बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नवाजुद्दिन सिद्धिकीमाथि पूर्व श्रीमती आलियाले लगाइन् बलात्कारको आरोप, मुद्दा दर्ता

शनिबार, १३ फागुन २०७९, १४ : ४३
शनिबार, १३ फागुन २०७९

बलिउड अभिनेता नवाजुद्दिन सिद्धिकीकी पूर्व पत्नी आलिया सिद्धिकीले उनीमाथि गम्भीर आरोप लगाएकी छिन् । आलियाले नवाजुद्दिनविरुद्ध बलात्कारको मुद्दा दर्ता गरेकी छिन् । यसबारे उनले इन्स्टाग्राममा एउटा भिडियो सेयर गरेर जानकारी दिएकी छिन् ।

आलियाको भिडियो

आलियाले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा उनी रोइरहेको देख्न सकिन्छ । नवाजुद्दिनले उनीबाट उनको बच्चा खोस्न चाहेको पनि बताएकी छिन् । यसका साथै, पछिल्लो समय आफू आर्थिक समस्याबाट पनि गुज्रिरहेको जानकारी दिएकी छिन् ।

भिडियो सेयर गर्दै आलिया लेख्छिन्, ‘एक महान् अभिनेता जो महान् व्यक्ति बन्ने कोसिस गर्छन्, धेरैजसो । उनकी निर्दयी आमाले मेरा अबोध बच्चाहरुलाई अवैध भन्छिन् र यी घटिया व्यक्ति चुपचाप बसिराख्छन् । वर्सोवा पुलिस स्टेसनमा हिजो मात्रै उनी विरुद्ध बलात्कारको उजुरी (प्रमाणका साथ) दर्ता गराएकी छु । जे सुकै होस् यी निर्दयीहरूको हातमा आफ्नो बालबच्चालाई जान दिन्नँ ।’

इन्स्टाग्राममा राखिएको भिडियोमा आलिया भन्छिन्, ‘नवाजले हिजो अदालतमा एक मुद्दा हालेका छन् जसमा उनले बच्चाको कस्टडी मागेका छन् । म तपाईँहरूबाट यो जान्न चाहन्छु कि जसले बच्चालाई कहिले महसुस नै गरेका छैनन्, न पेटमा, न जन्मेपछि, जसलाई बच्चाको डाइपर कति पर्छ भन्ने पनि थाहा छैन, डाइपर कसरी लगाइन्छ भन्ने थाहा छैन, जसलाई बच्चा कहिले हुर्किए भन्ने ज्ञान छैन, उसले मबाट मेरा बच्चा खोस्न चाहन्छ ? आफ्नो पावरले देखाएर ऊ कति राम्रो बाउ हो भनेर देखाउन चाहन्छ ।’

बच्चाबारे कुरा गर्दै आलिया रुन थाल्छिन् र भन्छिन्, ‘नवाज आफ्नो शक्तिको गलत प्रयोग गरिरहेका छन् । उनले पैसाबाट जे पनि किन्न सक्लान् तर मेरो बच्चा मबाट खोस्न सक्दैनन् ।’

नवाजुद्दिन र आफ्नो सम्बन्धबारे  कुरा गर्दै उनले भनिन्, ‘तिमीले मलाई कहिल्यै आफ्नी श्रीमती मानेनौ तर मैले सधैँ तिमीलाई आफ्नो श्रीमान् मानेँ । यो कुरालाई म कहिल्यै सहने छैन । मसँग एक–एक पैसाको अभाव छ र तिमीले मबाट मेरो बच्चा खोसिरहेका छौ । ’

आलियाले अदालतमाथि आफ्नो पूर्ण विश्वास भएको बताउँदै निर्णय आफ्नो पक्षमा आउनेमा आफू आशावादी भएको बताएकी छिन् ।

अभिनेताले श्रीमतीसँगको विवादबारे मुख खोले

हालै नवाजुद्दिनले श्रीमतीसँग चलिरहेको विवादबारे मुख खोलेका छन् । एक अन्तरवार्तामा नवाजुद्दिनले भनेका छन्, ‘म केही पनि विषयमा कुनै कुरा गर्न चाहन्नँ । म यति मात्रै चाहन्छु कि मेरा बच्चा स्कुल जाउन् । यी सबैका कारण मेरो बच्चाहरूको पढाइमा नकारात्मक प्रभाव परेको छ । मेरा बच्चा दुबईमा पढिरहेका छन् र अघिल्लो महिनाबाट उनीहरू यहाँ छन् । म यति मात्रै अपिल गर्न चाहन्छु कि मेरा बच्चा स्कुल जाउन् ।’ बच्चाको कुरा गर्दा नवाजुद्दिन पनि भावुक भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप