शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरला—त्रिवेणी सडक निर्माण द्रुत गतिमा अगाडि बढाइने

बिहीबार, ११ फागुन २०७९, २० : १८
बिहीबार, ११ फागुन २०७९

पोखरा । गण्डकी प्रदेशकै गौरवको आयोजना ‘कोरला–त्रिवेणी सडक’ निर्माणको काम द्रुत गतिमा अघि बढाइने भएको छ ।

गण्डकी प्रदेश मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त सडक निर्माणको काम तत्काल अगाडि बढाउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला मन्त्री रोशन गाहा मगरले बताए ।

प्रदेशको राजधानी पोखरा र नवलपुुरसम्मको सडक खण्ड सरल, सहज र छोटो दुरी बनाउन र चीनसँगको नाकामा सिधै जोड्न सकिने भएकाले यसलाई तत्काल अगाडि बढाउने निर्णय भएको उनले बताए । ‘पोखरादेखि त्रिवेणीसम्मको करिडोरलाई प्राथमिकता दिएर यसको डीपीआर र इआइए तत्काल अगाडि बढाउने र फास्ट ट्रयाकमा काम गर्ने निर्णय भएको छ,’ मन्त्री मगरले भने ।

गण्डकी प्रदेश सरकारले नेपाल—भारत सीमाको त्रिवेणी भन्सारबाट दुम्कीबास, खैरेनी, पोखरा, बेनी, जोमसोम हुँदै कोरला जोड्ने सडकलाई प्रदेशको ‘लाइफलाइन’ मानेको छ । तर, कोरला नाका वर्षाैंदेखि बन्द छ ।

कोरला नाका चीनले नियमित खुलाएको छैन । कोभिड—१९ महामारी आउनुअघि वर्षमा दुईपटक यो नाका खुल्थ्यो । अहिले यो नाका खुलाउने पहल भए पनि सार्थक परिणाम हासिल भएको छैन । उक्त नाकालाई खुलाउने र चीन–भारत व्यापारबाट फाइदा लिन सक्ने रणनीति गण्डकी सरकारको हो ।

कोरला नाका खुला हुँदा नेपाल आउने पर्यटकको संख्या पनि बढ्नेछ । त्रिवेणी–कोरला सडक निर्माण समयमै सक्नुपर्ने पोखरेली पर्यटन व्यवसायीको माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप