बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

विराट कोहलीले भने, ‘खराब समयमा परिवारबाहेक साथ दिने धोनी मात्रै थिए’

शनिबार, १३ फागुन २०७९, ११ : २१
शनिबार, १३ फागुन २०७९

क्रिकेटर विराट कोहलीले महेन्द्र सिंह धोनीको तारिफ गर्दै आफ्नो परिवार र बाल्यकालका प्रशिक्षक बाहेक धोनीले हालको खराब समयमा उनलाई सहयोग गरेको बताएका छन् ।

शनिबार आरसीबीको युट्युब च्यानलमा जारी गरिएको पोडकास्टमा कोहलीले मैदान भित्र र बाहिर धोनीसँगको आफ्नो सम्बन्ध बारे खुलेर कुरा गरे ।

यस पोडकास्टमा उनले भने, ‘हाल मैले आफ्नो करियरको अर्को एउटा भिन्न चरण देखेँ । रोचक कुरा के हो भने यो पूरा समयमा अनुष्का, मेरा बाल्यकालका कोच र परिवारबाहेक.... मेरो मद्दत गर्ने एक्ला व्यक्ति एमएस धोनी हुन् ।’

कोहलीले भने, ‘मैले कुनै दिन उनलाई फोन गर्दा ९९ प्रतिशत उनले फोन उठाउँदैनन् । किनभने उनले फोन नै हेर्दैनन् । त्यसैले उनले मलाई सम्पर्क गर्नुको अर्थ ठुलो छ । अहिलेसम्म यस्तो दुईपटक भइसकेको छ  ।’

विराटले धोनीले उनलाई फोनमा भनेको कुरासमेत भनेका छन् । उनले भने, ‘मसँग कुरा गर्दा उनले भनेका थिए – जब तिमीबाट बलियो हुने आशा राखिन्छ र तिमी बलियो देखिन्छौ तब मानिसले तिमीलाई कस्तो छ भनेर सोध्न बिर्सन्छन् ।’

‘त्यसैले, धोनीका शब्दहरुले मलाई असाध्यै छोयो किनभने मलाई सधैँ धेरै आत्मविश्वासी, मानसिक रुपमा धेरै बलियो, जुनसुकै परिस्थितिलाई पनि झेल्न सक्ने र समस्याको समाधान निकाल्न सक्ने व्यक्तिको रुपमा हेर्ने गरिन्छ । कहिलेकाँही तपाईंले के बुझ्नुहुन्छ भने मानिसको रुपमा जीवनको कुनै एक समयमा तपाईं दुई कदम पछि हट्नुपर्छ, तपाईंले कसरी यस्तो गरिरहनुभएको छ भनेर बुझ्नुपर्छ र तपाईंको कल्याण के मा छ भनेर बुझ्नुपर्छ,’ उनले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप