बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सडक सुधारको प्रगति र प्राथमिकताबारे समीक्षा

बिहीबार, ११ फागुन २०७९, १९ : ५२
बिहीबार, ११ फागुन २०७९

काठमाडौँ। काठमाडौँ उपत्यकाका सडकसँग सम्बन्धित निकायहरू सम्मिलित उच्चस्तरीय समन्वयात्मक समितिको नियमित बैठक बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सम्पन्न भएको छ। 

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ समेतको उपस्थितिमा भएको बैठकले यसबीचका कामहरूको प्रगति समीक्षा गर्दै थप आवश्यक निर्णयहरू समेत गरेको छ।

केन्द्रीय, स्थानीय र विद्युत्, खानेपानी जस्ता कयौं संस्थागत निकायहरूको समन्वय नहुँदा सडक भद्रगोल भइ जनताले सास्ती खेप्नुपरेको अवस्था सम्बोधनका लागि उपप्रधानमन्त्री श्रेष्ठको पहलमा उक्त समिति बनाइएको हो। 

जुनकुनै निकायका सडक केन्द्रित निर्माण वा विकासका कामलाई आपसमा समन्वय गरेर मात्र अगाडि बढाउने अनि छिटोभन्दा छिटो सडकलाई 'क्लियर' गर्ने समितिको उद्देश्यमा सुरुवाती सफलता हासिल भएको समीक्षा बैठकमा गरिएको छ।

त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सम्बन्धित सबै निकायबाट सडक सुधारमा सराहनीय पहल भएको र त्यसबाट समस्या समाधानको प्रभावकारी सुरुवात भएकोमा खुसी व्यक्त गरे । यो पहललाई अझ तीव्र बनाएर 'समस्याको पहिचान र समस्याको समाधान'मा सबै जुट्नुपर्ने उनले बताए ।

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले समन्वयले राम्रो प्रभाव देखाएको तर मेलम्ची खानेपानी आयोजनाले बनाएको हिलाम्मे र धुलाम्मे सडकलाई तत्काल कसरी 'क्लियर' गर्ने भन्नेमा भने अप्ठेरो सिर्जना भएको बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले सडक पुनर्स्थापना गर्दा गुणस्तरीय सामाग्री प्रयोग गर्न सुझाव दिए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमाल घिसिङले तार भूमिगत गरेपछि सडकलाई तत्कालै पुनर्स्थापना गर्ने कामलाई प्राधिकरणले उच्च महत्त्व दिएको बताए ।

त्यस्तै काठमाडौँ उपत्यका विकास प्राधिकरणकी जानुका ढकालले कामको ठेक्का लगाउँदा देखिनै निकायगत समन्वय हुनुपर्ने बताइन् । मेलम्ची खानेपानी योजनाका राजेन्द्र सापकोटाले टाल्न बाँकी 'लिकेजुहर' तीनचार दिन भित्रै टालिसकिने बताए । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका रमेश केसीले खानेपानी र बिजुलीका तार एकै ठाउँमा भूमिगत गर्न नहुने बताए । नेपाल टेलिकमका झलक उपाध्यायले समन्वयले कामको प्रभावकारिता र गुणस्तरमा समेत चुस्तता थपेको बताए ।

बैठकमा समितिका सदस्य सचिव डा। विजय जैशीले समन्वयात्मक क्रियाशीलताको प्रगति र प्राथमिकताबारे बुँदागत प्रस्तुति दिएपछि सहभागीहरूले अनुभव, सुधार प्रगति र अबका प्राथमिकताबारे उल्लेखित धारणा राखेका हुन् । 

बैठकले समन्वय समितिमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, ढल व्यवस्थापन शाखाका प्रतिनिधिलाई थप गर्ने, विद्युत्, खानेपानी र अन्य निकायका केवलहरू एकै ठाउँबाट भूमिगत नगर्ने, मेलम्चीका 'चेम्बर बक्स'को व्यवस्थापनमा एकमहिना भित्र सडक विभाग र सम्बन्धितहरूले समाधानको उपाय खोज्ने, विद्युत् प्राधिकरण र मेलम्ची योजनाले दुबैतर्फ खनेका सडकको पुनर्स्थापना गर्दा आधाआधा रकम बेहोर्ने, विद्युत् प्राधिकरणले १० दिनभित्रै पुनर्स्थापना कार्य सम्पन्न गर्ने र सडक विभागले 'नेटवर्क बेसिस'मा मात्र तार राख्न अनुमति दिने महत्त्वपूर्ण निर्णयहरू गरेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप