सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

धनुषामा प्रहरीको लापरबाही बढ्दो, फरार हुँदै कैदी

मङ्गलबार, १६ फागुन २०७९, २० : ३९
मङ्गलबार, १६ फागुन २०७९

जनकपुरधाम । गत माघ १६ मा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ६ जना थुनुवा फरार भए । ईलाका प्रहरी कार्यालयको थुनुवा कक्षको पर्खाल भत्काएर अभियुक्तहरू फरार भएका थिए ।

लागु औषधमा पक्राउ परेका १ जना, हातहतियारमा पक्राउ परेका २ जना तथा अभद्र व्यवहारमा पक्राउ परेका ३ जना राति करिब २ बजेदेखि ४ बजेको बिचमा थुनुवा कक्षको पर्खाल भत्काएर फरार भए । उनीहरू फरार भएको एक महिना बितिसक्दा पनि अझै २ जना पक्राउ पर्न सकेका छैनन् ।

प्रहरीका अनुसार लागु औषधमा पक्राउ परेका क्षिरेश्वरनाथ नगरपालिका–५ का विनोद कुमार शर्मा, हातहतियारमा पक्राउ परेका मिथिला नगरपालिका–६ का रोशन साह र शंकर साह तथा अभद्र व्यवहारमा पक्राउ परेका क्षिरेश्वरनाथ नगरपालिका–२ का अमित मण्डल, रोशन मण्डल र मिथिला नगरपालिका–२ का हरिदेव सिंह फरार भएका थिए । अभियुक्तहरू फरार भएपछि प्रहरी निरीक्षकको सरुवा गरियो भने दुई जना प्रहरीलाई त कारबाही नै गरियो । तर, बाँकी फरार दुई जनाको खोजी र उक्त घटनाको विषयमा अझै अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रसाद गौतम बताउँछन् ।

प्रहरीले यो घटनालाई सामान्य रूपमा लिएको छ । पर्खाल पुरानो र कमजोर भएकाले सहजै भत्काएर थुनुवा फरार भएको प्रहरीको भनाइ छ ।

त्यस्तै गत आइतबार ६ जना प्रहरी कर्मचारीहरूको बीचबाट एक जना अभियुक्त फरार भए । जबरजस्ती करणी आरोपित ती अभियुक्त प्रहरीको भ्यानबाट हामफालेर फरार भए । जिल्ला अदालत धनुषाबाट ७ दिन म्याद थप गरी ईलाका प्रहरी कार्यालयका प्रहरी अधिकृत रामकृष्ण देवकोटासहित अन्य पाँच जना प्रहरीको बीचबाट बलात्कार मुद्दाका आरोपित सबैला नगरपालिका–१३ का २८ वर्षीय राजाबाबु मुखिया फरार भए । मुखिया कमला नहरमा हाम फालेर भागे । प्रहरीले उनलाई केहीबेर लखेटे पनि समात्न सकेनन् ।‌ रातभर जिल्लाका प्रहरी टोली उनको खोजीमा जुटे पनि फेला पार्न सकेन । उनको खोजी अझै जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वेद प्रसाद गौतमले जनाए ।

हतकडीको चाबी लुज भएर खुलेको र त्यसपश्चात अभियुक्त भागेको हुनसक्ने उनको अनुमान छ । उनका अनुसार चाबी खुलेपछि अभियुक्तले बान्ता गरेजस्तो गर्‍यो र गाडीबाट हामफालेर फरार भयो ।

यता ती अभियुक्त फरार भएको नभई प्रहरीकै मिलेमतोमा भगाइएको पीडित पक्ष र स्थानीयवासीको आरोप छ । बलात्कार जस्तो जघन्य अपराधको मुद्दाका आरोपित प्रहरीको नियन्त्रणबाट भाग्नु प्रहरीको लापरबाहीको एउटा नमुना भएको स्थानीयवासीको भनाइ छ ।

धनुषाका डीएसपी गौतम ती अभियुक्त फरार भएको घटनाको अनुसन्धान भइरहेको र अभियुक्तको खोजी भइरहेको बताउँछन् । उनले आरोपित छिट्टै पक्राउ पर्ने विश्वास पनि व्यक्त गरे ।

एक महिनाभित्रै भएका यी दुई घटनाले प्रहरीमाथि सर्वसाधारण पनि प्रश्न उठाउन बाध्य भएका छन् । प्रहरीले नियन्त्रणमा लिइसकेका व्यक्ति प्रहरीकै मिलेमतोबिना कसरी भाग्न सक्छ भन्ने सर्वसाधारणको प्रश्न पनि अस्वाभाविक भने होइन ।

यसअघि २७ जेठ २०७७ मा ईलाका प्रहरी कार्यालय सबैलामा एक दलित युवा थुनुवा कक्षमै झुन्डिएको अवस्थामा फेला परे । सबैला नगरपालिका–१२ बरकुर्वाका २२ वर्षीय शम्भु सदा थुनुवा कक्षभित्रकै शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएपछि प्रहरीले उनलाई हिरासतमा राखेर कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

त्यसबेला शम्भुको हत्या भएको भन्दै आक्रोशित स्थानीयले लाठी, भाटासहित प्रहरी कार्यालय घेराउ गरी तोडफोडसमेत गरेका थिए । आक्रोशित स्थानीयहरुले इलाका प्रहरी कार्यालय यदुकुहाको प्रहरी भ्यानका साथै भवनको सबै झ्याल ढोका फुटाइदिएका थिए । उक्त घटनाले पनि प्रहरीप्रति सर्वसाधारणमा विश्वासको संकट देखाएको थियो ।

पछिल्ला समय प्रहरीको नियन्त्रणबाटै अभियुक्त फरार भएका घटनाले प्रहरीमाथि थप प्रश्न खडा गरेको जानकार बताउँछन् । तर प्रहरीले भने यी घटनाहरुका सम्बन्धमा छानबिन भइरहेको भन्दै सहज जवाफ दिने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप