आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राहतको बजेट बीमामा सदुपयोग गरे सबैको जोखिम व्यवस्थापन हुन्छ : अध्यक्ष सिलवाल

शुक्रबार, १२ फागुन २०७९, १४ : ००
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले भूकम्प, आगलागी, बाढी, पहिरो लगायतका विपत्तिमा राहत वितरणका लागि छुट्याइएको बजेट बीमामा सदुपयोग गर्नसके बीमाबाट सबैको जोखिम व्यवस्थापन हुने बताएका छन् । 

नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा शुक्रबार रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले भने, ‘स्थानीय सरकार जनताको अभिभावक हो, त्यसैले बीमालाई अनिवार्य गरेर सेवाप्रवाह गरेमा जोखिम न्यूनीकरण हुन्छ । घरको नक्सा पास गर्दा नै बीमा अनिवार्य गर्नुपर्छ । त्यसो भएमा कुनै घटनाबाट क्षति भएमा बीमा कम्पनीबाट नै क्षतिपूर्ति पाउने सुनिश्चितता हुन्छ ।’

स्थानीय सरकारले बीमाका बारेमा बुझेपछि स्थानीय जनतासम्म बीमाका बारेमा जानकारी पु¥याउन सजिलो हुने उल्लेख गर्दै अध्यक्ष सिलवालले बीमा दाबीका लागि सिफारिस दिँदा घटनाका बारेमा राम्रोसँग बुझेर मात्र सिफारिस दिन आग्रह गरे ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरी बीमाका समग्र विषयमा जानकारी दिएकोमा प्राधिकरणप्रति आभार प्रकट गरे । त्यस्तै उपमहानगरपालिकाकी उपप्रमुख सावित्री देवी अर्यालले पहिलो प्रयासका रूपमा न्यून आय भएका वर्गको बीमा गर्ने कार्यलाई अगाडि बढाइने उल्लेख गर्दै बीमाको पहुँच विस्तारका लागि उपमहानगरपालिका सम्बद्ध सबै निकायसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप