बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

‘लौरो’को २ सांसदका कारण अल्पमतबाट जोगियो बागमती सरकार

सोमबार, १५ फागुन २०७९, १४ : ५१
सोमबार, १५ फागुन २०७९

राष्ट्रपति निर्वाचनका लागि बनेको सत्ता समीकरणको प्रभाव बागमती प्रदेशमा पनि देखिएको छ । केन्द्रीय तहमा फेरिएको राजनीतिक समीकरणले बागमती प्रदेश सरकारसमेत प्रभावित बनेको छ । केन्द्रको समीकरण फेरिने भएपछि प्रदेश सरकारको सत्ता समीकरणमा उतारचढाव सुरु भएको हो । गत शनिबार केन्द्रमा बनेको समीकरणअनुसार राप्रपाले संघीय सरकार छाडेसंगै बागमती सरकारबाट पनि राप्रपा अलग भएको छ ।

सरकारबाट राप्रपा अलग हुँदै समर्थन समेत फिर्ता लिने निर्णय गरेको छ । सोहीअनुसार बागमती प्रदेश सरकारमा रहेका राप्रपाका ३ मन्त्रीले शनिबार नै पदबाट राजीनामा दिइसकेका छन् । राष्ट्रपतिको निर्वाचनका लागि केन्द्रीय तहमा सत्ता समीकरण फेरिएसँगै उनीहरुले शनिबार मुख्यमन्त्रीको सरकारी निवास हेटौंडामा पुगेर मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक रुपमा राजीनामा बुझाएका थिए ।

केन्द्रीय तहमा बनेको नयाँ सत्ता समीकरण र बदलिँदो राजनीतिक गतिविधिका कारण आफूहरु सरकारमा बस्न नसक्ने उनीहरुको जिकिर थियो । यसै क्रममा प्रदेशका खानेपानी सिँचाई तथा ऊर्जा मन्त्री एवम् राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा वन तथा वातावरण मन्त्री राजु विष्ट र पर्यटन उद्योग तथा सहकारी मन्त्री डम्बर बहादुर तामाङले संयुक्त रुपमा मुख्यमन्त्री जम्कट्टेललाई राजीनामा बुझाएका हुन् ।

गत पुस २६ गते प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्री नियुक्त भएका थापाले ४७ दिन मन्त्रीको जिम्मेवारी सम्हाले भने तामाङ र राजु विष्ट ३२ दिन मात्र जिम्मेवारीमा रहे । तामाङ र विष्ट गत माघ ११ गते मन्त्री नियुक्त भएका थिए ।
पदबाट राजीनामा दिँदै नेता थापाले सत्ता साझेदार दलहरुबीच विचार र सिद्धान्त नै फरक भएकाले आफूहरु मन्त्री भएर बस्नु औचित्य नरहेको बताएका थिए । 

देश र जनतामा राप्रपाले बोकेको एजेण्डा स्थापित गर्न मन्त्री हुन नपर्ने भन्दै फरक शैलीको राजनीतिक यात्रामा राप्रपा अघि बढेको थापाको भनाई थियो । सरकारलाई आवश्यक परेको अवस्थामा सत्ता बाहिरबाट पनि सहयोग गर्न राप्रपा सकारात्मक रहेको उनले बताए ।  
कस्तो छ अंकगणित ?
राप्रपा सरकारबाट बाहिरिए पनि प्रदेश सरकार अल्पमतबाट भने जोगिएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ वटा दलहरुमध्ये ५ दलका ७० जना सांसदहरुको समर्थनमा माओवादी केन्द्रका जम्कट्टेल सत्तारोहणको अवसर पाएका थिए । उनलाई राप्रपासहित एमाले, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले समर्थन गरेको थियो ।

राप्रपा सरकारबाट अलग भएसंगै जम्कट्टेलको पक्षमा ५७ जना मात्र सांसदको समर्थन रहेको छ । सरकारलाई समर्थन दिएको हाम्रो नेपाली पार्टी (लौरो) को २ सांसदका कारण जम्कट्टेल नेतृत्वको सरकार अल्पमतबाट जोगिएको छ ।
कुल ११० सदस्यीय बागमती प्रदेशसभामा सरकार निर्माणका लागि ५६ जना सांसदको आवश्यकता पर्दछ । राप्रपाले सरकार छाड्दा जम्कट्टेल नेतृत्वको सरकारलाई ५७ जना सांसदको समर्थन कायम छ । हाम्रो नेपाली पार्टी (लौरो) का २ सांसदले पनि सरकार छाडेको अवस्थामा भने जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।

पर्ख र हेरको नीतिमा एमाले
केन्द्रीय तहमा राष्ट्रपति निर्वाचन अघिसम्म सरकार नछोड्ने एमालेको निर्णय भएपनि सोमवारै सरकार छाडेको छ । तर प्रदेश सरकारमा भने एमाले कायमै रहेको छ । बागमती प्रदेश सरकारमा एमालेका ४ मन्त्री रहेका छन् । केन्द्रीय निर्देशन प्राप्त भएको खण्डमा एमालेका मन्त्री तत्काल सरकार छोड्ने मुडमा छन् ।

बागमती प्रदेश सरकारमा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री रहेका छन् भने एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री रहेका छन् ।  बागमती प्रदेशमा एमालेका २७ सदस्य रहेका छन् ।

मुख्यमन्त्रीमा ‘कन्टिन्यू’ हुने जम्कट्टेलको बलियो सम्भावना
बागमती प्रदेश सरकारको नेतृत्वमा कन्टिन्यू हुने जम्कट्टेल नेतृत्वको सम्भावना बलियो देखिन्छ । सत्ता समीकरण फेरिएपनि मुख्यमन्त्रीमा जम्कट्टेल कन्टिन्यू हुन काँग्रेसको समर्थन नै काफी हुन्छ ।
काँग्रेस पनि केन्द्रको समीकरण अनुसार जम्कट्टेल नेतृत्वको सरकारलाई समर्थन दिएर सरकारमा जान तयार रहेको काँग्रेसका एक सांसद बताउँछन् ।

यता एकीकृत समाजवादीले पनि जम्कट्टेल नेतृत्वको सरकारको समर्थन फिर्ता नलिने बताएको छ । हाम्रो नेपाली पार्टी पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा छैन । सो दलले पनि सरकार पक्षमा नै बसेर अघि बढ्ने बताउँदै आएको छ ।
बागमती प्रदेशमा काँग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप