शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

गण्डकी सरकारबारे निर्णय लिन केन्द्रको ‘ग्रीन सिग्नल’ कुर्दै माओवादी

बुधबार, १७ फागुन २०७९, ०६ : ४८
बुधबार, १७ फागुन २०७९

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेकपा एमालेका मन्त्रीहरूले सोमबार सामूहिक राजीनामा बुझाए । एमालेले संघीय सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने निर्णय गरिसकेको छ । योसँगै गण्डकी प्रदेश सरकारमा पनि केन्द्रीय राजनीतिक समीकरणको प्रभाव देखा पर्ने निश्चित भएको छ ।

एमाले नेतृत्वको गण्डकी सरकारबारे माओवादी केन्द्रले कस्तो कदम चाल्छ भन्नेबारे यतिबेला चासो बढेको छ । गण्डकीमा माओवादी केन्द्रसमेतको समर्थनमा एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकार छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेका २२, माओवादीका ८ र राप्रपाको २ गरी कुल ३१ सदस्यले मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारलाई विश्वासको मत दिएका थिए । तर, केन्द्रमा राष्ट्रपति निर्वाचनलाई लिएर ८ दलीय गठबन्धन बनेपछि साढे २ महिनामै खगराज अधिकारी नेतृत्वको गण्डकी सरकार संकटमा परेको छ ।

केन्द्रमा एमालेले झै गण्डकीमा माओवादीले सरकार र समर्थन दुबै फिर्ता लिएर कांग्रेसको नेतृत्वमा सरकार बनाउन भूमिका खेल्ने चर्चा छ । माओवादी सांसदहरु पनि यो कुरा घुमाउरो पाराले स्वीकार्छन् ।

माओवादी केन्द्रका एक जना प्रदेशसभा सदस्यले भने, ‘प्रदेशमा भागबन्डा गर्दा मुख्यमन्त्री खगराज अधिकारीले एकलौटी निर्णय गर्नुभयो । मुख्यमन्त्रीसहित ४ वटा मन्त्रालय आफ्नो पार्टीमा राख्नुभयो । २ वटा मन्त्रालय मात्र माओवादीलाई दिँदा हाम्रो पार्टीमा असन्तुष्टि व्यापक छ ।’

‘एमाले-माओवादी मिलेरै अगाडि बढ्नुपर्छ । संघमा जस्तो भए पनि प्रदेशलाई प्रदेशजस्तै बनाऔं । प्रदेश संरचनामाथि पनि आक्रोश बढ्दो छ,’ मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार माओवादी केन्द्रका संसदीय दलका नेता चुमानलाई भेटेर भने, ‘सरकार फेरबदल हुँदा जनतामा निराशा बढ्छ । यसैले हामीहरु मिलेर जानुपर्छ ।’

यसले गर्दा गण्डकीमा बहुमत माओवादी सांसद खगराज अधिकारी नेतृत्वको सरकार ढाल्नुपर्ने पक्षमा भएको उनले बताए । केन्द्रमा एमालेले समर्थन फिर्ता लिएसँगै प्रदेशमा एमाले नेतृत्वको सरकार ढाल्न आफूहरुलाई सहज भएको ती माओवादी सांसदले बताए ।  

माओवादी केन्द्रका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री हरिबहादुर चुमानले भने आफूहरुलाई सरकार फेरबदलबारे केन्द्रबाट कुनै पनि निर्देशन नआएको बताए । ‘आजको दिनसम्म केन्द्रबाट हामीलाई यस्तो केही निर्देशन छैन । सरकारमा रहने-नरहने हामीबिच छलफल पनि भएको छैन,’ उनले भने ।

केन्द्रबाट निर्देशन नआउन्जेल आफूहरुले कुनै कदम नचाल्ने चुमानले सुनाए । उनी थप्छन्, ‘केन्द्रको समीकरण बिग्रिँदा त प्रदेशमा फरक पर्छ तर, अहिलेसम्म यस्तो केही भएको छैन ।’

चुमानले नेताहरुको सहमति भए आफूहरु एमाले नेतृत्वको सरकारलाई निरन्तरता दिन तयार रहेको बताए । स्रोतका अनुसार मुख्यमन्त्री अधिकारीले माओवादीका संसदहरुलाई भेटेर मिलेर जान आग्रह गरेका छन् ।

राप्रपा गण्डकी प्रदेशको बैठकले सरकारबाट बाहिरिने निर्णय गरे पनि सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङ तत्काल राजीनामा नदिने पक्षमा छन् । गण्डकीमा २ सदस्य रहेको राप्रपाले समर्थन फिर्ता लिनासाथ अधिकारी नेतृत्वको सरकार अल्पमतमा पर्छ ।

‘एमाले-माओवादी मिलेरै अगाडि बढ्नुपर्छ । संघमा जस्तो भए पनि प्रदेशलाई प्रदेशजस्तै बनाऔं । प्रदेश संरचनामाथि पनि आक्रोश बढ्दो छ,’ मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार माओवादी केन्द्रका संसदीय दलका नेता चुमानलाई भेटेर भने, ‘सरकार फेरबदल हुँदा जनतामा निराशा बढ्छ । यसैले हामीहरु मिलेर जानुपर्छ ।’

माओवादी सांसद फणीन्द्र देवकोटाले प्रदेश स्वायत्त नभएको हुँदा पार्टी सिस्टममा अछुतो हुन नसक्ने बताए । ‘प्रदेशमा राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरे पनि बाहिरिएको छैन । केन्द्रीय राजनीति एउटा अभिन्न अंग भएकाले प्रदेश स्वायत्त भए पनि पार्टी सिस्टममा केन्द्रमा जे हुन्छ, प्रदेशमा पनि त्यही हुने नै भयो,’ उनले भने, ‘केन्द्रका गतिविधि अनुसार नै हामीले स्टेप चाल्नुपर्ने हुन्छ ।’

देवकोटाले सरकार फेरबदलको कुरा राष्ट्रपति निर्वाचनपछि थाहा हुने बताए । राष्ट्रपति निर्वाचनलाई लिएर पाँच दलीय गठबन्धन भत्किएपछि संघमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारबाट बाहिरियो । सांसद विन्दु थापा पहाडीका अनुसार राप्रपाले संघमा झै प्रदेश सरकारबाट पनि बाहिरिने भने पनि गण्डकीमा राष्ट्रपति निर्वाचनसम्म कुर्छ । यद्यपि राप्रपा बागमती प्रदेश सरकारबाट पनि बाहिरिएको छ ।

राप्रपा गण्डकी प्रदेशको बैठकले सरकारबाट बाहिरिने निर्णय गरे पनि सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङ तत्काल राजीनामा नदिने पक्षमा छन् । गण्डकीमा २ सदस्य रहेको राप्रपाले समर्थन फिर्ता लिनासाथ अधिकारी नेतृत्वको सरकार अल्पमतमा पर्छ ।

समर्थन फिर्ता लिएर सहयोग गर्न कांग्रेस सांसदले लबिङ गरे पनि मुख्यमन्त्री अधिकारीले हतारिएर कुनै पनि निर्णय नलिन सुझाएपछि मन्त्री पञ्चराम पछि हटेका हुन् ।

‘मुख्यमन्त्रीज्यूले राप्रपाले सरकार छाड्ने परिस्थिति भएसँगै मन्त्रीज्यूलाई हतारिएर कुनै पनि निर्णय नलिनु भन्नुभएको छ,’ मुख्यमन्त्री स्रोतले भन्यो, ‘बरु सरकार छाड्न परे सँगै निर्णय लिउँला, अहिले हतार नगर्नुस् भनेर सुझाउनुभएको थियो । यही भएर होला, उहाँ अहिले सरकार छाड्ने मनस्थितिमा देखिनुभएको छैन ।’

स्रोतका अनुसार खगराज नेतृत्वको सरकारलाई माओवादीले समर्थन कायम राख्ने कि नराख्ने भन्ने ८ दलीय गठबन्धनको फागुन १९ गते हुने ‘क्लोज क्याम्प’ले निर्क्यौल गर्नेछ । ‘मलाई जानकारी भएसम्म १९ गते ८ दलीय गठबन्धनको राष्ट्रपति निर्वाचनलाई लिएर क्लोज क्याम्प काठमाडौंमा छ । त्यहाँ थाहा होला, पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीज्यूले हामीहरुलाई कस्तो निर्देशन गर्नुहुन्छ, त्यही अनुसार हुन्छ,’ एक माओवादी सांसदले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप