा १०० प्लस डाक्टर अहिले पनि काम गरिरहेका छन् । हिजो बिरामी पठाउने कर्णाली आज डाक्टर पठाइरहेको छ । स–गर्व भन्न सकिन्छ कि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जो भाष्य बनिरहेको छ, त्यसको ब्रेकर हो ।

कर्णालीमा सम्भव छ, गरे हुन्छ, हिँडे पुगिन्छ, छरे उम्रिन्छ, रोपे फल्छ भन्ने एउटा  दृष्टान्त हो । काठमाडौंले अब कर्णालीबाट सिक्नुपर्छ । किनभने काठमाडौं मोडेल असफल भइसक्यो । काठमाडौंको विकास मोडेल, आर्थिक मोडेल र त्यहाँको राजनीतिक मोडेलका विषयमा रि–थिङ्क गर्ने बेला आइसक्यो । कर्णाली भर्जिन छ, कर्णाली सम्भावनाको केन्द्र हो । अब कर्णाली मोडेल स्थापित गरौं । जसले गर्दा अभावको कथाहरु सुनाउने, विपन्नताको पर्याय बन्ने, कम आयु र कम प्रतिव्यक्ति आयको समाचार बन्ने कर्णाली होइन, बरु सम्पन्नता सिकाउने, सुख र खुसीको सन्देश फैलाउने तथा सबैभन्दा ज्यादा प्रतिव्यक्ति आयको गर्विलो कर्णाली निर्माण गर्न सकिन्छ । समयले यही आह्वान गरिरहेको छ । र, कर्णाली मोडेल चाहेर–नचाहेर पनि काठमाडौं र केन्द्रीय सत्ताले स्वीकार्नुपर्छ । जतिबेलासम्म स्वीकार गर्दैन, त्यतिबेलासम्म कर्णालीबासी गरिबीको दुष्चक्रबाट जगल्टिन्छौं र दलदलमा फस्छौं । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेश भण्डारी
नरेश भण्डारी
लेखकबाट थप