शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश १ मा सहकारीको अवस्था

सर्वसाधारणको ४१ अर्ब रकम कति सुरक्षित ?

रैथाने सहकारीमा समस्या नरहेको सरोकारवालाको दाबी
शुक्रबार, १२ फागुन २०७९, ०९ : २९
शुक्रबार, १२ फागुन २०७९

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा तुलसी बहुमुखी सहकारीले ५ हजार बचतकर्ताको झण्डै १ अर्ब ४५ करोड बचत रकम दिन नसकेपछि अरु सहकारीमा पनि सर्वसाधारणको रकम जोखिममा परेको हो कि भन्ने अनुमान गर्न थालिएको छ । सरोकारवाला निकायले पनि रैथाने सहकारीमा यस्तो समस्या नरहेको तर, अन्तर जिल्लाबाट शाखा कार्यालय खोल्ने सहकारीहरूले भने रकम हिनामिना गरेको हुनसक्ने आशङ्का गरेका छन् ।

बराह बचत तथा ऋण सहकारी, सिद्धार्थ सहकारी, ओरियन्टल सहकारी, सहारा बचत तथा ऋण सहकारीलगायतका सहकारीमा केही समय अगाडि बचत रकम फिर्ता नपाएको भन्दै सर्वसाधारणले आन्दोलन गरेका थिए । अहिले भने विराटनगरको तुलसी बहुमुखी सहकारीको झापा, दमकमा रहेको कार्यालय, उदयपुरको गाइघाटमा रहेको कार्यालय र विराटनगरको कार्यालयले बचत रकम नदिएको भन्दै सर्वसाधारण आन्दोलित छन् ।

‘स्थानीय क्षेत्रमा कार्यक्षेत्र भएका सहकारीमा समस्या छैन । बाहिरबाट आएका र ठुलो कारोबार देखाउने सहकारीमा समस्या देखिएको छ,’ प्रदेश १ सहकारी संघका अध्यक्ष डिल्ली पोखरेलले भने, ‘मोरङमा ५० करोडभन्दा बढी कारोबार गर्ने सहकारी औँलामा गन्न सकिने छन् । तिनीहरूमा समस्या छैन ।’

सहकारी भनेको समुदायमा केन्द्रित हुनुपर्‍यो, संस्था झापामा र रौतहटमा दर्ता गरेको सहकारीले विराटनगरमा शाखा खोलेर यहाँको जनताको पैसा दुरुपयोग गरेको छ । यसलाई निरुत्साहित गर्नुपर्छ ।

पोखरेलले अमुक जिल्लामा दर्ता भएर शाखा कार्यालयको रूपमा आउने सहकारीहरूमा धेरै समस्या भएको बताए । ‘अमुक जिल्लामा दर्ता भएर शाखा कार्यालयको रूपमा आउने सहकारीको शाखा खोल्न पाउने नीति नै गलत छ । जनताको पैसा जोखिममा प¥यो । विराटनगरमा जम्मा गर्ने र अर्कोतिर लगेर लगानी गर्ने काम ठिक छैन,’ उनले भने ।

उनले सहकारीले सदस्यहरूमा मात्रै कारोबार गर्नुपर्ने र ५०औँ जना कलेक्टर राखेर पैसा जम्मा गर्ने कुरा निरुत्साहित गर्नुपर्नेमा जोड दिए । ‘बचत गर्नका लागि भन्दा कर्जा असुलीमा कर्मचारी राख्नुपर्छ । तर, करोडौँ रुपैयाँ जम्मा गरेर कहाँ लगानी गरेको छ भन्ने पारदर्शी पनि नहुने अवस्था छ । मोरङको हाइवेतिर दसौँ सहकारीको शाखा भन्दै पसेका छन् । यो पैसा डुब्दैन भन्ने ग्यारेन्टी कसले गर्ने ?,’ पोखरेलले भने ।

ठुलो सहकारी देखाउने र पैसा जसरी हुन्छ आकर्षण गरेर सङ्कलन गर्ने सहकारीमा समस्या देखिएको पनि उनले बताए । ‘सहकारी भनेको समुदायमा केन्द्रित हुनुपर्‍यो, संस्था झापामा र रौतहटमा दर्ता गरेको सहकारीले विराटनगरमा शाखा खोलेर यहाँको जनताको पैसा दुरुपयोग गरेको छ । यसलाई निरुत्साहित गर्नुपर्छ । सहकारी भनेको सदस्यमा केन्द्रित हुनुपर्छ । बैंक हो र सहकारी ? बैंक जस्तो शाखा खोल्दै हिँड्ने ?’ उनले भने ।

मानिसहरु पनि ब्याजको लोभमा जथाभाबी संस्थामा बचत गर्दै हिँडेको भन्दै यसो गर्न नहुने उनको भनाइ छ । उनले भने, ‘बचतकर्ता आफै पनि सचेत हुनुपर्छ ।’

अनुगमन गरेर ठुला सहकारीलाई कारबाही गर्न सकियो भने वा सहकारी ऐन अन्तर्गत रह्यो भने यो समस्या समाधान होला ।

पछिल्लो पटक आएका कतिपय सहकारीको समस्या उत्पादनको क्षेत्रमा र बजारीकरणमा लगानी गर्नेहरूलाई आएको पनि उनले बताए । ‘कोरोनाको कारण व्यवसाय ठप्प भयो । त्यसकारण भुक्तानी गर्न सकेन,’ उनले भने ।

सरकारले समस्याग्रस्त सहकारीलाई सम्बोधन गर्न छुट्टै निकाय बनाएको जानकारी दिँदै उनले बचतकर्ताहरूको पैसा नडुब्ने दाबी पनि गरे । सरकारले पूर्व सचिव काशीराज दाहालको अध्यक्षतामा एक समिति बनाएको छ ।

यता, प्रदेश १ उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सहकारी शाखा अधिकृत तोया तिम्सिनाले सहकारीका सदस्यहरूमा पनि सचेतना आवश्यक रहेको बताए । ‘अनुगमन गरेर ठुला सहकारीलाई कारबाही गर्न सकियो भने वा सहकारी ऐन अन्तर्गत रह्यो भने यो समस्या समाधान होला,’ उनले भने ।

तिम्सिनाले सहकारी क्षेत्रमा पनि कोभिडको समयपछि समस्या सिर्जना भइरहेको बताए । सहकारीले व्यापारमा, उद्योगमा गरेको लगानी रिटर्न नआएपछि तरलता अभाव भएको हुनसक्ने उनको भनाइ छ ।

त्यसका साथै सहकारी सञ्चालक पनि सहकारी ऐनको अधीनमा नरहने अवस्थाले समस्या थपिएको उनले बताए । ‘कानुनमा स्पष्ट २० प्रतिशत तरलता हुनुपर्छ । सही तरिकाले धितो सुरक्षण गरेर ऋण लगानी गर्नुपर्छ भन्ने छ नि । यो कुनै पनि पालना नगर्दा समस्या सिर्जना भएको छ,’ तिम्सिनाले भने ।

प्रदेश १ मा ४१ अर्ब निक्षेप

प्रदेश १ मा ४१ अर्ब बराबरको रकम सर्वसाधारणको बचत रहेको प्रदेश सहकारी संघले जानकारी दिएको छ । प्रदेश १ मा ४ हजार ७३७ वटा सहकारी छन् । ती सहकारीमा ९ लाख ३५ हजार सात सय सदस्य छन् भने २१ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।

जिल्ला सहकारी संघ मोरङका अनुसार मोरङमा मात्रै झण्डै साढे ८ सय सहकारीमा ३ लाख ९५ हजार सदस्य छन् । उनीहरूको बचत रकम मात्रै १० अर्ब रहेको संघले जनाएको छ । उक्त बचत रकम सुरक्षित रहेको र जोखिममा नरहेको संघको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप