मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अनावश्यक भीड बढेपछि वैदेशिक रोजगार विभागमा कडाइ, सेवा लिन जाँदा परिचयपत्र देखाउनुपर्ने

बिहीबार, ११ फागुन २०७९, १९ : २६
बिहीबार, ११ फागुन २०७९

काठमाडौँ । वैदेशिक रोजगार विभागमा जाने सेवाग्राहीले परिचय खुल्ने कागजपत्र देखाउनुपर्ने भएको छ । अनावश्यक भिडभाड बढेको भन्दै विभागले सेवाग्राहीलाई सेवा लिन आउँदा आफ्नो परिचय खुल्ने कागजपत्र लिएर आउन भनेको हो ।

विगत केही दिनदेखि विभागमा नियमित कार्यसम्पादनको सिलसिलामा पीडितको नाममा कानुन, विधि र प्रक्रिया विपरीतका कार्य गर्दै आउने गरेको भन्दै विभागले कडाइ गरेको हो ।

कार्यालय भित्र नाराजुलुस गर्ने, अमर्यादित भाषाको प्रयोग गरी कार्यालयमा आतंक मच्चाउने, काम गर्ने वातावरण प्रभावित गर्ने लगायतका कार्यहरु बढ्दै गएको विभागले जनाएको छ । 

यस्ता अमर्यादित कार्य एवं क्रियाकलापले गर्दा सेवाग्राहीलाई सेवा प्रवाह गर्न समस्या भइरहेको विभागको भनाई छ । 

विभागका सूचना अधिकारी कृष्ण प्रसाद भुसालले एक विज्ञप्ति जारी गर्दै कार्यालयको काम कारबाहीसँग कुनै गुनासो भएमा कानुनी प्रक्रिया बमोजिम गुनासो लिएर आउन भनिएको छ । 

कार्यालयको कार्य वातावरणलाई शान्त र सुव्यवस्थित बनाई असम्बन्धित व्यक्तिको प्रवेशलाई व्यवस्थित गर्न विभाग प्रवेशमा केही कडाइ गरिएको सूचना अधिकारी भुसालको भनाई छ । 

विभागमा काम लिएर आउँदा सेवाग्राहीले आफ्नो परिचयपत्र खुल्ने कागजात लिई विभाग प्रवेश गर्नुपर्ने उनले बताए । अनावश्यक भिडभाडले कार्य सम्पादनमा निकै समस्या आएपछि यस्तो निर्णय गर्न बाध्य भएको विभागले जनाएको छ । 

विभागका महानिर्देशक उमाकान्त आचार्यले कानुनी विपरीत भएर काम गर्न अनावश्यक दबाब पर्ने गरेको बताए । ‘कुनै व्यक्ति पीडित भएमा कानुनी उपचार गर्न पनि प्रक्रिया अनुसार जानुपर्छ । तर, मान्छेको हुलहुज्जत लिएर आउने, अनि अनुचित कार्य गर्न दबाब दिने, नाराबाजी गर्ने जस्तो कार्यले काम गर्नै गाह्रो भयो । त्यसैले उनीहरूलाई रोक्न परिचयपत्र लिएर मात्र आउन भनेका हौं,’ महानिर्देशक आचार्यले भने । 

विशेषगरी वैदेशिक रोजगारीमा रहेका श्रमिकहरू पीडित भएर आएपछि युट्युरहरूमार्फत जाने गरेका छन् । जसले गर्दा विभागलाई काम गर्न निकै गाह्रो भइरहेको भन्दै कर्मचारीहरूले यस्तो अवस्थामा काम गर्न नसक्ने बताउँदै आएका छन् । अहिलेको निर्णयले सेवाग्राहीलाई केही असहज भएपनि बाध्य भएर यस्तो कदम चालिएको विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप